चैत्र ३० गते एकै दिन उठ्यो २३ अर्ब राजश्व, तीन महिनामा छ खर्ब ७४ अर्ब राजश्व उठाउने चुनौती

२ बैशाख २०८१, आईतवार ११:०५

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्तिम दिन गत शुक्रबार २३ अर्ब २३ करोड रुपैयाँ कूल आम्दानी गरेको छ । अन्तिम दिन भएकोले आन्तरिक राजश्व कार्यालयको वेभसाईटमा उत्पन्न समस्याका बावजुद पनि विभागले कूल १६ अर्ब २४ करोड कर राजश्व आम्दानी गरेको हो । त्यस्तै, छ अर्ब ९९ करोड रुपैयाँ अन्य शुल्क बापत आम्दानी गर्न सफल भएको छ ।

सरकारको खातामा २३ अर्ब एकै दिन थपिएसँगै राजश्व संकलनको समग्र अवस्था ५० प्रतिशतभन्दा तल रहेकोमा अहिले बढेर ५२.५८ पुगेको छ । नौ महिनामा जम्मा राजश्व लक्ष्यको ५२.५८ प्रतिशत मात्रै संकलन गर्न सफल भएको हो । अझै ४७.४२ प्रतिशत अर्थात छ खर्ब ७४ अर्बभन्दा बढि राजश्व संकलन गर्न बाँकी रहेको छ । नयाँ बजेट घोषणा गर्ने दिन नजिकै आइरहँदा सरकारमाथि राजश्व संकलन दर बढाउने चर्को चुनौति थपिएको छ । नौ महिनामा जम्मा सात खर्ब ४८ अर्ब रुपैयाँ राजश्व संकलन गरेको सरकारले अबको तीन महिनामा छ खर्ब ७४ अर्ब रुपैयाँ राजश्व संकलन गर्नुपर्नेछ ।

राजश्वबाट समेत सरकारको खर्चको स्रोत अपुग हुने हुँदा बाँकी ऋणमार्फत देशको खर्च चलाउनुपर्ने अवस्था छ । अझै सरकारले यसै आवमा तिर्नुपर्ने ऋण बक्यौता मात्रै एक खर्ब ४० अर्ब रुपैयाँ रहेको छ ।

आम्दानी र खर्चको हिसाबमा सरकारी खाताको अवस्था दयनीय देखिएको छ । जनतामा उत्साह बढाएर सुस्त भएको आर्थिक गतिविधिलाई चलायमान बनाउनुपर्नेमा अर्थमन्त्री सफल हुन सक्लान ? अझ माफियाका एजेन्टका रुपमा काम गरेका कर्मचारीहरुलाई राखेर बजेट बनाउन लागि परेकोले आगामी वर्ष पनि करको दरमा यस्तै चलखेल भएर अर्थतन्त्र धरासायी बन्नेतर्फ सचेत हुनुपर्ने देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*