मसानघाट समेत चौधरी ग्रुपको कब्जामा, सांसद विनोद चौधरी आफैंले मिचे दुई विघा जग्गा

१२ बैशाख २०८१, बुधबार १७:३४

काठमाडौं । कीर्ते तथा जालसाज गरेर अर्वपति व्यापारी विनोद चौधरीको सीजी ग्रुपले देशका थुप्रै ठाउँमा सरकारी एवं पर्ति जग्गा हडपेको भेटिएको छ । सीजीले सरकारी जग्गा हडपेका घटना श्रृंखलावद्ध बाहिरिन थालेका छन् । हालै बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा सरकारलाई फिर्ता गर्न बाध्य भएको सीजी ग्रुपले ललितपुरका विभिन्न ठाउँमा पर्ति जग्गा कब्जा गरेको रहस्योद्घाटन बीमापोष्टले गरिसकेको छ ।

हुँदा-हुँदा चौधरी ग्रुपले मसानघाटको जग्गा समेत आफ्नो भगीनी कम्पनीका नाममा दर्ता गरेको फेला परेको छ । पर्सा र बाराको सिमानामा पर्ने चोर्नीस्थित छठी तथा श्मशानघाटको जग्गा चौधरी ग्रुप अन्तर्गतको सीजी लजिस्टिक पार्क कम्पनी वीरगन्ज मुर्लीका नाममा दर्ता रहेको प्रमाण फेला परेको हो ।

सीजीले वीरगन्ज महानगरपालिका ३२ को साविक चोर्नी गाविस १ को कित्ता नम्बर १, ५, ७, २३, २४, २५, ४८, ५० र ७१ को करिब दुई विघा सार्वजनिक जग्गा भूमाफियासँगको सेटिङमा आफ्नो भगीनी कम्पनीका नाममा दर्ता गरेको बताइएको छ ।

कांग्रेस सांसद समेत रहेका विनोद चौधरीले राजनीतिक संरक्षणको आडमा यस्ता मुद्दामा छानविन हुन दिएका छैनन् । वीरगन्ज महानर ३२ नम्बर वडामा बस्ने रामाशिष पासवान र बारा पर्सा शिव हनुमान मन्दिर तथा मसानघाट जग्गा संरक्षण संघर्ष समितिका अनुसार प्रधानमन्त्रीको कार्यालय र भूमि व्यवस्था मन्त्रालयमा पर्ति जग्गा व्यक्तिको नाममा दर्ता गर्ने पर्सा मालपोतका कर्मचारी र भूमाफियालाई कारबाहीको माग गर्दै गएको चैत २८ गते उजुरी नै परेपछि चौधरी ग्रुपको यो धन्दाको थप पोख खुलेको हो ।

प्रधानमन्त्री कार्यालयमा निवेदन दर्ता गराएका रामाशिष पासवानले आफु वीरगन्ज ३२ चोर्नीस्थित सरकारी जग्गा कित्ता नम्बर ४८ र ५० को सँधियार रहेको बताएका छन् । उनले संविधानको धारा ४८ अन्तर्गत नागरिकको कर्तव्य (छ) सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्ने व्यवस्था बमोजिम त्यसरी पर्ति जग्गा हडप्नेहरुलाई कारबाहीको माग गर्दै निवेदन दर्ता गराएका हुन् ।

सीजीका प्रतिनिधिहरुले भने उक्त जग्गा आफुहरुले वैधानिक रुपमा किनेको जिकिर गरे पनि पर्सा मालपोतमा रहेको फिल्ड बुकमा जग्गाधनी मोही महल खाली राखिएको पाइएको छ । २०२१ सालको नापीमा ती कित्तानम्बरमा भएको जग्गा नक्सामा सरकारी, सार्वजनिक, पर्ति भनी उल्लेख रहेको बताइन्छ । तत्कालीन चोर्नी गाविसका पूर्वअध्यक्ष रामबालक धानुक महतोले चौधरी ग्रुपलाई जग्गा बेच्ने प्रयोजनका लागि आफुना भाइ उमा महतोका नाममा नामसारी गरेको आशय निवेदनमा छ ।

निवेदन अनुसार २०७९ भदौ ३१ गते सीजी लजिस्टिक पार्क कम्पनीको नाममा उक्त जग्गा रजिष्ट्रेसन पास गराइएको छ । जुन जग्गाको मूल्य ६० करोड पर्ने निवेदनमा उल्लेख छ । यो जालसाजीमा संलग्न मालपोत कार्यालय पर्साका तत्कालीन नासु राजेश्वरप्रसाद साहतेलीलगायत चोर्नी गाविसका पूर्वअध्यक्ष रामबालक महतो, उनका भाइ उमा महतो र विनोद चौधरीका नाममा रहेको सीजी लजिस्टिक पार्क कम्पनी वीरगन्जलाई हदैसम्मको कारबाही गर्न भनी निवेदनमा माग गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*