वीरगञ्जबाट सुरु भएको व्यवसाय अन्तर्राष्ट्रिय बजारसम्म फस्टाउँदै, दुईसय जनालाई रोजगारी

२८ चैत्र २०८०, बुधबार १२:०२

काठमाडौं । मोफलसलबाट सुरु गरिएको कम्पनी छोटो समयमै अन्तराष्ट्रिय बजारसम्म फस्टाउन सफल भएको छ । आँफै उद्यमशीलता गर्ने उत्साह भएका दिपक साह र उनका साथि सचिन साहले वीरगञ्जबाट सुरु गरेको सफ्टवेयर निर्माण कम्पनी अहिले अन्तर्राष्ट्रिय बजारतर्फको यात्रामा अग्रसर भएको छ ।

उनीहरुले सन् २०१० मा साथिको घरमा कोठा भाडा लिएर डायनामिक टेक्नोसफ्ट प्राली सफ्टवेयर कम्पनीको सुरुवात गरेका थिए । जागिर खानुभन्दा आँफैले केही गर्नु पर्छ भन्ने हुटहुटीले उनीहरुले जसोतसो ‘ग’ वर्र्गका बैंकबाट चर्काे व्याजमा ऋण लिइ व्यवसाय थालनी गरेका थिए । बीचमा उनीहरुकै साथी अर्जन साह पनि जोडिए । अहिले कम्पनीलाई तीन जना साहले हाँकीरहेका छन् ।

सफ्टवेयर डेभलपर उद्यमी बन्ने रहर दिपकलाई आफ्नो बुवाबाट प्रेरित भइ जागेको थियो । करिब २५ वर्ष अघि वीरगञ्ज चिनी उद्योगमा साहका बुवा कम्प्यूटर अफरेटरको काम गर्थे । बुवालाई कम्प्यूटरमा बसेर काम गरेको देख्दा साहको मनमा कम्प्यूटर नै पढ्छु भन्ने चाँसो बाल्यकालमै उनी बताउँछन् । त्यही सपना पुरा गर्ने उद्देश्यले साहले सफ्टवेयर पढे ।

बाल्यकालदेखि नै साहको मनमा आफ्नो व्यवसाय गर्नुपर्छ भन्ने हुटहुटी थियो । हजुरबुवाले व्यापार गरेको उनले देखेका थिए । हजुरबुवासँग व्यापार गर्न सिकेका साहले सफ्टवेयर पढेर उद्यमी बन्नुपर्छ भन्ने ठाने । त्यही हुटहुटीले साह अहिले सफ्टवेयर डेभलपर उद्यमी बनेका छन् । कामको सुरुवात गर्न सजिलो त पक्कै थिएन उनीहरुलाई । तर, बच्चादेखिकै मनमा चलेको हुटहुटले उनीहरुलाई कहीले मनमा निरास हुन दिएन । कम्पनीको सुरुवात गर्दा उनीहरु मात्र २० वर्ष उमेरका कलिला युवा थिए । उनीहरु नेपालको सफ्टवेयर क्षेत्रमा र आफ्नै ठाउँमा केही गर्ने अठोटसहित दाँया बायाँ कतै नलागेर रात दिन निरन्तर मेहनत गरे ।

वीरगञ्जबाट थालनी गरेको व्यवसाय अहिले देश, विदेशमा फैलाएका छन् । हाल नेपालका ६ ठाउँ तथा भारत, जापान लगायतका देशमा शाखा विस्तार गरेका छन् । मुख्य कार्यालय वीरगञ्जमा छ । काठमाडौँको बानेश्वरमा कर्पोरेट हाउस सञ्चालन गरेका छन् । यस्तै इटहरी, बुटवल, पोखरामा र जनकपुरमा कम्पनीको शाखा विस्तार गरेका छन् । सुरुवातमा काम लिन केही सकस भएता पनि अहिले भने खासै समस्या नरहेको उनी बताउँछन् । अन्तर्राष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता बनाइकसेका उनिहरुले बजारको मागअनुसार विभिन्न ब्राण्डका सफ्टवेयर ल्याएका छन् ।

कम्पनीको आधा दर्जन आफ्नै ब्राण्डका सफ्टवेयरहरु बजारमा उपलब्ध छन् । ट्रेडिङ बिजनेश पनि सञ्चालनमा छ । डाइनामिक ग्रुपले वार्षिक १५ करोड रुपैयाँको कारोबार गर्छ भने २ सय बढीलाई रोजगारी दिएको छ । हाल कम्पनीको सफ्टवेयर ठूला व्यवायिक घराना, उद्योग, हस्पिटल, विभिन्न व्यवसायी संघसस्था र स्कुलहरुले प्रयोग गरिरहेका र प्रयोगकर्ता सन्तुष्ट रहेका कम्पनीका संचालक तथा सिईओ साहले बताए । आजसम्म कम्पनीले दिने सेवा र गुणस्तर नराम्रो भयो भनेर गुनासो नआएको र विभिन्न संघसस्था र स्कुल कलेजहरू गरी हाल कम्पनीसँग करिब दुई हजार बढी नियमित सेवाग्राही रहेको साहले बताए । उनका अनुसार कम्पनीको उद्देश्य सफ्टवेयर बनाएर बेच्नेमात्र नभई सेवालाई थप गुणस्तरीय बनाउनमा बढी केन्द्रीत रहेको छ ।

सुरुवाति चरणमा भने निक्कै कठिनाईको सामना गर्नुपरेको साहले बताए । ३०–४० रूपैयाँमा सीडीमा पाउने हो भनेर बुझेकाहरूलाई वर्षौं मेहनत गरेर तयार पारेको इआरपी सफ्टवेयर प्रयोग गर्न लगाउनु निकै चुनौतीपूर्ण रहेको उनी सुनाउँछन्। तर पछिल्लो समय भने बजार सहज बन्दै गएको साहले बताए । तर, सरकारले आईटी प्रविधि उद्योगलाई प्रोत्साहित गर्ने भनेता पनि स्वदेशी सफ्टवेयर उद्योगहरुलाई प्राथमिकतामा नदिएको उनको गुनासो छ ।

नेपाली पनि अन्तराष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमताका रहेपनि सरकारी नियकाले नेपालको कम्पनीलाई विश्वास नगर्दा देशमै केही गर्छु भन्ने सोच भएकाहरु निरोत्साहित हुने गरेको साहले बताए । स्वदेशी उत्पादनलाई सरकारले प्राथमिकता दिए विदेशिने पैसा नेपालमै रहने भएकाले नेपाली उद्योगलाई प्रोत्साहित गर्न राज्यले स्वेदशी उत्पाद प्रयोगमा ल्याउनुपर्ने उनी बताउँछन् ।

साहका अनुसार डाइनामिकका सफ्टवेयर दुगड ग्रुप, सिप्रदी, सालिमार ग्रुप, हुलास स्टिल, गोदावरी ग्रुप, लगायत ठूला उद्योगले समेत प्रयोग गरिरहेका छन् । डाइनामिक एकेडेमिक इआरपी र यसको मोबाइल एप अहिले देशभरका एक हजारभन्दा बढि विद्यालयले प्रयोग गरिरहेका छन् । पछिल्लो आधुनिक समयमा सबै विशेषता र प्रयोग गरेर बनाएको यो सफ्टवेयर बजारका अन्य सफ्टवेयरभन्दा उत्कृष्ट रहेको दाबी साह गर्छन् ।

अन्तर्राष्ट्रिय बजारमा आफ्नो प्रोडक्ट विस्तार गर्नुपर्छ भनेर अझ जिम्मेवार भएर सेवा दिनुपर्ने कुरामा तल्लीन रहेको साह बताउँछन् । निरन्तर सफ्टवेयरमा अपग्रेड र उत्कृष्ट सेवातर्फ ध्यान दिदै आएको उनको भनाई छ । उनका अनुसार कम्पनीले स्कुल कलेज व्यवस्थापनको लागि डाइनामिक एकेडेमिक इआरपी, व्यवसायीक अफिस म्यानेजमेन्ड र विभिन्न संघसंस्थाको प्रयोगमा आउने डाइनामिक एकाउन्ट इआरपी, एचआर र पेरोल सफ्टवेयर, डाइनामिक एएमएस जस्ता सफ्टवेयर डेभलपमेण्ट गर्छ ।

अब डाइनामिक ग्रुप अन्तर्गतका कम्पनीहरु लाई नेपाल भारतको बजारमा मात्र सिमित नराखेर अन्य मुलुकमा पनि विस्तार गर्दै जाने उनले बताए । तत्काल भुटान, बङलादेश लगायतका एशियाली मुलुकमा कम्पनीको शाखा विस्तार गर्ने योजना रहेको साहले जानकारी दिए ।

आफुमा काम गर्ने इच्छा शक्ती र इमान्दारीताका साथ मेहेनत गर्ने हो भने कामको खोजीमा युवाहरुले विदेश पलायन हुनुपर्ने अवस्था नभएको साह बताउँछन् । रातदिन खटिएर काम गर्ने हो भने सानो लगानीमा नै नेपालमा सफल उद्यमी बन्न सकिने साहको भनाइ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*