मोबाइल बैंकिङमा बढ्दो आकर्षण, आठ महिनामा २ खर्ब ९१ अर्ब रुपैयाँको कारोबार

२५ चैत्र २०८०, आईतवार १३:०७

काठमाडौं । प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय विद्युतीय भुक्तानीमा वृद्धि भएको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनासम्मको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्याङ्कानुसार विद्युतीय भुक्तानीमा वृद्धि भएको पाइएको हो ।

गत आर्थिक वर्षको तुलनामा चालु आवको आठ महिनामा विद्युतीय भुक्तानीको प्रयोगमा उल्लेख्य वृद्धि भएको देखिन्छ । यस्तो कारोबारमा एटिएम, विद्युतीय भुक्तानी प्रणाली, कनेक्ट आइपीएस, मोबाइल बैंकिङ, वालेट, प्रिपेड कार्ड, क्युआर कोडलगायतको प्रयोग बढेको छ  ।

चालु आर्थिक वर्षको आठ महिनामा मोबाइल बैंकिङमार्फत कूल २ खर्ब ९१ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको हो । २०७९ असार मसान्तसम्ममा यस्तो मोबाइल बैंकिङमार्फत १ खर्ब ६३ अर्ब २५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । मोबाइल बैंकिङ प्रयोगकर्ता (यूजर) हरुको सङ्ख्या २ करोड ३७ लाख ८३ हजार पुगेको छ ।

पछिल्लो आठ महिनामा १ करोड ८७ लाख ४९ हजार बराबरका इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरूमार्फत १४ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकको तथ्याङ्गले देखाएको छ ।

त्यस्तै, यो अवधिमा एटिएमबाट हुने कारोबार ८८ अर्ब ७ करोड रुपैयाँ, वालेटबाट हुने कारोबार २४ अर्ब २ करोड रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*