अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब पुग्ने प्रारम्भिक अनुमान

१८ बैशाख २०८१, मंगलवार १८:१५

काठमाडौं । चालु आर्थिक वर्ष २०८०।०८१ मा नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको नेपालको आर्थिक वृद्धिसम्बन्धि वार्षिक राष्ट्रिय लेखा अनुमानले उक्त प्रारम्भिक अनुमान गरेको हो ।

राष्ट्रिय तथ्यांक कार्यालयले कुल गार्हस्थ्य उत्पादन (जीडिपी) का अनुमान आधारभुत मुल्य र उपभोक्ताको मुल्यमा प्रस्तुत गरिएको छ । अर्थतन्त्रको आकार मापन गर्न उपभोक्ताको मूल्यमा मापन गरिएको प्रचलित मूल्यको जीडिपी प्रयोग गरी चालु आर्थिक वर्षको बजेटको प्रारम्भिक अनुमान गरिएको तथ्यांक कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष २०७९।८० मा अर्थतन्त्रको आकार ५३ खर्ब ४८ अर्ब रहने संशोधित अनुमान गरिएको छ । त्यसैगरी, आर्थिक वर्ष २०७८।७९ मा अर्थतन्त्रको आकार ४९ खर्ब ७६ अर्ब रहने अन्तिम विवरण सार्वजनिक गरिएको छ ।

हाल प्रकाशित राष्ट्रिय लेखाका स्थिर मूल्यका अनुमान तथा आर्थिक वृद्धिदर आर्थिक वर्ष २०६७।६८ को आधारभूत मूल्यमा आधारित छन् । चालु आर्थिक वर्ष २०८०।८१ मा स्थिर मूल्यमा अनुमान गरिएको आर्थिक वृद्धिदर (जीडिपीको वार्षिक वृद्धिदर) आधारभूत मूल्यमा ३.५४ प्रतिशत र उपभोक्ताको मूल्यमा ३.८७ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ ।

आधारभूत मूल्यको आर्थिक वृद्धिदर गत आर्थिक वर्ष २०७९।८० मा २.३१ प्रतिशत हुने संशोधित अनुमान गरिएको छ । त्यसैगरी, अन्तिम तथ्याङ्कअनुसार आधारभूत मूल्यको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०७८।७९ मा ५.२८ प्रतिशत कायम गरिएको छ ।

उपभोक्ताको मूल्यमा आर्थिक वृद्धिदर गत आर्थिक वर्ष २०७९।८० मा १.९५ प्रतिशत हुने संशोधित अनुमान गरिएको छ भने अन्तिम तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८।७९ मा ५.६३ प्रतिशत कायम गरिएको कार्यालयले जनाएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख अजुन प्रसाद पोखरेलले चालू आर्थिक वर्षको अन्तिम त्रैमासमा अझै बढी कारोबार हुने भएकाले थोरै प्रारम्भिक अनुमानमा केही फरक पनि पर्न सक्ने बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*