सीजीको अफिससँगैको होटल स्क्वायर पनि सरकारी जग्गामा, दैलोको वडा कार्यालय बेखबर

९ बैशाख २०८१, आईतवार १७:०२

काठमाडौं । गएको भदौमा स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा स्थानीय सजिलमान शाक्य करेन्टको झट्का लागेर कोमामा गएपछि विवादमा आएको झम्सिखेलमार्गमा रहेको होटल स्क्वायर समेत पर्ति जग्गामा ठडिएको खुलासा भएको छ ।

ऐतिहासिक सम्पदाहरुको खोजविनका दौरान अभियानकर्मीहरुले होटल स्क्वायर भएको जग्गा समेत पर्ति भएको भेटेका हुन् । ललितपुर मालपोत र नापी कार्यालयको कागजातमा थप तथ्य यकिन गर्न बाँकी रहे पनि नक्सामा पर्ति रहेको देखिन्छ ।

स्वीमिङ पुल, रेस्टुरेन्ट, इभेन्ट हलदेखि विभिन्न संरचना रहेको तारे होटल पर्ति जग्गामा बनेको र यसबारे छानविन हुनुपर्ने सम्पदा संरक्षणकर्मीहरुले बताएका छन् । पर्ति भनिएको होटल रहेको जग्गा सञ्चालक ललिता भण्डारी देवकोटाका श्रीमानको नाममा छ । जसको अर्को सञ्चालक रोमी अर्याल हुन् ।

होटल संचालकहरुले जग्गा आफ्नै रहेको र उल्टै मन्दिर बनाउने र ३ नम्बर वडा कार्यालय रहेको जग्गा समेत आफुहरुले नै कित्ताकाट गरेर दिएकोसम्म भन्न भ्याए । ठीक अपोजिट (सीजी कर्पोरेट अफिसँगै)को जग्गा पर्ति भएको र जुन अहिले खाली रहेको बताउँदै होटल सञ्चालकहरुले आफुहरुको जग्गा पर्ति नभएको जिकिर गरे ।

तर, ललितपुर महानगर ३ नम्बरका वडाअध्यक्ष श्रीगोपाल महर्जनले वडा कार्यालय रहेको जग्गा कसैले दिएको नभई पहिल्यैदेखि पर्ति रहेको र सार्वजनिक जग्गा भएकै कागजातका आधारमा आफुहरुको नक्सापास पनि त्यसरी नै भएको बताए ।

होटल सञ्चालकहरु खुलेआम वडा कार्यालयलाई समेत आफुहरुले घर बनाउन जग्गा दिएको भन्दै हिँड्दा पनि जनप्रतिनिधिमूलक संस्था भने दैलोअघिको जग्गाबारे बेखबर छ ।

उता, होटल स्क्वायरको स्वीमिङ पुलमा पौडी खेल्दा कोमामा पुगेका सजिलमान शाक्यले क्षतिपूर्ति पाएका छैनन् भने लामोसमय सञ्चालकहरुविरुद्धको मुद्दा नै दर्ता हुन मानेको थिएन । अहिले भने होटल सञ्चालकहरुले १० करोड क्षतिपूर्ति तिर्नुपर्ने मागसहितको मुद्दा दायर भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*