इलाम २ मा घण्टीको धरौटी जफत, २७ हजार भोट ल्याएर एमालेका सुहाङ बिजयी

१८ बैशाख २०८१, मंगलवार ०६:३८

काठमाडौं । इलाम क्षेत्र नं २ मा सम्पन्न भएको उप निर्वाचनको अन्तिम मत परिणाम गएराति सार्वजनिक भएको छ । प्राप्त मत अनुसार घण्टी चिन्ह लिएर उठेका स्वतन्त्र पार्टीका उम्मेवार मिलन लिम्बुको धरौटी नै जफत भएको छ भने एमालेका सुहाङ नेम्वाङले २७ हजार ७७२ मत ल्याएर बिजयी भएका छन् ।

गत १५ गते सम्पन्न भएको उप निर्वाचनमा एमालेको नेम्वाङ, कांग्रेसका डम्बर खड्का, स्वतन्त्र पार्टीका मिलन लिम्बु र स्वतन्त्र उम्मेवार डेगेन्द्र थेगिमसहितका उम्मेदवारहरु चुनावी मैदानमा रहेका थिए ।

निकटतम् प्रतिद्धन्दी नेपाली कांग्रेसका खड्काले २१ हजार ९४२ मत पाएका छन् । त्यस्तै, पहिचानवादीहरुको तर्फबाट भन्दै उम्मेदवार बनेका डेगेन्द्र थेगिमले ११ हजार ४५७ मत पाएका छन् । त्यस्तै, स्वतन्त्र पार्टीका मिलन लिम्बुले पाँच हजार ५० मत पाएका छन् ।

उता, यस पटकको निर्वाचनमा स्वतन्त्र पार्टीको हैसियत परिक्षणको रुपमा हेरिएको इलाम २ को उप निर्वाचनमा धरौटी नै जफत हुने गरी पराजित भएको छ । मत गणनाको क्रममा कायम हुन आएको कूल सदर मतको १० प्रतिशत भोट ल्याउन नसक्ने उम्मेदवारहरुको धरौटी जफत हुने व्यवस्था अनुरुप स्वतन्त्र पार्टीको इलाम २ मा धरौटी जफत हुन पुगेको हो । मिडियामा भइरहेको प्रचारबाजी र इलाम २ को निर्वाचनसँगै रास्वपा रिसाईज भएको रुपमा हेर्न सुरु भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*