लोडसेटिङको मारमा स्टिल व्यवसायी, के ऊर्जाको विकासले स्टिलको बजार सुनौलो छ ?

दिपक विष्ट
१२ बैशाख २०८१, बुधबार १८:१५

काठमाडौँ । पूर्वाधार निर्माणको काम अघि बढ्न नसक्दा स्टिल डण्डीको माग घट्दो क्रममा रहेको छ । पछिल्लो समय निर्माण व्यवसायीहरूले समयमै बक्यौता रकम प्राप्त नहुँदा विकास निर्माणमा भइरहेको ढिलासुस्तीको प्रत्यक्ष असर स्टिल डण्डीमा परेको हो ।

२०७२ सालको भूकम्पपछिको पुनर्निर्माण र पूर्वाधार निर्माणकाका लागि स्टिल डण्डीले बजार राम्रै पाएको थियो । यही बेलामा डण्डीको मूल्य प्रतिकेजी १० देखि १६ रुपैयाँले बढेको थियो । तर, यसबिचमा आएको आर्थिक मन्दि, कोरोना र सरकारले ब्यवसायीहरुलाई समयमै बक्यौता रकम नदिँदा स्टिल डण्डी व्यवसायी समेत मारमा परेको हो ।

लोडसेडिङका कारण स्टिल डण्डीको व्यवसायीमा सङ्कुचन आएको प्रिमियर स्टिलका प्रोजेक्ट म्यानेजर प्रज्वल महतले बताए । उनले भने, ‘स्टिल डण्डीका अहिले पनि ६ घण्टा मात्र विद्युत् आउँछ । ६ घण्टामा पनि भोल्टेज पुग्दैन । स्टिलको व्यवसाय विस्तारमा लोडसेडिङले असर गरी रहेको छ ।’

सरकारी बजेट निकासा समयमा नहुँदा स्टिल डण्डीको व्यवसायमा अपेक्षा अनुरूप सुधार हुन नसकेको उनले बताए । ‘सरकार समयमै बजेट निकास गरेको छैन । यसले गर्दा स्टिलको व्यवसाय सुधार हुन सकेको छैन’ महतले भने ।

पछिल्लो समय ऊर्जा क्षेत्रमा भइरहेको विकासले भने स्टिल व्यवसायीलाई थोरै भए पनि आस दिलाएको बजरङ्ग स्टिलका जनरेल म्यानेजर रमण प्रसाद अचार्यले बताए । उनले भने, ‘ऊर्जा क्षेत्रमा विकास भयो, पूर्वाधार क्षेत्रको विकास हुँदै गयो भने माग त बढ्छ नै । त्यसैले पनि नयाँ मिलहरू थपिने चरणमा छन् । सरकारले ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकता दिँदै आइरहेको छ । यसले स्टिलको व्यवसायमा समेत सुधार आउने आस रहेको छ’ ।

ऊर्जा क्षेत्रमा सरकारले देखाएको सक्रिय कदम र भइरहेको ऊर्जा विकासले बिस्तारै स्टिल माग बढ्दो क्रममा रहेको उनले बताए । ‘ऊर्जाका अहिले स्टिलको माग बढ्दो क्रममा रहेको छ । अबका दिनमा स्टिलले बजार राम्रो पाउने देखिएको छ’ अचार्यले भने ।

पहिले भन्दा व्यवसाय केही खुम्चिए पनि भविष्यमा स्टिलको व्यवसायले राम्रै बजार पाउने विजय स्टिलका प्रोजेक्ट सेल्स म्यानेजर मदन ढकालले बताए । उनले भने, ‘व्यवसाय नभएको होइन । विविध कारणले पहिलेको भन्दा स्टिलको माग केही घटेको छ । तर, ऊर्जा क्षेत्रमा आएको फड्को र विकास निर्माणले बिस्तारै लयमा आउनले उसको भविष्य सुनौलो रहेको प्रस्ट रहेको छ’ ।

आज अर्थात् वैशाख १२ गतेदेखि विद्युतीय सवारी (ईभी) -यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आयोजनामा भइरहेको हिमालयन हाइड्रो एक्स्पो विद्युत् खपत बढाउने सन्देश सहित सुरुवात गरिएको हो । एक्स्पोमा स्टिल डण्डीका समेत चार जटा स्टल रहेका छन् । तर, आफ्नो व्यवसाय विस्तार र गुणस्तर भएको बुझाउन उनीहरूले उक्त एक्स्पो मार्फत काम गरी रहेका छन् । एक्स्पोमा कुनै स्टिलले छुट योजना भने ल्याएको छैनन् ।

इप्पानको एक्स्पोमा हुलास स्टिल, प्रिमियर स्टिल, बजरङ्ग स्टिल र विजय स्टिलका स्टलहरू रहेका छन् । कम्पनीहरूले आफ्नो व्यवसाय विस्तार र ग्राहकहरूको माझ आफ्नो विश्वास जगाई व्यापार विस्तारका लागि उक्त एक्स्पो मार्फत जानकारी दिइरहेका छन् ।

हुलासले स्टिल सिट (टिनका पाता), पाइप लगायतका उत्पादन गर्दै आएको छ। गोल्छा परिवारको मुख्य लगानी रहेको कम्पनी १९८१ मा स्थापना भएको थियो। २००६ मा पब्लिक कम्पनीमा रुपान्तरण गरेको थियो। चर्नले डेभलपमेन्ट कम्पनीले ५० प्रतिशत रहँदा जयश्री गोल्छाको २१ प्रतिशत, हिमान्सु गोल्छा, हितेश गोल्छा र हुलास मेटल क्राफ्टको समेत सेयर लगानी छ।

शारदा ग्रुप तथा राठी ग्रुपको संयुक्त लगानीमा स्थापना गरिएको यस प्रिमियर स्टिल प्रा.लिमा दक्ष एवं अनुभवी समुहको सहभागीता रहेको छ । ३६ वर्ष भन्दा बढीको स्टीलजन्य उत्पादान सम्बन्धी अनुभव भएका सञ्चालकहरुको सहभागीताले गुणस्तरीय उत्पादनमा विशेषता हासिल गरेको छ ।

प्रतिष्ठित व्यापारिक घराना गोल्छा, राठी र प्रतिष्ठित व्यापारीहरु जीवन रिजाल र इन्तकाब अहमद मियाको २ अर्ब ५० करोडको संयुक्त लगानीमा संचालनमा आएको स्वस्तिक रोलिङ्ग मिल्सले निकट भविष्यमा नै नेपालभर आफ्नो बिक्री वितरण गर्ने भएको छ । आफ्नै मेल्टिङ्ग युनिट रहेको उक्त उद्योगमा दैनिक ५०० टन उत्पादन क्षमता रहेको छ ।

विजय ग्रुप अफ कम्पनीजद्वारा सञ्चालित कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब ९४ करोड ३७ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ४ करोड ३७ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ अर्ब ९० करोड रुपैयाँको रेटिङ गराएको छ ।

बढ्दै स्टिलको मूल्य

स्टिलको मूल्य भनेको कच्चा पदार्थमा निर्भर हुने गर्दछ । नेपाल कच्चा पदार्थमा भारतमा निर्भर रहेको छ । भन्सार दर र बैङ्कको ब्याजदरले स्टिलको व्यवसाय निर्धारण गर्ने छ । डलरको मूल्यमा हुने उतारचढावले कच्चा पदार्थले पनि ठुलो प्रभाव पारिरहेको हुन्छ ।

स्टिल डण्डीको मूल्य बढाउने तयारी ग्रिल तथा स्टिल व्यवसाय महासङ्घको रहेको छ । उद्योगीहरुले भने कच्चा पदार्थको आयातका कारण त्यसरी मूल्य बढेको बताउँदै आएका छन् । उद्योगीहरुले यसो भनिरहँदा उपभोक्ताकर्मीहरु भने बजारमा सिन्डिकेट गरेर अस्वाभाविक रुपमा मूल्य बढेको आरोप लगाइरहेका छन् । अहिले नेपालमा भारत लगायत देशबाट फलामको ब्लेड आयात गरेर प्रशोधन गरेर बिक्री गर्दै आएका छन् ।

उपभोक्ताहरूले मूल्य, गुणस्तर र पहुँचलाई हेरेर उत्पादन छान्ने गरेका छन् उत्पादन छनौटका ४ वटा आधार (फोर पीज) भन्ने गरेका छन् । ठाउँ (प्लेस) उत्पादन (प्रडक्ट) र मूल्य (प्राइस०)लाई हेर्छन् । एक तलाको घर सरकारी मापदण्डमा बनाउँदा ५ टन डण्डी लाग्ने गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*