सूचना प्रविधि, कृषि, उद्योगदेखि पूर्वाधारसम्म लगानी गर्न प्रधानमन्त्री प्रचण्डको आह्वान

१६ बैशाख २०८१, आईतवार १२:२६

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानीको अथाह सम्भावना रहेकोले विदेशी लगानीकर्ताहरुलाई लगानी गरेर लाभ लिन आह्वान गरेका छन् । नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलन २०२४ को आजको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले लगानीकर्ताहरुलाई नेपालका विविध क्षेत्रमा लगानीका लागि आह्वान गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले नेपालमा ठूलो मात्रामा श्रम शक्ति रहेको, नेपालका धेरै जनसंख्याहरु गरिब बर्गबाट मध्यम बर्गमा रुपान्तरण हुँदै गएको र नेपालीहरुले अन्तर्राष्ट्रिय भाषा समेत बोल्न सक्ने अवस्थामा रहेकोले यहाँ लगानीबाट धेरै लाभ लिन सकिने बताए ।

विश्वका ५५ भन्दा बढि राष्ट्रबाट एक हजार ६०० भन्दा बढि लगानीकर्ताहरु सहभागी भएको सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले लगानीकर्ताहरुको ध्यानाकर्षण गर्दै भने, ‘नेपालको विद्युत भारतले खरिद गर्ने सम्झौता गरेको छ, चीनसँग पनि सहकार्य भइरहेको छ ।’ प्रधानमन्त्री प्रचण्डले विश्वका दुई ठूला अर्थतन्त्र भएको देश नेपालमा लगानी गर्न उपयुक्त भएको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपाल एउटा विश्वका लगानीकर्ताहरुको गन्तव्य बनिरहेको छ ।’ प्रधानमन्त्री प्रचण्डले नेपाल लगानीको नयाँ युगमा प्रवेश गर्दै गएको बताउँदै नेपाली तथा विदेशी लगानीकर्ताहरुलाई लगानी गरेर लाभ उठाउन आह्वान गरेका छन् ।

नेपालले अबलम्बन गरेका उदार नीतिहरूले प्राथमिकताका क्षेत्रमा विदेशी लगानीलाई प्रोत्साहन गर्ने प्रधानमन्त्रीको विश्वास छ । उनले नेपालमा भएका दक्ष जनशक्ति र कम श्रम लागत पनि अन्तर्राष्ट्रिय लगानीकर्ताहरूका लागि आकर्षण हुने बताए । प्रधानमन्त्री दाहालले भने, प्रत्यक्ष वैदेशिक लगानीकर्ता र राष्ट्रिय लगानीकर्तालाई कुनै पनि भेद्भावपूर्ण व्यवहार नगरिने प्रावधान र विदेशी मुद्रामा नाफा फिर्ता लैजान पाउने सुनिश्चितताले नेपालमा लगानीको आकर्षण अझ बढाउँछ ।

नेपालको ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या श्रमिक उमेर समूहभित्र पर्ने बताउँदै प्रधानमन्त्री दाहालले तीव्ररूपमा विस्तार हुँदै गएको मध्यमवर्गीय जनसङ्ख्याले उपभोक्तामुखी अवस्थाको अपार सम्भावना देखाएको बताए । उनले विदेशी भाषा बोल्ने युवाहरूको सङ्ख्या उल्लेख्य मात्रामा रहँदा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई श्रमशक्ति खोज्न मद्दत पुग्ने उल्लेख गरे । नेपालले पर्यटन, कृषि, उत्पादन, सूचनाप्रविधि, गार्मेन्ट, कृषि प्रशोधन र पूर्वाधारलगायत उच्च मूल्यका बाली उत्पादन जस्ता क्षेत्रमा लगानीका अवसरहरू उपलब्ध गराएको छ, प्रधानमन्त्री दाहालले भने, जलविद्युत् उत्पादनको प्रचुर सम्भावनाले नवीकरणीय र स्वच्छ ऊर्जा आपूर्तिको प्रतिबद्धता व्यक्त गरेको छ । समृद्ध सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यले पर्यटन क्षेत्रको बलियो सम्भावनालाई संकेत गर्दछ ।

नेपालमा जलविद्युत् उत्पादनको प्रचुर सम्भावना भए पनि हालसम्म ३ हजार २०० मेगावाट मात्रै उत्पादन भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले करिब ५ हजार ५६८ मेगावाटका ठूला आयोजना सार्वजनिक–निजी साझेदारी (पीपीपी)मार्फत निर्माण वा कार्यान्वयनको चरणमा रहेको बताए ।

प्रधानमन्त्री दाहालले विद्युत् व्यापार सहज तुल्याउन भारतसँग भएको विद्युत् व्यापार सम्झौता, चीनसँग भएको सहकार्यका र समझदारी एवं बङ्गलादेशसँग भएको विद्युत् निर्यातको समझदारीले लगानीका लागि पर्याप्त पूर्वाधार तयार भएको बताए। उनले भने, यसले नेपालमा जलविद्युत् क्षेत्रमा लगानी गर्ने प्रचुर अवसरहरू स्पष्ट रूपमा देखाउँछ । भारत र चीन जोड्ने निर्माणाधिन अन्तरदेशीय प्रसारण लाइनले यस क्षेत्रभित्र ऊर्जा आदानप्रदानलाई सहज बनाउँछ ।

प्रधानमन्त्री दाहालले तयारी पोशाक र नेपाली गलैंचा पनि विश्व बजारमा निकासी हुने र गुणस्तरका लागि प्रख्यात भएको उल्लेख गर्दै यस क्षेत्रमा पनि लगानीको प्रचुर सम्भावना रहेको बताए । नेपालमा दुई विशेष आर्थिक क्षेत्र सञ्चालनमा आएका र देशका अन्य स्थानमा त्यस्ता आर्थिक क्षेत्र विकास हुने चरणमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यस्ता क्षेत्रले आर्थिक वृद्धि र औद्योगिक विकासमा बल पुराउन विश्वास व्यक्त गरे । उनले भने, नेपालमा हाल दश औद्योगिक जिल्लाहरू रहेका छन्, थप छ वटा विकास गर्ने योजना छ, यसले लगानीका लागि आवश्यक पूर्वाधार र सेवाको पहुँच सुनिश्चित गर्दछ ।

उदीयमान बजार भएका भारत र चीन बीचमा रहेको नेपाल रणनीतिक रूपमा पनि लगानीको लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले क्षेत्रीय सम्झौताहरू साफ्टारबिमस्टेक र स्वतन्त्र व्यापार व्यवस्थाद्वारा द्विपक्षीय र क्षेत्रीय बजारहरू सुनिश्चित भएको स्पष्ट पारे । अन्तर्राष्ट्रिय निजी लगानी प्रवाहलाई सहज तुल्याउन उद्योग विभागले ६ अर्ब रुपैयाँभन्दा कमको लगानी अनुमोदन गर्दछ र लगानी बोर्ड नेपालले ६ अर्ब रुपैयाँभन्दा बढीको लगानी वा २०० मेगावाटभन्दा बढी ऊर्जा आयोजनाहरू व्यवस्थापन गर्छ, प्रधानमन्त्री प्रचण्डले भने, यी दुवै सरकारी एजेन्सीहरू स्वदेशी र अन्तर्राष्ट्रिय लगानीकर्तालाई तोकिएको समयमा सहज सेवा प्रदान गर्न प्रतिबद्ध छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*