विश्व पृथ्वी दिवसमा पुरातात्विक सम्पदाहरुको सरसफाइ गरिंदै

७ बैशाख २०८१, शुक्रबार १७:२२

काठमाडौं । विश्व पृथ्वी दिवसको अवसरमा काठमाडौंमा विश्व सम्पदा सूचीमा परेका तीन पुरातात्विक सम्पदाहरुको सरसफाइ गरिंदै छ । पृथ्वी दिवसको अवसर पारेर काठमाडौंस्थित स्वयंभु, पशुपतिनाथ र बौद्ध क्षेत्रमा सरसफाइ गरिने भएको हो । युनिभर्सल पीस शेन्चुरीमार्फत विभिन्न संघ संस्था र विशिष्ट व्यक्तित्वहरुको संलग्नतामा वैशाख ८ देखि १० गतेसम्म विहान ७ देखि ९ बजेसम्म सरसफाइ हुने बताइएको छ ।

वैशाख ८ गते शनिबार स्वयंभु महाचैत्य परिसर, ९ गते पशुपतिनाथ मन्दिर परिसर र १० गते बौद्ध मन्दिर परिसरमा सफाइ कार्यक्रम राखिएको अभियान सम्वन्वयकर्ता नविन विकास महर्जनले बताए । बागमती सफाइ महाभियान एवं सम्पूर्ण नदी, खोला सफाइ अभियानकर्मीहरु समेत सहभागि हुने कार्यक्रममा कुहिने र नकुहिने फोहोरलाई छुट्टा–छ्ट्टै संकलन गरेर व्यवस्थापन गरिने महर्जनले जानकारी दिए ।

यो पल्ट विश्व पृथ्वी दिवसको नारा ‘पृथ्वी र प्लाष्टिक’ राखिएको छ । नेपालमा पनि प्लाष्टिकको अधिक प्रयोगले वातावरणमा गम्भीर असर परिरहेको र फोहोरमा अत्याधिक मात्रामा प्लाष्टिकको मिश्रणले फोहोर व्यवस्थापन कार्य समेत चुनौतिपूर्ण बन्दै गइरहेकाले अभियानले यस विषयमा सचेतना जागृत गर्ने अपेक्षा गरिएको छ ।

२२ अप्रिलका दिन संसारभर पृथ्वी दिवस मनाउने गरिन्छ । पृथ्वीको पर्यावरणबारे चर्चा गर्न तथा जागरूकता अभिप्रेरित गर्न यो दिवस मनाउने गरिएको हो । प्रत्येक वर्ष यो दिवस मनाउने राष्ट्रको संख्या १९२ भन्दामाथि नाघेको छ ।

सन् १९६९ अमेरिकाको सान फ्रान्सस्किोमा आयोजित युनेस्को सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलाद्र्धमा वसन्त ऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाका लागि एक दिनको माग गरेका थिए । पछि, अमेरिकी सीनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाको रूपमा एक छुट्टै पृथ्वी दिवसको सुरुवात गरेका हुन् । त्यो दिनदेखि अहिले प्रत्येक वर्षको अप्रिल २२ तारिखका दिन संसारभर विश्व पृथ्वी दिवस मनाउने गरिन्छ ।

सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा सम्पन्न पृथ्वी सम्मेलनले पृथ्वी दिवसको आवश्यकतालाई अझ बढी प्रेरणात्मक रंग दिएको थियो । त्यसपछि सन् २००९ मा राष्ट्र सङ्घको ६३औँ महासभाले अप्रिल २२ को दिनलाई संसारभर पृथ्वी दिवसका रुपमा मनाउने औपचारिक घोषणा गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*