लगानी सम्मेलनको बहानामा गम्भीर राष्ट्रघात गर्दै सरकार, विमानस्थल विदेशीको जिम्मा लगाउने तयारी

१४ बैशाख २०८१, शुक्रबार १८:०८

काठमाडौं । आसन्न तेस्रो लगानी सम्मेलनका दौरान सरकारले गम्भीर राष्ट्रघात गर्न खोजेको छ । आगामी आइतबार र सोमबारलाई तय भएको तेस्रो लगानी सम्मेलनमा सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहितका तीन ठूला हवाई अड्डा व्यवस्थापन सम्बन्धी परियोजना ‘सोकेस’ गर्ने तयारी गरेको छ ।

विमानस्थल व्यवस्थापनका नाममा सरकारले विमानस्थल भारतलाई सुम्पिने गम्भीर राष्ट्रघाती कदम उठाउन लागेको हो । प्रधानमन्त्री प्रचण्ड कै विशेष चासोमा विमानस्थल व्यवस्थापन सम्बन्धी परियोजना सोकेस गर्न लागिएको बुझिएको छ । विमानस्थल व्यवस्थापनमा विगतदेखि चासो राख्दै आएका भारनीय अर्बपति गौतम अडानी लगानी सम्मेलनमा सहभागी नहुने भए पनि सरकारले घुमाउरो बाटोबाट विमानस्थल भारतीय कम्पनीको जिम्मा लगाउने जुक्ति लगाएको छ ।

मंगलबार बसेको लगानी बोर्ड बैठकमा सम्मेलनका लागि छनोट १४८ परियोजनाको सूचीमा विमानस्थल व्यवस्थापन थिएन । तर, बैठकबाटै प्रधानमन्त्री प्रचण्डले ‘तोकादेश’ गर्दै अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन र रासायनिक मलको परियोजनामा ब्रेक थ्रु गर्नेगरी काम अघि बढाउन भनेका थिए ।

प्रधानमन्त्रीको तोकादेशपछि मुख्यसचिव डा. बैकुण्ठ अर्यालले विमानस्थल व्यवस्थापनको परियोजना अघि बढाउने तरखर गरे । उनले यसअघि पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा गठित सुझाव समितिका सदस्यहरु घनश्याम ओझा र लगानी बोर्डका सहसचिव प्रद्युम्नप्रसाद उपाध्याय तथा पर्यटन सचिव डा. दीपक काफ्लेसँग विमानस्थल व्यवस्थापनको परियोजना कसरी सोकेस गर्न सकिन्छ ? परामर्श गरेको बताइएको छ ।

समितिले वैशाख ९ गते प्रतिवेदन बुझाउँदै त्रिभुवन र निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई निर्माण स्वामित्व सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा एउटै परियोजनाका रुपमा अघि बढाउन सुझाव दिएको थियो । समितिले निजगढ विमानस्थल निर्माण गर्ने कम्पनीलाई नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनको जिम्मा दिनुपर्ने भनेको छ ।

व्यवस्थापनका लागि दिएपछिको आम्दानी बाँडफाँटका बारेमा समितिले स्पष्ट नखुलाए पनि त्यसका सदस्यहरुले भारतीय विमानस्थल व्यवस्थापनको उदाहरण दिएका छन् । त्रिभुवन विमानस्थलसहितका ठूला हवाई अड्डा भारतीय कम्पनीलाई व्यवस्थापन गर्न दिनुपर्नेमा कर्मचारीतन्त्र एकमत भइसकेको देखिन्छ । जसको मुख्य शुत्रधार हुन्, नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी । अधिकारीले नै निजगढ विमानस्थल बनाउन विदेशी लगानीकर्ता आकर्षित गर्न ‘विमानस्थल व्यवस्थापन’ उपयुक्त प्रस्ताव हुने भनी सबैलाई भुटिरहेका छन् ।

प्रधानमन्त्री प्रचण्ड समेत अधिकारीको भुटाईमा परेर हौसिएका हुन् । अधिकारीको प्रस्ताव राम्रो भएको भन्दै प्रधानमन्त्री प्रचण्डले त्यसमा राष्ट्रिय सहमति जुटाउने बचन समेत दिएका छन् । अडानी समूहले परियोजनामा रुची देखाएका कारण पनि प्रधानमन्त्री प्रचण्डले यसमा जोडबल गरेका बताइएको छ ।

को हुन् अडानी ?
एसियाकै धनी र संसारभरका अग्रणी धनी मध्येका एक हुन्, भारतीय अर्बपति गौतम अडानी । समान्य परिवारमा जन्मिएर सुरुमा डायमण्डको खुद्रे व्यापारबाट व्यवसाय सुरु गरेका अडानी अहिले एसियाकै धनी कहलिएका छन् । उनको दैनिक कारोबार नै आश्चर्यजनक छ । दैनिक उनी १६ देखि १७ सय करोड कमाउछँन् । उनी घण्टामै ६८ करोड कमाउँछन् । अहिले उनीसँग सोलार पावर, ग्रीन इनर्जी, हाउजिङ, सिमेन्ट, पेट्रोल, रासायनिक मल, केमिकल लगाय विभिन्न उद्योग छन् भने किङ अफ् इन्फ्रास्ट्रक्चरका रुपमा चिनिएका छन् । उद्यपि उनी प्रचारबाजी भने रुचाउँदैनन् ।

विमानस्थल व्यवस्थापनमा चासो किन ?
तीन महिना अघि अडानी समूहले आफ्ना प्रतिनिधि अनिल पटानीलाई नेपालका विमानस्थल व्यवस्थापनबारे प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग गफ गर्न लगाएको थियो । भेटमा पटानीले आफुहरुले अहिले पनि भारतमा ७ वटा विमानस्थलको व्यवस्थापन हेरिरहेको र त्यो संख्या यसै वर्ष २० बनाउन लागेको बताएका थिए ।

र, आफुहरु व्यवस्थापनका लागि अनुभवी रहेको र पूर्वाधार निर्माणका लागि आवश्यक पुँजी जुटाउन सक्ने अवस्थामा रहेको समेत सुनाएका थिए । अडानी इन्टरप्राइजेज अन्तर्गतको अडानी एयरपोर्ट होल्डिङ्सले अहिले भारतका ७ वटा विमानस्थल व्यवस्थापन हेरिरहेको छ भने मुम्बईमा निर्माण भइरहेको नवी मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलमा १ खर्ब रुपैयाँ लगानी गरेको बताइन्छ ।

अडानी समूहले तीनवटै विमानस्थल व्यवस्थापनको जिम्मा दिए निजगढ विमानस्थ निर्माणका लागि पूँजी जुटाइदिने आश्वासन प्राधिकरणका महानिर्देशक अधिकारीलाई दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*