काठमाण्डौं महानगरले ‘सीप मेला’का लागि तालिम तथा रोजगार व्यवसायी महासङ्घसँग सहकार्य गर्ने

४ बैशाख २०८१, मंगलवार १५:४१

काठमाण्डौं । काठमाण्डौ महानगरपालिकाले वैशाख १९ गतेदेखि टुँडिखेलमा आयोजना गर्ने एक महिने सीप मेलाका लागि नेपाल तालिम तथा रोजगारी व्यवसायी महासङ्घसँग सहकार्य गर्ने भएको छ ।

तालिम सञ्चालन र व्यवस्थापनमा महासङ्घले काम गर्ने गरी सामाजिक विकास विभाग र महासङ्घबीच सम्झौता भएको हो । सम्झौतामा विभागका निमित्त प्रमुख विमला कोइराला र महासङ्घका वरिष्ठ उपाध्यक्ष प्रमोदकुमार बाानियाँले हस्ताक्षर गरेका छन् ।

सीप मेलाबाट १० क्षेत्रका ३६ पेसासम्बन्धी दुई हजार ८१ जनालाई तालिम दिने लक्ष्य राखिएको छ । महासङ्घका बाग्मती प्रदेशका सचिव राजन लोहनीकाअनुसार देशभरिका चार सय ५० र बाग्मती प्रदेशका एक सय ५० वटा तालिम प्रदायक सङ्घ–संस्था महासङ्घमा आबद्ध छन् । महानगरपालिकाको गौरव योजनाअन्तर्गत ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृृद्धि’ अन्तर्गत सीप मेला हुन लागेको हो ।

सम्झौताबमोजिम तालिमका प्रशिक्षक, आवश्यक पर्ने सामग्री तथा उपकरण व्यवस्थापन गर्ने, प्रयोगात्मक प्रदर्शनी गर्ने दायित्व महासङ्घको हुनेछ । महानगरपालिकाले स्वीकृत गरेको पाठ्यक्रममा तालिम सञ्चालन हुनेछ । तालिम सकिएपछिको दस्तावेज महानगरलाई बुझाउनु पर्नेछ ।

१८ वर्ष उमेर पूरा भएका र ५८ वर्षसम्म उमेर समूहका व्यक्तिले तालिममा सहभागी हुन आवेदन दिन सक्नेछन् । तालिमको अन्तिम दिन रोजगार मेला हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*