पर्यटन बोर्डमा सीइओ नियुक्तिको अन्तरिम आदेशलाई निरन्तरता

१८ बैशाख २०८१, मंगलवार १६:१७

काठमाडौँ । पाटन उच्च अदालतले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रक्रिया रोक्नका लागि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

पाटन उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले यसअघि जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरतो दिने आदेश दिएसँगै पर्यटन बोर्डको सीईओ नियुक्ति प्रक्रिया अनिश्चितकालका लागि स्थगित भएको हो ।

पर्यटन बोर्डका कर्मचारी युनियनका अध्यक्ष कुन्दन शर्मा मिश्रसहितका ११ जना कर्मचारीले वैशाख ९ गते दर्ता गरेको रिट निवेदनमा १० गते उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको थियो । उच्च अदालतको यो आदेशसँगै मुद्दाको टुंगो नलागेसम्म पर्यटन बोर्ड सीईओ छनोट उपसमितिले कुनै काम कारबाही गर्न पाउने छैन ।

उपसमितिले तयार पारेको १६ जनाको अन्तर्वार्ता र प्रस्तुतीकरण गर्ने समय सार्वजनिक भएपछि सीईओ नियुक्ति प्रक्रिया रोकिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*