बीमा सबैले गर्छन, तर दक्ष बीमा अभिकर्तासँग गरिएको बीमा कहिल्यै तलमाथि हुँदैनः गोबिन्द जोशी, चिफ एजेन्सी म्यानेजर, आइएमई लाइफ

६ बैशाख २०८१, बिहीबार १४:३९

नेपाली बीमा क्षेत्रमा परिचित नाम हो, गोबिन्द जोशी । सुदुरपश्चिमको विकट हिमाली जिल्ला बझाङमा जन्मिएका जोशी हाल आइएमई लाइफ इन्स्योरेन्समा चिफ एजेन्सी म्यानेजरका रुपमा कार्यरत रहेका छन् । अध्ययनको शिलशिलामा काठमाडौं आएका जोशीले विगत एक दशकदेखि नागरिकहरुको बीमा गरी जोखिम हस्तान्तरण गर्दै आएका छन् । नेपाली युवा–युवतीलाई कुनै पनि प्ल्याटफर्मको प्रयोग गरी सक्षम बन्न हौसला प्रदान गर्दै आएका छन् ।

जीवन बीमा पेशालाई आफ्नो जीवनकै अभिन्न अंग बनाउने दृढ निश्चय गरी बीमा पेशामा होमिएका जोशीले भविष्यमा समेत नेपाली जीवन बीमा क्षेत्रको उज्वल भविष्यको रेखा कोर्ने प्रतिबद्धतासाथ काम गरिरहेका छन् । युवा अवस्था अर्थात २६ वर्षको उमेरमै जीवन बीमा क्षेत्रमा उल्लेख्य प्रगति गर्न सफल भएका जोशी बीमा क्षेत्रमै लागेर जीवन सफल र समृद्धि हासिल गर्न सकिन्छ भन्ने उदाहरण दिन सफल भएका छन् ।

प्रस्तुत छ, उनै आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका चिफ एजेन्सी म्यानेजर गोविन्द जोशीसँग बीमापोष्टका लागि राजन कठायतले गरेको कुराकानीको अंशः

जीवन बीमामा तपाईको यात्राबारे बयान गर्नुपर्दा कहाँबाट शुरु गर्नुहुन्छ ?

– म सुदुरपश्चिमको बझाङ जिल्लाबाट काठमाडौं आईसकेपछि पढाई र काम गर्नुपर्छ भन्ने धारणा रहेको थियो । यसै सिलसिलामा म एउटा सहकारीमा आवद्ध भएँ । मानिसहरुको सोँच न हो, परिवर्तन भईरहँदो रहेछ । सोही क्रममा म इन्स्योरेन्ससँग ठोक्किन पुगेँ ।

जीवन बीमामा आवद्ध हुनुभन्दा पहिला के–के गर्नुभयो ?

म पहिला अध्ययन गर्थे । हिजोआज आम नागरिकको धारण यूरोप, अमेरिका जाने सोँच हुन्छ तर म गईन् । विकट ठाउँबाट काठमाडौं आएर पढाई र कामसँगै गनुपर्छ भन्ने मान्यता र सोही अनुसार म ४ वर्षसम्म सहकारीमा आवद्ध भएर काम गरेको थिएँ ।

आइएमई लाइफ इन्स्योरेन्समा कसरी आइपुग्नु भयो ?

– नेपालमा जीवन बीमा कम्पनीहरु थुप्रै छन् । तर आइएमई लाइफमा शतप्रतिशत लगानी नेपालीहरुको मात्र रहेको छ । कुनै पनि सेक्टरमा काम गर्नको लागि ब्राण्डको धेरै महत्व हुन्छ । ब्राण्डको कुरामा पनि हाम्रो आइएमई लाइफ प्रतिष्ठित कम्पनी हो । अन्य कम्पनीको दाँजोमा हाम्रो कम्पनीले दावी भुक्तानीलाई विशेष प्राथमिकता दिएको छ । प्रत्येक महिनामा हामीले गरेको दावी भुक्तानी वेबसाईटमा नै राख्दिने गरेका छौं । कम्पनीको दावी भुक्तानी एकदमै पारदर्शी रहेको छ । आम नागरिकहरुको बीमा गरिसकेपछि उनीहरुलाई परेको दावी भुक्तानी गर्नमा आइएमई लाइफ उत्कृष्ठ भएको कारण म जोडिन पुगे ।

बीमाप्रति आम बीमितहरुको धारणा कस्तो पाउनु भएको छ ?

–बीमा भनेको नै फोर्स सेलिङ हो । अलिकति फोर्स गर्नैपर्छ । मानिसहरुले बीमालाई जुन हिसाबमा बुझ्नुपर्ने हो । अझैसम्म पनि बुझ्न सकेका छैनन् । बजारमा बीमाप्रति हिजोको दिनमा जति नकारात्मक धारणा थियो । हिजोआज त्यति छैन् सकारात्मक छन् । मान्छेले बीमाको महत्व बुझेका छन् । बीमा बुझेपनि मानिसहरु अझैपनि बीमा कम्पनीमा आएर बीमा गर्ने वातावरण सिर्जना भएको चाँही छैन् । यसमा कम्पनी तथा हामीहरुको पनि कमीकमजोरी होलान् । तर कुनैबेला यस्तो पनि आउनेछ, जुनबेला नागरिकहरुले आफै बीमा गर्नेछन् ।

कुनै समय बीमा अभिकर्ता हुँ भन्न पनि मानिसहरु लजाउँथे । तर, हिजोआज अभिकर्ताहरुले हिम्मतका साथ आम नागरिकहरुलाई बीमा गराउन प्रेरित गरिरहेका छन् ।

बीमा पोलिसी बिक्री गर्न पनि कला चाहिन्छ ?

–कला त होइन् । बीमा सम्बन्धी ज्ञान चाहीँ चाहिन्छ । मानिसहरुले बिक्री गर्ने भनेको सीप, ज्ञान हो । तपाईसँग बीमा सम्बन्धी आम नागरिकलाई बुझाउन सक्ने ज्ञान भएपश्चात मात्र बीमा गराउन सकिन्छ । हामीहरूलाई कम्पनीले बिक्री गरिरहेको बीमा पोलिसीको बारेमा थाहा हुन आवश्यक हुन्छ । एउटा रित्तो गाग्रीमा पानी नै छैन भने हामीले त्यहाँबाट पानी लिन नै सक्दैनौ भने जस्तै बीमा पोलिसी बिक्री गर्न कला भन्दा पनि ज्ञान हुन अत्ति नै आवश्यक रहेको छ ।

जीवन बीमा किन महत्वपूर्ण छ ?

–किनभने आज पनि आम नागरिकको बुझाइ के अभिकर्ताहरुले आफ्नो फाइदाको लागि बीमा गराउँछ भन्ने बुझाई रहेको छ । यो शत प्रतिशत गलत हो । आर्थिक हिसाबसँग हेरेर नाफा नोक्सानसँग यसलाई तुलना गर्नु हुँदैन । बीमा भनेको मानिसका लागि अत्ति नै आवश्यक छ ।

मानिसहरुलाई खुशी र सुखको समयमा खास्सै त्यस्तो जरुरी छ जस्तो लाग्दैन् । तर हामीलाई दुःख आईलाग्छ र आर्थिक अवस्था कमजोर हुन्छ अनि बीमा जरुरी रहेछ महसुस धेरैलाई हुन्छ ।

हाम्रो सम्पत्तिको नी बीमा अनिवार्य छ । मान्छेहरुले सवारी साधन खरिद गर्दा सरकारले अनिवार्य गरेको तेस्रो पक्ष बीमा अनावश्यक लाग्छ । सरकारले यो गलत गरेको छ भन्ने लाग्छ । तर मानिसहरु जब घटना घट्छ अनि बीमा गर्न मिल्दैन भन्दै आउँछन् । बीमा भनेको गाह्रो परिसकेपछि हुँदैन् । बीमा अगाडी नै किन्ने हो तर त्यसले तपाईलाई अप्ठ्यारो पर्दा सहज वातावरण सिर्जना गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्छ । व्यापार व्यवसाय गर्ने तथा ऋण लिएर कारोबार गर्ने मानिसहरुले त अनिवार्य रुपमा नै बीमा गर्नुपर्ने हुन्छ ।

तपाईसँग मानिसले बीमा चाहीँ किन गर्ने ? बीमितले के–के सुविधा पाउछन् ?

–बीमा मसँग किन गर्नुपर्छ भन्दाखेरी म एउटा व्यवसायिक अभिकर्ता हो । व्यवसायिक अभिकर्ता भैराख्दाखेरी मेरो यो बाहेक अन्य कुनै पनि पेशा छैन् । म कहीँ पनि आवद्ध छैन् । म कुनै पनि क्षेत्रमा आवद्ध नभएको कारणले मसँग बीमा गर्ने बीमितहरुले पछि दावी भुक्तानी गर्दा समेत म उहाँहरुसँगै हुन्छु । अर्को कुरा के छ भने मलाई बीमा दावी तथा अन्य यस सम्बन्धी कानुनी कुराको राम्रो ज्ञान रहेको छ । मैले अध्ययन पनि गरिरहेको हुन्छु । यसमा एउटा बीमितको दायित्व हुन्छ र अर्को बीमकको ।

बीमा लाइसेन्स लिएपछि तपाईहरुले शिक्षक, पसले तथा जुनसुकै मानिसबाट पनि बीमा पोलिसी लिनसक्नु हुन्छ । तर उनीहरुले बीमालाई पार्ट टाइमकोे रुपमा लिएका हुन्छन् । बीमामा राम्रो नभएसी छोडिदिन्छन् । अनी उनीहरुसँग बीमा गराएका बीमितहरु त अन्यायमा पर्छन् । त्यही भएर म एउटा व्यवसायिक अभिकर्ता भएको कारण मसँग बीमा गराउँदा चाहीँ तपाईहरुको बीमा दावी भुक्तानी तथा अवधि पूरा फिर्ता दिनुपर्ने रकम मैले उपलब्ध गराउन सहजीकरण गर्छु ।

बीमितहरुले बीमा दावी भुक्तानीको लागि जहिले समस्या भोगिरहनु पर्ने हो ?

–यो एउटा कानुनी प्रक्रिया हो । कुनै पनि घटना घट्यो तथा दावी भुक्तानी गर्नु परेमा बीमा प्राधिकरणले तयार गरेको ढाँचामा आवश्यक प्रक्रिया पु¥याएर आवेदन दिदा दावी भुक्तानी सजिलै प्राप्त हुन्छ ।

अन्त्यमा, आम युवा युवतीहरुलाई बीमा अभिकर्ता बन्न कसरी प्रेरित गर्नुहुन्छ ?

–हामीलाई कुनै नेता तथा सरकारले रोजगारी दिने होईन् । आफ्नो लागि आफै लडाई गर्नुपर्छ । तपाईहरुले आफूमा कुनै न कुनै क्षेत्रमा क्षमता वृद्धि गर्नुपर्छ । त्यो क्षमता वृद्धि गर्नको लागि कुनै पनि प्ल्याटफर्मको प्रयोग गनुपर्छ । जसको लागि अध्ययन गर्दै गरेका युवा युवतीहरुको लागि बीमा अभिकर्ता एक सहि र सहज माध्यम बन्नसक्छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*