लगानी सम्मेलनमा मिडिया व्यवस्थापन भद्रगोल, समन्वय अभावमा समाचार संकलनमै अप्ठेरो

राजन कठायत
१६ बैशाख २०८१, आईतवार १२:५०

काठमाडौं । आजदेखि काठमाडौंमा सुरु भएको लगानी सम्मेलनमा भद्रगोल अवस्था देखिएको छ । सरकारले आजदेखि विश्वका ५५ राष्ट्रका १६०० भन्दा बढि लगानीकर्ताहरुलाई सहभागी गराएको लगानी सम्मेलनमा मिडिया व्यवस्थापन भद्रगोल देखिएको हो ।

आजदेखि सुरु भएको लगानी सम्मेलनमा अर्थमन्त्रालय र लगानी बोर्डमा कार्यरत कर्मचारी र मिडिया हेर्ने अधिकारीहरुका आफन्त पर्ने मिडियाहरुलाई मात्रै सहभागी गराइएको पाइएको छ । जम्मा ३५ वटा मिडियालाई सम्मेलनमा सहभागी गराइएको थियो ।

लगानी सम्मेलनबारे सरकारले पत्रकार सम्मेलन गरेर भव्य समारोहको ब्राण्डिङ गर्न चुक्न पुगेको थियो । लगानी सम्मेलनको अघिल्लो दिन हुनुपर्ने पत्रकार सम्मेलन समेत गर्न सकेन । पत्रकार सम्मेलन नगरी आज विहान उद्घाटन गरिएको कार्यक्रमको रिपोर्टिङ गर्न थुप्रै अन्तर्राष्ट्रिय सञ्चार माध्यमका पत्रकारहरुलाई समेत लगानी सम्मेलनमा प्रवेश नदिइएको पाइएको छ ।

त्यस्तै, नेपालमा आर्थिक क्षेत्रमा कार्यरत दर्जनौं सञ्चार माध्यमहरु लगानी सम्मेलनको प्रत्यक्ष समाचार संकलन गर्ने व्यवस्था गर्न सरकार चुकेको छ ।

उता, सोल्टी होलटमा पुगेका पत्रकारहरुलाई समेत कार्यक्रम स्थलमा प्रवेश दिइएको छैन । उनीहरुलाई एउटा कोठामा राखेर भर्चुअल दृष्य हेरेर रिर्पोटिङ गर्न भनिएको छ ।

तामझामका साथ सुरु गरिएको लगानी सम्मेलनको भद्रगोल व्यवस्थापनको मारमा विदेशी लगानीकर्ताहरु समेत परेका छन् । विहान ८ः३० बजेदेखि होेटलको सभाहलमा राखिएका लगानीकर्ताहरुलाई नेपाली आयोजना, लगानीको क्षेत्रबारेमा व्याख्या गर्नुको साटो राजनीतिक नेताहरुको भद्दा भाषण सुनाएर कान टट्टाउने प्रवृत्ति दोहोर्याइएको छ । यद्यपि प्रधानमन्त्री प्रचण्डसहितका नेताहरुले संक्षिप्त भाषण गरेका थिए ।

नेपाली व्यापारीहरुका गुट अनुसारका संगठनका प्रत्येक अध्यक्षहरुलाई मन्तव्य राख्न दिएका कारण कार्यक्रम निकै लामो र भद्दा हुन पुगेको छ । उद्योग बाणिज्य महासंघको तर्फबाट अध्यक्षको मन्तव्य हुँदा पर्याप्त हुनेमा तीन जनाले मन्तव्य राखेका थिए ।

भद्रगोल मिडिया व्यवस्थापनको दृष्य लगानी बोर्डले तयार पारेको लगानी सम्मेलनको फेसबुक पेजमा समेत देखिएको छ । जहाँ प्रधानमन्त्री प्रचण्डले भाषण गर्दा  १११ जनाले मात्र लाइभ हेरिरहेको देखिएको छ । देशको प्रधानमन्त्रीले गरेको भाषणमा व्यवस्थित गर्न नसकेपछि लगानी सम्मेलन बन्द कोठाभित्र सीमित हुन पुगेको देखिन आएको छ ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले मिडिया सम्बन्धी जिम्मेवारी पुष्पराज आचार्यलाई दिइएको जानकारी दिँदै उतै सम्पर्क गर्न भने । तर, पूर्व पत्रकार आचार्यले भने फोन गर्ने पत्रकारहरुलाई कुनै रेस्पोन्स गरेका छैनन् ।

उता, आजको लगानी सम्मेलनमा नेपालका कैयौं विशिष्ट व्यक्तिहरुले अपमानित महसुस गरेर सोल्टीबाट फर्केका छन् । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना सम्मेलनमा निम्त्याइएर पनि कुर्सी नपाएपछि त्यतिकै उभिएरै फर्केकी छिन । त्यस्तै, प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डे पनि सिट नपाएपछि कार्यक्रममा अपमानित महसुस गर्दै कार्यालय फर्केका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*