नागढुङ्गा–सिस्ने खोला सुरुङमार्ग ‘ब्रेक थ्रु’, सवारी साधन गुडाउन अझै एक वर्ष लाग्ने

३ बैशाख २०८१, सोमबार १५:५७

काठमाडौँ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ ब्रेक थ्रु अर्थात् छिचोलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा विशेष समारोहकाबीच आज सुरुङ छिचोल्ने काम भएको हो ।

सुरुङ छिचोल्नका लागि दुई मिटर मात्र बाँकी रहेकोमा आज प्रधानमन्त्रीको उपस्थितिमा विस्फोट गराएर छिचोल्ने काम भएको हो । काठमाडौँको चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ साढे दुई किलोमिटरभन्दा धेरै अर्थात् दुई हजार छ सय ६७ मिटर रहेको छ । आयोजनाको उद्धार सुरुङ भने गएको साउनमै छिचोलिसकिएको छ ।

मुख्य सुरुङ आज छिचोलिए पनि आयोजना निर्माण सम्पन्न भएर गाडी चल्न भने अझै एकदेखि डेढ वर्षसम्म लाग्न सक्ने उपनिर्देशक दुमरुले बताउनुभयो । सुरुङ सञ्चालनमा आएपछि काठमाण्डौको थानकोटबाट तीन मिनेटमै धादिङको सिस्नेखोला पुगिनेछ । अहिले काठमाण्डौतर्फ बलम्बुबाट साढे आठ किलोमिटर दूरीमा पुगिनेमा अब सिस्नेखोला सुरुङमार्ग भएर जाँदा भने दुई किलोमिटर छ सय ८८ मिटरको दूरी तीन मिनेटमै पुगिने आयोजनाले जनाएको छ ।

आयोजना निर्माणको शुरुवाती सम्झौताअनुसार काम शुरु भएको ४२ महिनाभित्र अर्थात् गएको वर्ष वैशाखमै निर्माण सम्पन्न भइसक्नुपर्थ्यो । थपिएको समयमा पनि काम नसकिएपछि आयोजनाको अवधि एक वर्ष थप्ने तयारी छ । आयोजनामा तीन वटा अन्डरपास, चार वटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीन वटा पुल र एउटा फ्लाईओभर रहेका छन् । बलम्बु क्षेत्रमा फ्लाईओभर निर्माणाधीन अवस्थामा रहेको छ ।

२२ अर्ब रुपैयाँमा ठेक्का लागेको यो आयोजनामा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ । नेपाल सरकारको यसमा छ अर्ब रुपैयाँ लगानी छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*