विद्युतीय गाडीको आयात तीन गुणाले बढ्यो, नौ महिनामा भित्रियो १७ अर्बको ईभी

दिपक विष्ट
९ बैशाख २०८१, आईतवार १३:४१

काठमाडौँ । नेपाली अटो बजारमा ईभीमय भएको छ । नेपालमा विद्युतीय सवारी (ईभी) को विस्तार तीव्र रूपमा बढी रहेको छ । सार्वजनिक अथवा यात्रु बोक्ने ठुला विद्युतीय गाडीको आयात समेत बढेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । विद्युतीय दुई पाङ्ग्रेमा केही मोटरसाइकल र धेरै स्कुटरका ब्रान्ड नेपाल भित्रिएका छन् ।

आवश्यक पूर्वाधार बन्दै गएपछि ईभीका प्रयोगकर्ता बढेका बताइन्छ । चालु आर्थिक वर्ष २०८०/८१ को ९ महिनामा नेपाल ७ हजार ईभि गाडी भित्रिएका छन् । भन्सार विभागको तथ्याङ्क अनुसार नेपाल चैत मसान्तसम्ममा ७ हजार ७२ वटा ईभि गाडी भित्रिएका हुन् । जुन गत आर्थिक वर्ष २०७९/८०को तुलनामा साढे करिब ३ गुणाले बढी हो । गत आर्थिक वर्षको ८ महिनामा २ हजार ४५१ मात्र ईभि नेपालमा आयात भएको थियो ।

गत आवको चैत मसान्तसम्ममा ६ अर्ब ८४ करोड ७ लाख ९० हजार रुपैयाँ बराबरको विद्युतीय गाडी आयात भएका थिए । तर, चालु आवको सोही अवधिमा १७ अर्ब ३४ करोड १७ लाख ११ हजार रुपैयाँ बराबरको आयात भएको विभागले जनाएको छ ।

विद्युतीय गाडी आयात वृद्धि हुँदा सरकारलाई राजस्व सङ्कलनमा ठुलो योगदान पुगेको छ । विद्युतीय गाडी आयातबाट चालु आर्थिक वर्षको ९ महिनामा सरकारलाई ७ अर्ब ५६ करोड ६२ लाख ५९ हजार रुपैयाँको राजस्व सहयोग भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने सरकारले प्राप्त गर्ने राजस्व १ अर्ब ९३ करोड १३ लाख ५९ हजार रुपैयाँ मात्र रहेको थियो ।

नेपालमा छिमेकी मुलुक चीन, भारत, कोरिया, जर्मन, अमेरिका र इन्डोनेसिया लगायतका मुलुकहरूबाट विद्युतीय गाडी आयात हुने गरेको छ । हाल ती मुलुकहरूबाट ५० किलोवाटदेखि ३०० किलोवाट तौल क्षमताका ईभि आयात हुँदै आएका छन् ।

कुन महिनामा कति भए आयात ?

चैतमा ६५७ वटा ईभी गाडी आयात भएको भन्सार विभागले जनाएको छ । चालु आर्थिकमा सबै भन्दा बढी ईभी आयात पुसमा भएको देखिन्छ । पुसमा १ हजार ४२१ वटा ईभि गाडी नेपाल आएका हुन् । तत्कालीन अर्थमन्त्री प्रकासशरण महतले ईभी कर बढ्ने सङ्केत गरेसँगै बजारमा व्यवसायी आयात गर्न तिर हाबी भएका हुन् ।

असोजमा पनि १ हजार २३७ वटा ईभि गाडी नेपाल आएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । माघ महिनामा १ हजार ५२ वटा, मङ्सिरमा ८९९ वटा, कात्तिकमा ६५२ वटा, भदौमा ७८८ वटा र साउनमा ११० वटा इभि गाडी भित्रिएका छन् । फागुन २७६ ईभी गाडी नेपाल आएका छन् ।

नेपालमा विक्री हुने गाडी मध्ये, बीवाइडी, नेटा, एमजी, सेरेस, ओरा, चिनियाँ ब्रान्ड हुन् । त्यस्तै टाटा, हुन्डाइ, महिन्द्रा, कियालगायत भारतबाट आउने गरेका छन् । नेपालीको सबै भन्दा बढी आकर्षण ५० देखि १०० किलोवाट क्षमताका सवारीमा देखिएको छ । सोही हिलो वाटसम्मका ईभि गाडीमा नेपालीको आकर्षण बढ्दो छ ।

ईभीमय वातावरण बन्दै अटो बजार

हाल देशभर साना ठुला गरी करिब डेढ सय वटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा रहेका छन् । टाटा, बीवाईडीलगायत ईभी बिक्री गरिरहेका कम्पनीहरूले देशभर दजर्नौं चार्जिङ स्टेसन सञ्चालनमा राखेका छन् ।

देशका मुख्य राजमार्गको बढीमा ६० किलोमिटर आसपासमा अहिले चार्जिङ स्टेसनको नेटवर्क विस्तार भइसकेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । सुरुवातमा ग्राहकहरूलाई चार्जिङ स्टेसनको चिन्ताभएपनि बिस्तारै वातावरण भन्दै जाँदा नेपालीमा ईभी आयात बढेको एक व्यवसायीले बताए । उनले भने, ‘सुरुवातमा चार्ज लगाउन कता जाने के गर्न भन्ने चिन्ता दियो । तर, पछिल्लो समय चार्जिङ स्टेसन आक्रामक रूपमा विस्तार भएको छ । अब ग्राहकहरू ढुक्क छन् । ईभीमय वातावरण बनाउन पनि सरकार सक्रिय भइरहेको छ ।’

पेट्रोलियम इन्धनको महँगो शुल्क र जलवायु परिवर्तनका क्षेत्रमा पार्ने डरलाग्दो असरका कारण ईभीतर्फको आकर्षण बढ्दो रहेको नाडाका महासचिव सुरेन्द्र उप्रेति बताए । ‘नेपाल मात्र होइन विश्वभर नै ईभीमय वातावरण भइरहेको छ । जलवायु परिवर्तनले गर्दा विश्वभर भइरहेको डरलाग्दो असरले पनि सबै राष्ट्रका सरकारले ईभी गाडिलाई प्रोत्साहन गरेका छन्’ उनले भने ।

यता, ब्यवसायीहरुलाई भने सरकारले कर बढाउने चिन्ता परेको छ । अबको बजेट मार्फत ईभी गाडीमा दिएको कर बढ्ने पक्का जस्तै रहेको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।

नेपाली अटो बजारमा ईभी आकर्षण बढी रहेको बेला सरकारको राजस्व असुल्ने रणनीतिले भने असर गर्न व्यवसायीहरू बताउँछन् । अर्बौको ईभी गाडी आयातमा सरकारले प्राप्त गर्न राजस्व पनि उल्लेखनीय रहेको छ । तर, कर वृद्धिले आयात घट्नुका साथै राजस्व समेत घट्ने व्यवसायी बताउँछन् । कर बढाउने कुराले ईभी बजार विस्तारमा लगाम लाग्ने व्यवसायीहरूका तर्क छन् ।

इन्धन गाडीका व्यवसायीहरू हैरानीमा

विद्युतीय सवारीमा आम उपभोक्ताको बढ्दो आकर्षणका कारण पुराना पेट्रोल र डीजल इन्जिन भएका गाडीहरूको माग व्यापक रूपमा घटेको छ।

ब्याङ्क तथा वित्तीय संस्थाहरूले पेट्रोल र डीजल इन्जिन भएका गाडीहरूका तुलनामा विद्युतीय सवारी खरिदकर्ताहरूलाई सहजै ऋण उपलब्ध गराउने भएकाले पनि अहिले आफूले चढिरहेको गाडी बेचेर विद्युतीय सवारी किन्न तम्सिनेहरूको सङ्ख्या बढी रहेको व्यवसायीहरू बताउँछन्।

इन्धन गाडीका व्यवसायी दिनभरि ग्राहक कुरेर मात्र बस्न बाध्य भएका छन् । ईभीको विस्तारको यात्राले इन्धनको गाडी बिक्रीमा ब्रेक लागेको नारायणी अटो बिजनेस वालकुमारीका प्रबन्ध निर्देशक अनुप बरालले बताए ।

‘तत्कालको अवस्थामा इन्धन गाडी व्यापार निरन्तर ओरालो दिसा तिर गइरहेको देखिन्छ । अधिकांश ग्राहक ईभी गाडी तिर अग्रसर भइरहेको छन् । तर इन्धन गाडी भविष्यमा भने राम्रो बजार पाउने छन्’उनले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*