कस्ता इन्जिनियर ? घुसको पैसाले जग्गा किनेर आमालाई समेत फसाए भ्रष्टाचारमा

२५ चैत्र २०८०, आईतवार १६:०७

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका तत्कालीन योजना प्रमुख रहेका इन्जिनियर सरोज भट्टराईसहित उनकी आमाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सरोजले लुम्बिनी विकास कोषमा ठेक्काको काम गर्ने निर्माण सेवाका प्रोप्राइटरसँग ८० लाख रूपैयाँ घुस लिएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनले पदीय मर्यादा विपरीतका काम गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । अख्तियारले अनुसन्धानको क्रममा इन्जिनियर भट्टराईले आफ्नी आमाको नाममा भक्तपुरको तत्कालीन गुण्डु गाविस वडा ३ हालको सूर्यविनायक नगरपालिका-७ मा कित्ता नम्बर १३७४ को २ रोपनी ९ आना १ पैसा र कित्ता नम्बर १३७५ को २ आना १ दाम जग्गा खरिद गरेको भेटिएको थियो ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार जग्गा खरिद गर्दा विक्रेताको बैंक खातामा कोषमै काम गर्ने निर्माण सेवाका प्रोपाइटरको खाताबाट पैसा गएको देखिएको छ । ती प्रोपाइटरले जग्गा बिक्रेता र जग्गा खोजिदिनेको खातामा ४०-४० लाख रूपैयाँ जम्मा गरिदिएको अख्तियारले जनाएको छ ।

भट्टराई आफैंले प्रत्यक्ष रूपमा नलिई आमा जनकनन्दनी भट्टराईको नाममा जग्गा खरिद गर्दा घुसबापतको रकम प्रयोग गरेको पाइएको अख्तियारको दाबी छ । अख्तियारले दायर गरेको मुद्दामा जग्गा जफत गर्नुपर्ने माग दावी समेत गरिएको छ ।

अख्तियारले जनकनन्दनीलाई छोराको कसुरमा मतियार बनेको कारण उनीविरूद्ध समेत मुद्दा दायर गरेको छ । दुवैजनाविरूद्ध ८० लाख रूपैयाँ विगो र कसुरअनुसारको जेल सजाय मागदाबी गरिएको अख्तियारका प्रवक्ता घिमिरेले बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*