तेस्रो लगानी सम्मेलनः चार वटा परियोजनाका लागि नौ अर्ब लगानी स्वीकृत

१८ बैशाख २०८१, मंगलवार १०:३३

काठमाडौँ । तेस्रो लगानी सम्मेलन २०२४ सम्पन्न भएको छ । सरकारले काठमाडौँ आयोजना सम्मलेन सोमबार सम्पन्न भएको हो ।

सम्मेलनमा आठ सयभन्दा बढी विदेशी प्रतिनिधिसहित दुई हजार पाँच सयभन्दा बढी व्यक्तिको सहभागिता रहेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत तथा लगानी सम्मेलन सचिवालयका संयोजक सुशील भट्टले जानकारी दिए । सम्मेलनबाट नेपालमा लगानीका लागि महत्वपूर्ण प्रतिबद्धता प्राप्त भएको उहाँले दाबी गर्नुभयो । सम्मेलनमा आशयपत्र माग गरिएका १९ र मार्केट साउन्डका नौ परियोजनासहित एक सय ५४ परियोजना प्रस्तुत गरिएको थियो ।

आशयपत्र पेस गर्न लगानीकर्तालाई ऊर्जा परियोजनाको हकमा ४५ दिन र गैर–ऊर्जा परियोजनाको हकमा ३५ दिनको समय प्रदान गरिएको छ । तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत् विभिन्न चारवटा परियोजनाका लागि ९ अर्ब १३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ ।

यस्तै निजी क्षेत्रमा सहकार्य सम्बन्धि सात वटा सम्झौता र समझदारीमा हस्ताक्षर भएको छ । विश्व बैंक समूह, चीन, भारत, कुवेत, युएई, बेलायत र अमेरिकाका प्रतिनिधिले सहयोगका क्षेत्रहरूमा छलफल गरी नेपालमा लगानीका अवसरहरू खोज्न चासो व्यक्त गरेका छन् । नेपालको दिगो विकास पहलहरूलाई समर्थन गर्ने प्रतिवद्धता पनि यी निकायहरुले जनाएका छन् ।

तेस्रो लगानी सम्मेलनमा सरोकारवालाहरू नेपालमा लगानीको लागि अनुकूल वातावरण बनेको सन्देश दिएका छन् । लगानी आह्वान गर्न आयोजना गरिएको सम्मेलनमा सरकार, प्रतिपक्ष तथा शीर्ष नेताहरूका साथै निजी क्षेत्रले लगानीको लागि एक स्वरमा आह्वान गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*