ताइवान भूकम्पमा ज्यान गुमाउनेको संख्या ९ पुग्यो, ८८२ जना घाइते

२१ चैत्र २०८०, बुधबार १७:२२

काठमाडौं । ताइवानमा बुधबार गएको शक्तिशाली भूकम्पमा मर्नेको सङ्ख्या ९ पुगेको छ । त्यहाँको राष्ट्रिय अग्नि विभाग (एनएफए)ले बताएअनुसार भूकम्पमा परेर ८८२ जना घाइते भएका छन् । अझै पनि १३१ जना भूकम्पका कारण भत्किएका संरचनाहरूमा फसेको बताइएको छ । यीमध्ये ५० जना सिल्क्स प्लेस होटल तारोकोका कर्मचारीहरू भएको बताइएको छ ।

भूकम्प आएको समयमा यी कर्मचारीहरू चार मिनिबसमा यात्रा गरिरहेका थिए । मिनीबसमा सवार कसैको पनि फोनमा सम्पर्क हुन नसकेपछि कतै फसेको हुन सक्ने अनुमान अधिकारीहरूले गरेका छन् । हुआलिएन काउन्टीमा एउटा सुरुङमा फसेका दुई जना जर्मन नागरिकहरुको उद्धार गरिएको एनएफएले बताएको छ ।

फस्नेमा केही विदेशी नागरिक पनि भएको बताइएको छ । भुइँचालोका कारण क्षति पुगेको भए पनि ताइपेई भरका अस्पतालहरू सामान्य रूपमै सञ्चालन भइरहेको नगर सरकारले बताएको छ । ताइपेईका कम्तीमा ७ अस्पतालमा संरचनात्मक क्षति पुगेको बताइएको छ । भूकम्पका कारण एउटा अस्पताल मात्रै बन्द भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*