‘नेपालमा उत्पादन हुने हाइड्रोजन संसारकै सस्तो’

१४ बैशाख २०८१, शुक्रबार १७:३०

काठमाडौं । नेपालमा जलविद्युत् मात्रै होइन हाइड्रोजन, सोलार, विण्ड जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि जोड दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को आयोजनामा भृकुटीमण्डमा बुधबारदेखि सुरु भएको ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ अन्तर्गत ‘पायोनियरिङ द क्लिन इनर्जी सिनर्जी’ विषयक सत्रमा बोल्ने वक्ताहरुले वैकल्पिक ऊर्जाको पनि प्रयोग बढाउँदै ऊर्जा मिश्रणमा जानुपर्नेमा जोड दिएका हुन् । ऊर्जा सुरुक्षाको लागि वैकल्पिक ऊर्जा निर्विकल्प रहेको उनीहरुको भनाइ छ ।

सत्रमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै काठमाडौं विश्वविद्यालयका प्रोफेसर एवं हाइड्रोजन विज्ञ विराजसिंह थापाले सन् २०३० सम्ममा हाइड्रोजनको मुल्यमा ६२ प्रतिशतले कमी आउने र त्यसको लागि नेपाल आजैबाट तयार हुनेपर्ने बताए ।

‘सन् २०५० सम्म १३ ट्रिलिएन डलरको बजार हुँदैछ । यसमा नेपालको स्थान अन्य देशले बढी देखेको छ ।’ हाइड्रोजनको बारेमा कार्यपत्र प्रस्तुत गर्दै उनले भने,‘नेपाल सबैभन्दा सस्तो हाइड्रोजन उत्पादन गर्ने मुलकुमा पर्ने देखिएको बेलायतको एक अध्ययनले देखाएको छ । सोलार, विण्ड र हाइड्रोको मिश्रणबाट नेपालमा विश्वमै सबैभन्दा सस्तो हाइड्रोजन उत्पादन गर्न सकिन्छ । ’

काठमाडौं विश्वविद्यालयले हाइड्रोजनबाट गाडी चलाएर देखाएको र चुल्हो बालेर देखाएको सांकेतिक रहेको र अब सरकार र अन्य निजी क्षेत्र यसमा आउनुपर्ने थापाले बताए ।

‘अब सरकार र अन्य क्षेत्रले यसमा लगानी गर्नुपर्छ । एमोनिया भविष्यको ऊर्जा भएर आउँदैछ । यसमा १ ट्रिलिएन डलरको बजार हुँदैछ । नेपाल विद्युत प्राधिकरण र काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा यसको अनुसन्धान हुँदैछ’ उनले भने ।

नेपालको भविष्य मल कारखानामा पनि उच्च रहेको थापाले बताए । वर्षायाममा जलविद्युत् धेरै उत्पादन हुने र हिउँदमा कम उत्पादन हुने भेरियसनलाई हाइड्रोजन बनाएर प्रशोधन गरी हिउँदमा त्यसको बिक्री गर्न सकिने हुँदा हाइड्रोजन नेपालको ऊर्जा सुरक्षाको लागि राम्रो विकल्प रहेको उनको भनाइ छ । काठमाडौं विश्वविद्यालयले बुद्धभूमि हाइड्रोपावरसँग हाइड्रोजन उत्पादनमा सहकार्य गरेको पनि उनले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*