पूर्वाञ्चल विश्वविद्यालयमा ३ सय शय्याको मेडिकल कलेज बनाउने प्रधानमन्त्रीको घोषणा

१४ बैशाख २०८१, शुक्रबार १८:५०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वाञ्चल विश्वविद्यालयमा ३ सय शय्याको मेडिकल कलेज सञ्चालन गरिने बताएका छन् । उनले विराटनगर चक्रपथ निर्माणको योजना पनि अगाडि बढाउने प्रतिबद्धता जनाएका हुन् ।

मोरङको सुन्दरहरैंचामा शुक्रबार आयोजित पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गोठगाउँस्थित विश्वविद्यालय हाताभित्र ३०० बेडको अस्पताल निर्माणको प्रक्रिया आगामी आर्थिक वर्षमा अगाडि बढाउने घोषणा गरे । प्रधानमन्त्री प्रचण्डले मेडिकल कलेज सञ्चालनको निर्णय कार्यान्वयन गर्न सुविधायुक्त अस्पतालको लागि पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापन गर्ने बताएका हुन् ।

प्रचण्डले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका निकायले गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिए । ‘पूर्वाञ्चल विश्वविद्यालय परिसरमा आवश्यक संरचना तयारगरी मेडिकल कलेज सञ्चालन गर्नुपर्छ । यस क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्छ,’ प्रचण्डले भने, ‘मेरै पहलमा पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सञ्चालनको अनुमति प्राप्त गरेको हो । आगामी दिनमा यस क्षेत्रको अधिक जनसंख्यालाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन पहल गर्नेछु ।’

कृषि, उद्योग र पर्यटन विकासमा टेवा पुर्याउने र जनताको जीवनस्तरमा सुधार ल्याउनेगरी सडक सञ्जाल विस्तार गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले रणनीतिक महत्त्व बोकेको विराटनगर चक्रपथ निर्माणलाई आगामी आर्थिक वर्षदेखि योजनाबद्ध तवरले अगाडि बढाइने जानकारी दिए ।

विश्वविद्यालयमा मेडिकल कलेज संचालनगर्ने र चक्रपथ बनाउने दुबै आयोजना अगाडि बढाउन सो क्षेत्रका प्रदेशसभा सदस्य जीवन आचार्यले पहल गर्दै आएका थिए । संघीय सरकारको अर्थ मन्त्रालयबाट पनि दुबै आयोजना अगाडि बढाउने सहमति प्राप्त भइसकेको अचार्यले जानकारी दिए । प्रधानमन्त्रीको घोषणासँगै यस क्षेत्रका जनताको लामो प्रतीक्षा समाप्त हुने अवस्था बनेको उनको दाबी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*