मोन्सान्टोको ‘घातक’ बीउ बेचेरे नेपाली किसानलाई चौपट पार्दै चौधरी ग्रुप, अनुसन्धानमा सरकार र संसद दुबैको बेवास्ता

६ बैशाख २०८१, बिहीबार १८:१९

काठमाडौं । बढी उत्पादन दिने ‘हाइब्रिड’ बीउ भन्दै झुक्याएर अर्वपति व्यापारी विनोद चौधरीको सीजी ग्रुपले संसारभर विवादित बहुराष्ट्रिय कम्पनी मोन्सान्टोको जेनेटिकल्ली मोडिफाइड अर्गानिज्म्स (जीएमओ)बीउ बेचेर नेपाली किसानलाई चौपट पारिरहेको तथ्य भेटिएको छ । सीजी ग्रुपले खुलेआम यो धन्दा गरिरहेको भए पनि सरकार तथा संसदीय समितिले छानविन गर्न सकेको छैन ।

एक जना अनुसन्धानकर्ताले बीमापोष्टलाई दिएको जानकारी अनुसार संसारभर विवादित मोन्सान्टोका विभिन्न बीउहरु नेपालमा निर्वाध भित्रिरहेका छन् । उनले भने, ‘बाहिर प्याकेजिङ अर्कै भए पनि भित्र मोन्सान्टो कै बीउ हुने गरेको छ । मोन्सान्टोको बीउ प्रयोग गरेदेखि किसानले उत्पादन पाएका छैनन् । र, बीउबिजनमा भइरहेको जालझेलबारे राज्य मौन छ ।’

सीजी ग्रुप अन्तर्गतको ‘सीजी सिड्स एण्ड फर्टिलाइजर प्रालिले हाइब्रिड भन्दै मोन्सान्टोको जीएमओ बीउ भित्र्याएर नेपाली किसानलाई बेचिरहेकोबारे संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कुरा उठेपनि त्यसलाई बेवास्ता गरिएको बताइएको छ ।

राष्ट्रिय किसान आयोगले बीउबिजनको विषय निकै सिन्सेटिभ हुँदै गएको भन्दै पटक–पटक सरकारको ध्यानाकर्षण गराए पनि सरकारले सुनेको छैन । किसान आयोगकी सदस्य एवं प्रवक्ता जीवन्ती पौडेलका अनुसार त्यस्ता ‘बीउ’बारे आधिकारिक खोजविन आयोगले पनि गरेको छैन । तर, बोल्नुपर्ने र भन्नुपर्ने ठाउँमा पटक–पटक भनिए पनि कुनै सुनुवाई भएको छैन ।

प्रतिनिधि सभाको विषयगत समितिले यसबारे कुनै आधिकारिक निर्णय गरेको नभेटिए पनि छलफलमा कुरासम्म उठेको जानकारी सदस्य र कर्मचारीहरुले दिएका छन् । अहिले कृषि, सहकारी तथा प्राकृतिक प्राकृतिक स्रोत समितिको सभापति कांग्रेस सांसद आरजु राणा (देउवा) छिन् । सीजीका संस्थापक विनोद चौधरी कांग्रेस कै सांसद हुन् ।

पार्टीगत लिगेसीका कारण पनि संसदको विषयगत समितिले यसमा ध्यान नदिएको कृषि अनुसन्धानकर्ताहरुको आरोप छ । सन् २०१०–०११ मा अमेरिकी सहयोग निकाय युएसएडले कृषि तथा सहकारी मन्त्रालय र मोन्सान्टोसँगको साझेदारीमा पाइलट परियोजनाका रुपमा मकै उत्पादन परियोजना घोषणा गरेको थियो । व्यापक विरोध पछि त्यो परियोजना तुहिए पनि जेटेटिकल्ली मोडिफाइड अर्गानिज्म्स (जीएमओ) बीउ नेपाल भित्र्याउने काम चौधरी समूहको सीजी सिड्सले अहिले पनि गरिरहेको छ, विभिन्न बहानामा ।

मोन्सान्टोको बीउ कै कारण छिमेकी भारतमा लाखौँ किसानले आत्महत्या गरेको उदाहरण छ भने क्यानाडा र अमेरिकामै मोन्सान्टोको बीउले उत्पादनमा ह्रास आएको र रसायनहरुको प्रयोग अत्यधिक बढेको तथ्यहरु बाहिरिएको छ ।

मोन्सान्टोको बीउ कै कारण अति विषालु ‘सुपर रसायन’हरुको प्रयोग बढेको बताइन्छ । त्यसको गम्भीर उदाहरणः विश्वमा प्रतिबन्धित विषाधिहरु अहिले पनि नेपालमा निर्वाध आइरहेको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार त्यसरी भित्रिएका विषादीहरु प्रयोग भइरहेका छन् भने बढी भएर स्टक बसेको विषादी ‘प्लाष्टि’को ड्रमभित्र राखेर स्टोरमा थन्काइएको छ । त्यसरी भित्रिएका अवैध विषादीहरुको भण्डारण बढी काठमाडौं उपत्यका मै रहेको बताइन्छ ।

क्यानाडामा मोन्सान्टोको बीउ प्रयोग गरेको चार वर्षको अन्तरालमा क्यानोला र भटमासको बीउ पूर्णरुपमा निर्मूल भएको थियो भने नेपालमा अहिले पनि चितवन, नवलपरासी र काभ्रे, मकवानपुर जस्ता मकै उत्पादनका हिसावले स्थापित जिल्लाहरुमा मोन्सान्टोको मकैले किसानको कन्तविजोग गराएको अवस्था छ ।

सन् २०१३ डिसेम्बर १५ मा सीजी सिड्सका तत्कालीन अध्यक्ष वसन्त चौधरीलाई उदृत गर्दै जारी भएको विज्ञप्तिमा नेपाल सरकारको कानून बमोजिम बीउ गुणस्तर निर्धारण केन्द्रको अनुमति लिएरै मोन्सान्टोको अन्तर्राष्ट्रिय गुणस्तरको बीउ आयात गर्न लागेको भनी लेखिएको थियो ।

त्यति बेलै चौधरी ग्रुपले सरकार र नेपाली किसानको आँखामा छारो हालेको थियो । जीएओ बीउको चर्को विरोधकाबीच उसले चलाखीपूर्वक हाइब्रिड अर्थात् (वर्णशंकर)बीउको रुपमा नेपाल भित्रन लागेको भनेको थियो । तर, अमेरिकी सरकारसँग लिगेसी भएको मोन्सान्टोले विश्वजगत मै ९० प्रतिशतभन्दा बढी जेनेटिकल्ली मोडिफाइड अर्गानिज्म्स (जीएमओ)बीउ उत्पादन गर्ने गर्दछ । स्वास्थ्यका हिसाबले पनि मानव शरीरका लागि मोन्सान्टोको मकै घातक मानिन्छ । जनावरको दानाका लागि प्रयोग गरिने मोन्सान्टोको मकैले मानिसमा क्यान्सर, बाँझोपन लगायतका कयौँ रोग निम्तिने खतरा रहेको एक अध्ययनले देखाएको छ ।

विकिलिक्सको खोजले समेत मोन्सान्टोको बीउ उत्पादन र अमेरिकी सरकारसँगको लिगेसीबारे विभिन्न खुसाला गर्दा समेत चौधरी ग्रुपले हाइब्रिड बीउको नाममा जीएमओ बीउ भित्र्याएर अहिलेसम्म विक्री गरिरहेको छ । एनवाई युनिभर्सिटी स्कुल अफ ल को तथ्याङ्क अनुसार मोन्सान्टोको बीउ कै कारण सन् २००९ मा मात्रै १७ हजार ६३८ जना किसानले आत्महत्या गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*