चिकित्सा शिक्षा प्रकरण : लोकमानसिंह कार्कीदेखि तीर्थ खनियाँसम्मलाई पर्दै अख्तियारको डण्डा

३ बैशाख २०८१, सोमबार १७:३४

काठमाडौं । चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा कारबाही सिफारिस भएका पूर्व अख्तियार प्रमुख लोकमानसिंह कार्कीसहित त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थ खनियाँ लगायतमाथि अब अख्तियारले छानविन गर्ने भएको छ ।

शिक्षा मन्त्रालयले छानबिनका लागि भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गर्ने निर्णय गरेसँगै यो मेडिकल शिक्षा क्षेत्रका माफियाहरुसँगको सेटिङको फाइल खुल्ने भएको हो । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले बुझ्न नमानेको तथा ६ वर्षदेखि गोप्य राखिएको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन शिक्षा मन्त्रालयले चैत २८ गते सार्वजनिक गरेको थियो ।

प्रतिवेदनमा अख्तियारकै पूर्व प्रमुख आयुक्त लोकमानसिंह कार्की, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थ खनियाँ, हीराबहादुर महर्जनसहित ४३ जनालाई कारबाही सिफारिस गरिएको थियो । शिक्षा मन्त्रालयका अनुसार प्रतिवेदन सार्वजनिक गरेर प्रारम्भिक अध्ययनपछि आवश्यक कारबाही प्रक्रिया अघि बढाउन सोमबार मन्त्रीस्तरीय निर्णय भएको हो । शिक्षामन्त्रीको सचिवालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई तत्काल पत्राचार गर्न लागिएको बताएको छ ।

मन्त्रालयको क्षेत्राधिकारभित्र पर्नेहरुको हकमा विभागीय कारबाही हुने भएको छ । कारबाही सिफारिसमा परेका त्रिभुवन विश्वविद्यालयका कानूनी सल्लाहकार अधिवक्ता नारायण खनाल लगायतलाई विश्वविद्यालयबाट कारबाही हुने बताइएको छ ।

कार्की नेतृत्वको जाँचबुझ आयोगले विश्वविद्यालयका मापदण्ड नपुगेको विराट र देवदह मेडिकल कलेजलाई सम्बन्धन दिन भूमिका खेलेको आरोपमा काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ माकाजुलाई समेत कारबाहीको सिफारिस गरेको थियो । त्रिभुवन विश्वविद्यालयको विज्ञान संकायका डीन रामप्रसाद खतिवडा, राजेन्द्र पौडेल र हरि पराजुलीलाई विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यबाट हटाउनका लागि आयोगले सिफारिस गरेको छ ।

यस्तो छ आयोगको प्रतिवेदन

report 2074

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*