इजरायल र इरानबीच भिषण युद्धको तयारी, सयौं नेपालीहरु समेत प्रभावित हुन सक्ने

३० चैत्र २०८०, शुक्रबार ०७:०५

काठमाडौं । इजरायल र इरानबीच भिषण युद्ध हुने संकेतहरु बाहिर आएका छन् । गत अप्रिल १ मा सिरियास्थित दमास्कसमा रहेको इरानी दुताबासमा इजरायलले सैन्य हमला गरी सात जना उच्च सैनिक अधिकारी मारेपछि उत्पन्न विवाद अब लगभग युद्धको अवस्थामा पुग्न लागेको छ ।

इरानी सञ्चार माध्यममा तेहरान टाईम्समा त्यहाँका सर्वोच्च नेता अयोतोल्ला सेयद अलि खामेनीलाई उध्रित गर्दै ‘इरानमाथि दण्ड दिइनेछ’ शिर्षकमा समाचार प्रकाशित गरिएकोछ । इरानले कुटनीतिक रुपमा इजरायलमाथि अन्तर्राष्ट्रिय कानुन र भियना कन्भेन्सनको उलंघन गरेको भन्दै अन्तर्राष्ट्रिय लबिङ गरिरहेको छ । पछिल्लो पटक रसियाका उच्च नेता तेहरान पुगिसकेका छन् ।

हिजो जर्मनीका विदेशमन्त्री अन्नालिना बारेबोकसँग इरानका समकक्षी अमिर अब्दोलाहिनले टेलिफोन वार्ता गरेका छन् । जसमा इरानले इजरायलले गरेको अन्यायको जवाफ दिनु इरानको वैधानिक प्रत्याक्रमण हुने धारणा व्यक्त गरेका छन् । इरानी विदेश मन्त्रालयका अनुसार जर्मनीका विदेशमन्त्रीले भने इरानलाई संयमता अपनाउन आह्वान गरेकी थिईन् ।

उता, इजरायलले पनि इरानको संभावित आक्रमण र सो पछि आफूले पनि कसरी प्रत्याक्रमण गर्ने भनेर तयारी गरिरहेको छ । तेहरानस्थित सञ्चार माध्यमहरुका अनुसार इजरायली प्रधामन्त्री बेन्जामिन नेतान्याहुले विभिन्न चरणमा छलफल गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार तेहरान उच्च सतर्कतासाथ बसिरहेको छ । इरानले गर्ने सम्भावित आक्रमणबाट इजरायलमा तनाव बढ्दै गएको त्यहाँ रहेको नेपालीहरुले जनाएका छन् । बीमापोष्टका सम्पर्कमा आएक एक नेपालीले इजरायलको सैन्य संरचना विश्वकै उत्कृष्ट रहेकोले ढुक्क भएपनि आणविक शक्ति सम्पन्न राष्ट्रसँगको द्धन्दका कारण त्रास भने बढिरहेको छ ।

पछिल्लो समय इजरायलको जिपिएस जाम हुने समस्या बढेको छ । गत साता इजरायलभित्र जिपिएस नचल्दा गाजामाथि परिचालित सेना जहाँको त्यही रोकिन पुगेका थिए । विश्वकै दुई शक्ति सम्पन्न राष्ट्रका बीचमा हुने युद्धमा प्रविधिको अधिकतम् प्रयोग हुने हुँदा इजरायल र इरानबीचको युद्ध भइहालेमा त्यसले कुन रुप लिन्छ अहिले नै भन्न सकिने अवस्था छैन । यद्यपि इरानको दुताबासमै इरानले आक्रमण गरेकोले अन्तर्राष्ट्रिय कानुन र भियना सन्धी विपरितको कार्य इजरायलबाटै भएकोले इरानले रसिया लगायतका देशहरुबाट दह्रो साथ पाउने देखिएको छ ।

अर्कोतिर इजरायलले गाजामा चर्को नरसंहार मच्चाइरहेको विषय पनि अन्तर्राष्ट्रिय जगतलाई मन परेको छैन । युरोप र बेलायतसम्ममा पनि बहस भइरहेको विषय इजरायलले निशस्त्र र निर्दोष ३० हजार भन्दा बढि प्यालेस्टाइनी जनताको हत्या गर्नु गम्भिर मानव अधिकार हनन् भएको रुपमा व्याख्या हुँदै आएको छ ।

उता, इजरायलाई उकास्दै आएको अमेरिका अहिले सबैभन्दा ठूलो तनावमा रहेको छ । मध्यपूर्वमा अमेरिकाको ठूलो सैन्य संरचना रहँदै आएको छ । इरानलाई अमेरिकाले चारैतिरबाट घेरा हालेर बसेको अवस्था छ । युद्ध भइहालेको अवस्थामा मध्यपूर्वमा रहेका अमेरिकी सेनाहरु इजरायलको पक्षमा लाग्नुपर्ने र अहिले नै गाजा र युक्रेन युद्धमा अर्बौ डलर खर्च गरेर सिध्याएको अमेरिकाले इरानसँग हुने भयानक युद्धमा इजरायलाई थप सहायता गर्नैपर्ने अवस्था छ । त्यसैले अमेरिका कुनै पनि हालतमा इरान र इजरायलबीचको युद्ध रोक्न उद्यत भएर लागि रहेको छ ।

इरानले घोषणा गरेको छ, अन्तर्राष्ट्रिय कानुन र भियना कन्भेन्सनविपरित गरिएको सिरियाको दमास्कसस्थित इरानी दुताबासभित्रको आक्रमणको जवाफ इजरायली भूमिमा नै दिइनेछ । यस्तो घोषणाले मध्यपूर्वमा भिषण युद्धको संकेत गरेको छ । अमेरिकाले इजरायलमा आफ्ना नागरिकहरुलाई यात्रा नगर्न सूचना जारी गरिसकेको छ भने इजरायलस्थित दुताबासका कर्मचारीहरुलाई दुताबास बाहिर डिहडुल नगर्न र गर्नैपरे सीमित मात्रामा बाहिर निस्कन भनेको छ ।

इजरायलमा ठूलो संख्यामा नेपालीहरु रहेका छन् । अध्ययन र रोजगारीको सिलसिलामा त्यहाँ पुगेका नेपालीहरु समेत सम्भावित युद्धबाट प्रभावित हुने देखिएको छ । साथै मध्यपूर्वमा युद्ध भएमा खाडी मुलुकमा रहेका नेपालीहरुको अवस्था के हुन्छ ? सरकार बेखवर जस्तै बनेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*