राजनीतिक सहमतिमै अध्यादेश ल्याइएको हो, लगानी भित्र्याउने कुरामा विरोध नगरौंः अर्थमन्त्री पुन

११ बैशाख २०८१, मंगलवार १०:५८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले राजनीतिक सहमतिमा आधारमा लगानी अनुकूल वातावरण बनाउन अध्यादेश ल्याएको बताएका छन् । लगानी बोर्डद्वारा सोमबार साँझ अबेर आयोजित प्रमुख सञ्चार माध्यमका सम्पादसँगको अन्तरक्रियामा मन्त्री पुनले अध्यादेशमा कसैको बिमति नरहेको बताए ।

मन्त्रीपरिषद बैठकले सोमबार लगानी प्रतिकूल ठानिएका कानूनका विभिन्न प्रावधान संशोधनका लागि अध्यादेश ल्याउने निर्णय गरेको थियो । लगानी सम्मेलन सरकार वा सत्ता पक्षमा रहेका राजनीतिक दलको मात्र नभई नेपालको भएको मन्त्री पुनको भनाइ थियो । उनले सम्मेलनमा सरकार मात्र नभई सत्ता पक्ष र प्रतिपक्षको अनुहार देखिने उल्लेख गरे ।

‘नेपालमा वैदेशिक लगानी ल्याउनुपर्छ र मुलुकको विकास गर्नुपर्छ भन्नेमा सत्तामा र सत्ताबाहिर रहेका कसैको पनि असहमति वा विरोध छैन’, मन्त्री पुनले भने, ‘लगानी सम्मेलन सरकारको वा सत्तापक्षमा भएका दलहरुको मात्र होइन । प्रतिपक्षको पनि हो र यो नेपालको हो । सम्मेलनको उदघाटनदेखि समापनसम्म सबै राजनीतिक दलको अनुहार देखिने गरी कार्यक्रम बनाएका छौं ।’

मन्त्री पुनले राजनीतिक संक्रमण र निर्वाबचन प्रणालीका कारण बीचबीचमा सरकार परिवर्तन हुने गरेको भए पनि विकास, लगानी तथा स्वदेशी र विदेशी निजी क्षेत्रका लागि नीतिगत निरन्तरता रहँदै आएको स्पष्ट गरे । ‘सरकारमा अनुहार फेरिने गरेको छ । तर, नीतिगत निरन्तरता छ’, पुनले भने, ‘०६४ सालमा तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले लिएको नीतिगत निरन्तरताका कारण आज हामी विद्युत निर्यात गर्ने अवस्थामा पुगेका छौं । सिमेन्टमा आन्तनिर्भर मात्र भएका छैनौं निर्यात हुन थालेको छ ।

’मन्त्री पुनले पहिलो र दोश्रो लगानी सम्मेलनमार्फत आएका लगानीकर्ता तेश्रो सम्मेलनमा पनि उत्साहित भएको आफूले पाएको बताए । वैदेशिक लगानी आकर्षित गर्ने मात्र नभई सरकारले आन्तरिक लगानीकर्ता र उद्यमीलाई समेत प्रेरित गर्ने तथा उनीहरुको मनोबल उठाउने काम गरिरहेको मन्त्री पुनले उल्लेख गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*