नेपालको विकासमा राजनीतिक अस्थिरता मुख्य घातक होः पूर्वअर्थमन्त्री महत

२३ बैशाख २०८१, आईतवार १८:३२

काठमाडौँ । नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक अस्थिरता नेपालको बिकासका लागि घातक रहेको बताएका छन् । शनिबार नेपाल प्रेस युनियन केन्द्रीय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा डा महतले यस्तो बताएका हुन् ।

काङ्ग्रेसका कारण मुलुकमा अस्थिरता नभएको भन्दै जसले अस्थिरता निम्ताएको छ यो नेपालको लोकतान्त्रिक आन्दोलन र बिकासका लागि घातक रहेको महतले बताए । उनले भने,– ‘नेपालको राजनीति नेपाली काङ्ग्रेसको कारणले अन्योलग्रस्त भएको होइन । काङ्ग्रेसको कारणले अस्थिरता आएको होइन । जसले अस्थिरता निरन्तर रूपमा निम्ताई रहेका छन् त्यो प्रवृत्ति नेपालको लोकतान्त्रिक आन्दोलनको लागि घातक छ । नेपालको विकासको लागि घातक छ । नेपालको उन्नति र देशमा रोजगारी सिर्जनाको लागि घातक छ ।’

उनले निरन्तर अस्थिरता बनाइरहने र त्यसमा रमाइरहने प्रवृतिलाई निष्तेज बनाउनुपर्ने धारणा राखे। अविश्वासको जगमा बनेको वर्तमान सरकार अविश्वासकै कारणले चाडै टुङ्गिने उनले बताए । उनले चाडै विकास र स्थिरताप्रति समर्पित सरकार आउने दाबी गरे ।

‘अस्थिरता र अविश्वासको जगमा अहिलेको सरकार बनेको छ । यसकै कारणले यसको आयु चाडै टुङ्गिनेवाला छ । र चाडै नै हामीले लोकतन्त्रप्रति समर्पित कुराले होइन, कामले पारदर्शिता, विकास र स्थिरताप्रति समर्पित सरकार चाँडै आउने छ भन्ने विश्वास दिलाउन चाहन्छु’ उनले भने ।

महतले समावेशिता र सहभागिताको सुनिश्चित गर्दै प्रत्यक्ष निर्वाचनमा जान सकिने धारणा राखे । उनले मुलुकमा राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचनका लागि बहस चलाउनुपर्ने धारणा राखे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*