अर्बौ राजस्व दिइरहेको इन्टरनेट सेवा प्रदानलाई राज्यले गर्ने सहजीकरणको कुनै आभास भएनः इस्पान

१६ बैशाख २०८१, आईतवार १५:४८

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक संघ (इस्पान) ले व्यवसाय संचालनको लागि राज्यले गर्ने सहजीकरणको कुनै आभास नभएको बताएको छ । कम्पनीले आज एक विज्ञप्ति जारी गर्दै अर्बौ राजस्व दिइरहेको ईन्टरनेट सेवा प्रदान सरकारको नजरमा नपरेको बताएको हो ।

हामी देशैभरी अत्यावश्यक ईन्टरनेट सेवा प्रदान गर्दै डिजिटल फाउन्डेसन र सरकारको परिकल्पना डिजिटल नेपाललाई सार्थक बनाउने एक मजबुत खम्बा रहेको इस्पानको भनाइ रहेको छ । वर्तमान अवस्थामा नेपाल विश्वमा फिक्स्ड ब्रोडब्याण्डमा सस्तो ईन्टरनेट सेवा उपलब्ध गराउने मुलुकमा ८ औं स्थानमा पर्न सफल भएको छ र देशको ४३ प्रतिशत भन्दा बढी घरधुरीमा र गाउँ गाउँ सम्म आज फिक्स्ड ब्रोडब्याण्डको पहुँच पुगेको विज्ञप्तिमा उल्लेख गरीएको छ ।

‘राज्यलाई वार्षिक अर्बौं रुपैयाँ कर तिरेर समृद्ध राष्ट्र निर्माणको अभियानमा अटुट रुपमा लागिपरेका छौँ भने हजारौं जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिइरहेका छौँ’ इस्पानले भनेको छ,- ‘अझै देशभित्रै राज्यको कुनै सुरक्षा र सहयोग विना आफैले जोखिम उठाउदै बैंकमा आफ्नो भए गरेको जायजेथा राखेर अर्बौं लगानी गरी हजारौंलाई रोजगारी दिइरहेको ईन्टरनेट क्षेत्रलाई विशेष रुपमा हेरिनु पर्दछ। विदेशी लगानीकर्ताले अन्य देशमा लगानी गर्नुभन्दा पहिले देशकै स्वदेशी उद्योगी व्यावसायीहरु मार्फत आफ्नो लगानीको सुनिश्चितताका लागि राज्यको नीति, व्यवसायीहरुलाई गरिने व्यावहार र प्रदान गरिने सेवाहरु बुझेर मात्रै लगानी गर्ने कुरो अन्तर्राष्ट्रिय जगतमा चलिआएको पद्धति पनि हो। जुन हाम्रो जस्तो मुलुकमा अझ बढी सान्दर्भिकता राख्दछ।’

राज्यको चर्को र उच्चदरको करको मारमा परेको अवस्वा राज्यले विदेशी लगानिकर्ताहरुले व्यावसायिक माहोलको बारेमा चासो राखेको खण्डमा उनीहरूलाई हाम्रो मुलुकमा लगानी गर्नको लागि कसरी सकारात्मक बनाउने भन्ने कुराको अन्यौल रहेको इस्पानले भनेको छ ।

‘राज्य र सरकारलाई सदैव, हरेककोणबाट सहयोग गरिनै रहेका छौँ र आउने दिनमा पनि गरिनै रहने छौँ भन्ने कुरामा प्रतिवद्द छौँ। हाम्रा पनि हाम्रो व्यावसाय निरन्तर संचालन गर्न दिनानुदिन भोगिरहेका अनेक समस्याहरु छन, जसको निराकरण राज्यले मात्रै गर्नसक्छ। हामीले अझै नागरिकहरुलाई चुस्त, दुरुस्त र निरन्तर सेवा प्रवाह गर्नका लागि राज्यबाट पनि सहयोगको ठूलो आशा गरेका छौँ। सो को लागि विभिन्न चरणमा राज्यका सम्बन्धित निकायहरूलाई अवगत गराएकै छौ’ विज्ञप्तिमा भनिएको छ ।

लगानी सम्मेलन जस्तो गरिमामय अवसरमा हामी जस्ता स्वदेशी लगानीकर्ताहरुको मनोबल पनि उच्च पारिदिनु हुन सरकारलाई विशेष आग्रह इस्पानले गरेको छ । नेपाल सरकारलाई नेपाल लगानी सम्मेलन– २०२४ को सफलताको शुभकामना समेत दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*