१६ औँ योजनाले एकीकृत पूर्वाधार निर्माणलाई जोड दिएको छः प्रधानमन्त्री प्रचण्ड

१३ बैशाख २०८१, बिहीबार १२:५६

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिएको बताएका छन् ।

बिहीबार राष्ट्रिय विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषिको व्यवसायीकरण, उत्पादनमूलक उद्योग, रोजगारमूलक शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धिमा १६औँ योजना केन्द्रित हुने बताएका हुन् ।

‘पर्यटन प्रवर्द्धन र आन्तरिक रोजगार अभिवृद्धि एवं एकीकृत बस्ती विकासमा उच्च प्राथमिकता दिनुपर्नेछ’ उनले भने,
‘यसका लागि योजनाले स्वदेशी तथा वैदेशिक लगानी अभिवृद्धिसहित युवा केन्द्रित सुरुवाती पुँजी लगानीमार्फत नविनता र उद्यमशीलता विकासमा जोड दिन आवश्यक छ ।’

आर्थिक समृद्धिको सम्वाहकका रूपमा निजी क्षेत्रलाई आत्मसात गर्दै सहकारी, सामुदायिक एवं गैरसरकारी क्षेत्र र विकास साझेदारलाई सहयोगी भूमिकामा योजनाले अंगीकार गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सोच, लक्ष्य र लगानीको अनुमान उपयुक्त हुने गरी योजना तयार हुने बताए ।

योजना सफल कार्यान्वयनका लागि तीनै तहका सरकारको सहकार्य, सहयोग र समन्वय अपरिहार्य रहनुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले पर्याप्त लगानी तथा सार्वजनिक खर्च जुटाउन सबै तहका सरकारले विवेकपूर्ण राजस्व परिचालन गर्नुपर्नेमा जोड दिए

सबै पक्षलाई समेटेर नियमित र नतिजामूलक अनुगमन तथा मूल्यांकन प्रणाली विकास गरी कार्यान्वयनमा जोड दिनुपर्ने उनले बताए । प्रधानमन्त्री प्रचण्डले अब आर्थिक सुधारको एकीकृत ढाँचा राष्ट्रिय योजना आयोगले सबै निकायको समन्वयमा तयारगरी कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*