बीमा क्षेत्रमा योगदान पुर्याउने पाँच पूर्व सिईओलाई जीवन बीमक संघ नेपालद्धारा सम्मानित

१५ चैत्र २०८०, बिहीबार १३:३९

काठमाडौं । जीवन बीमक संघ नेपालले बीमा क्षेत्रका पाँच पूर्व कार्यकारी अधिकृत (सिईओ) हरुलाई सम्मानित गरेको छ । बीमा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने पूर्व सिईओहरुलाई सम्मानित गरेको हो ।

बिहीबार संघले एक औपचारिक कार्यक्रमको आयोजना गरी नियामक निकाय बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालको उपस्थितीमा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । सम्मान कार्यक्रमले बीमा क्षेत्रका कर्मचारी लगायत योगदान पुर्याउने मानिसहरुलाई हौसला प्रदान हुने संघको भनाई छ ।

जीवन बीमक संघ नेपालले पूर्वसीईओ रमेशकुमार भट्टराई, मनोजकुमार भट्टराई, कवि पाठक, निर्मल ढकाल र एलपी दासलाई सम्मान गरेको छ । कार्यक्रममा विशेष कारणले गर्दा निर्मल ढकाल र एलपी दासको उपस्थिती नरहेको संघका अध्यक्ष तथा सिटिजन लाइफका सिईओ पोषकराज पौडेलले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरु सम्मानित गरी आउने समयमा पनि उहाँहरुको अनुभवलाई प्रयोग गरी बीमा क्षेत्रलाई थप अगाडी बढाउनु पर्ने बताए । साथै, उनले बीमा क्षेत्रलाई विकास गर्न र यसको दायरा अगाडी बढाउन योगदान पुर्याएका पूर्व सीईओहरुलाई धन्यवाद पनि व्यक्त गरे ।

‘समग्र रुपमा बीमा क्षेत्रमा लामो समयदेखि कार्य गरी रहेका तथा नेपालको बीमा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने कर्मचारी तथा पूर्व सीईओहरुलाई सम्मानित गर्नु आवश्यक रहेको छ’ जीवन बीमक संघका अध्यक्ष पोषक राज पौडेलले बताए । साथै उनले पूर्व सीईओहरुलाई सम्मान गरी एउटा राम्रो संस्कारको विकास समेत गरेको जिकिर गरे ।

कार्यक्रममा बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल, जीवन बीमक संघ नेपालका अध्यक्ष पोषक राज पौडेल, नेपाल लाइफका सीईओ प्रविण रमण पराजुली, सूर्यज्योति लाइफका सीईओ प्रकाश विक्रम खत्री तथा रिलायबल नेपाल लाइफका सीईओ नारायण बाबु लोहनीको उपस्थिती रहेको थियो ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*