प्रधानमन्त्री बन्न च्याँखे थाप्दै माधव नेपाल, भारतीय उक्साहटपछि थप हौसिँदै

२३ बैशाख २०८१, आईतवार ०९:४८

काठमाडौं । प्रधानमन्त्री बन्न आजभन्दा २० वर्ष अघिदेखि च्याखे थाप्दै आएका नेकपा एमालेका भूतपूर्व महासचिव तथा अहिलेको नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पुनः भारतीय सहयोगमा प्रधानमन्त्री बन्न भन्दै च्याँखे थापेका छन् ।

२०६० साल जेठको दोस्रो साता तत्कालिन प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले पदबाट राजिनामा गरेपछि राजदरवार संवाद सचिवालयले सूचना जारी गर्दै योग्य व्यक्तिले प्रधानमन्त्रीको लागि आवेदन दिन भनिएको थियो । सो सूचनामा सुर्य बहादुर थापादेखि लक्ष्मण सिंह खड्का र तत्कालिन एमालेका महासचिव माधव कुमार नेपालको निवेदन दरवारमा दर्ता भएको थियो । सडकमा आन्दोलन चलिरहेको बेला राजाले प्रधानमन्त्री बन्न आह्वान गरेपछि माधव नेपालले कांग्रेससहितका दलहरुको समर्थन रहेकोले प्रधानमन्त्री बनाईपाउँ भन्दै निवेदन दर्ता गराए । उतिबेलाको च्याँखेमा माधव नेपाल फेल भए।

२०६६ सालमा माओवादीका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार ढलेपछि भारतीय डिजाइनमा अन्तर्गत माधव नेपाल प्रधानमन्त्री बने । सो लगत्तै माओवादीले नेपालमा भारतीय चलखेल बढेको भन्दै अक्टोबर क्रान्ति गर्ने भन्दै हजारौं मानिसहरु काठमाडौं उतारेर सडक संघर्ष भयो । प्रतिक्रियावादी सत्ताका असली मालिक भारतसँगै वार्ता गर्ने माधव नेपालसँग वार्ता नगर्ने भन्दै चक्रपथमा मानव साङ्लो बनाएर घेराई पनि गरियो । छ दिनसम्म चलेको आन्दोलन त्यतिकै तुहियो ।
उनै माधव नेपालले यतिबेला भारतीय सहयोगमा फेरि प्रधानमन्त्री बन्ने भन्दै च्याँखे थापेका छन् । यस पटक पनि उनको च्याँखे २०६० साल जेठ १९ गते दरवारमा बिन्तिपत्र चढाएर प्रधानमन्त्री हुन थापेको च्याँखे झै यस पटक उनले कांगेसभित्रको एउटा गुट र भारतीय संस्थापन पक्षसँगको एउटा समुहसँग मिलेर काम गरिरहेका छन् ।

विशेषस्रोतबाट प्राप्त सूचना अनुसार यतिबेला भारतीय रअका उच्च तहका व्यक्ति काठमाडौंमा बसेर काम गरिरहेका छन् । प्रधानमन्त्री प्रचण्डलाई हटाएर माधव नेपाललाई नयाँ प्रधानमन्त्री बनाउने र हालको गठबन्धन अन्त्य गरेर कांग्रेससँग नयाँ गठबन्धन गर्ने भन्दै एउटा ठूलै समुह सक्रिय भइरहेको छ । सो समुहमा माओवादीका एक जना नेता समेत संलग्न रहेका छन् । माओवादीका सांसद समेत रहेका ति नेताले कोरोना कालमा लकडाउन भएको बेलामा पनि ज्ञानेश्वरस्थित काभेरी इन होटलमा भारतीय रअका उच्च तहका नेतासँग वार्ता गरेका थिए ।

सो समुहमा देउवापत्नी आरजु राणा समेत संलग्न रहेकी छिन् । वर्तमान सरकारका गृहमन्त्री रवि लामिछानेले कुनै पनि बेला आरजु राणालाई पक्राउ गर्न सक्ने भयका बीचमा उनले वर्तमान सरकार ढाल्न माधव नेपाललाई प्रधानमन्त्री बनाउने फण्डा अघि सारेकी छिन् । माधव नेपाल तिनै पात्र हुन्, जसले प्रधानमन्त्री हुँदा समेत माफियाको लागि काम गर्ने गरेका थिए । बालुवाटार जग्गा काण्डमा माधव नेपालकै समेत प्रत्यक्ष संलग्नता भएपनि अदालतबाट उनलाई चोख्याउने काम भएको छ ।

माधव नेपालले थापेको च्याँखे यस पटक पनि असफल हुने निश्चित छ । उनलाई कांग्रेसले मात्रै सहयोग गरेर आवश्यक बहुमत पुग्नेछैन । अन्य दलहरुले सहयोग गर्ने सम्भावना न्यून रहेको र रास्वपाले समेत माधव नेपालको चाल र नियत बुझिसकेकोले तत्काल नयाँ सरकार बन्ने सम्भावना छैन ।

पछिल्लो समय केही सञ्चार माध्यममा समेत यस सम्बन्धी समाचारहरु आइरहेका छन् । साथै माधव नेपाल स्वयमले गत बैशाख १७ गते अखिल नेपाल महिला संघको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै आफू प्रधानमन्त्री बन्ला भनेर केही व्यक्तिको भतभती मन पोलिरहेको अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्ति एमालेका वर्तमान अध्यक्ष केपी ओलीतिर लक्षित थियो ।

वाम गठबन्धन भत्काएरै भएपनि आफूले प्रधानमन्त्री पाए कांग्रेससँग मिल्ने भन्दै भित्रभित्रै पदका लागि काम गरिरहेका माधव नेपालमार्फत नै यसअघि भारतले चुच्चे नक्सा जारी गरेको बदला केपी ओलीसँग लिन पार्टी फुटाइएको थियो । अहिले तिनै माधव नेपाल वाम एकताको अन्तिम तयारीमा पुग्नै लागेको बेला पुनः बाम गठबन्धन भत्काउने र एक थान प्रधानमन्त्रीका लागि भारतीय सहयोगमा प्रधानमन्त्री बन्ने दाउमा लागेका छन् ।

त्यसो त माधव नेपालबारे माओवादी र एमालेभित्र गम्भिर समीक्षा सुरु भएको छ । सधैं भारतीय डिजाइनका सफल पार्न निर्णायक भूमिका खेल्ने माधव नेपाललाई कहिलेसम्म काखी च्यापिरहने ? आगामी निर्वाचनमा एक सिट समेत आउने सम्भावना नभएका माधव नेपाललाई किन र केका लागि बोकेर हिडिरहने ? भन्ने प्रश्न पार्टीभित्र उठ्न थालेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*