आर्थिक मन्दीको प्रभावमा जीवन बीमा क्षेत्र, आधाभन्दा बढी कम्पनीका अभिकर्ताको कमिशन घट्यो, कुनको कति ?

राजन कठायत
३ जेष्ठ २०८१, बिहीबार १५:४७

काठमाडौं । नेपाली बीमा क्षेत्रका मेरुदण्डका रुपमा रहेका अभिकर्ताहरुको प्रमुख आयस्रोत भनेको अभिकर्ता कमिसन हो । आर्थिक मन्दीका कारण अधिकांश कम्पनीका अभिकर्ताहरुले व्यवसाय ल्याउन नसक्दा अभिकर्ता कमिसन घट्न पुगेको हो ।

हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । जस अनुसार अधिकांश जीवन बीमा कम्पनीहरु आफ्ना अभिकर्ताहरुलाई खुशी बनाउन असफल देखिन्छन्  ।

चालु आर्थिक वर्षको नौ महिनामा जीवन बीमा अभिकर्ताहरुको कमिसनमा सामान्य अंकले अर्थात १ दशमलव ५४ प्रतिशतले मात्रै वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा आठ अर्ब ८० करोड ४८ लाख रुपैयाँ रहेको उक्त कमिसन यस अवधिमा आठ अर्ब ९४ करोड २ लाख रुपैयाँमा सीमित भएको छ ।हाल सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुमध्ये आठ वटाको अभिकर्ता कमिसनमा दोहोरो अंकको गिरावट आएको छ । भने, ६ वटा जीवन बीमा कम्पनीहरुले मात्रै आफ्ना अभिकर्ताहरुको कार्यको सम्मान गर्दै कमिसन न्युनतम १ देखि ८८ प्रतिशतसम्म वृद्धि गराएका छन् ।

कमिसन वृद्धि गर्नेुपर्ने मागसहित लामो समयदेखि आन्दोलन गर्दै आएका एलआईसी नेपालका अभिकर्ताहरुको कमिसनलाई कम्पनीले दोहोरो अंकले घटाएको छ । कम्पनीको केन्द्रिय कार्यालयमा गोप्य रुपले आन्दोलन गरेका अभिकर्ताहरुको कमिसनमा कम्पनीले कैची चलाएको प्रकाशित वित्तीय विवरणले देखाएको छ । कम्पनीले आफ्ना अभिकर्ताहरुलाई वितरण गर्दै आएको कमिसनलाई ११ दशमलव ०८ प्रतिशतले घटाएको छ । अघिल्लो आर्थिक वर्षमा एक अर्ब पाँच करोड २६ लाख रुपैयाँ बराबरको कमिसन बुझेका अभिकर्ताले यस अवधिमा जम्मा ९३ करोड ५९ लाख रुपैयाँ कमिसन बुझेका छन् ।

चालु आर्थिक वर्षको नौ महिनामा नेपाल लाइफले आफ्ना अभिकर्ताहरुलाई सबैभन्दा बढी कमिसन वितरण गर्दै मख्ख बनाएको छ । कम्पनीले अभिकर्ताहरुलाई चालु आवको नौ महिनामा दुई अर्ब १९ करोड २४ लाख रुपैयाँ अभिकर्ता कमिसन वापत वितरण गरेको छ ।

त्यस्तै, नेशनल लाइफ इन्स्यारेन्सले आफ्ना अभिकर्ता कमिसनको दायरा वृद्धि गर्दै मख्ख बनाएको छ । कम्पनीले विभिन्न समयमा अभिकर्ता उपयोगि योजना सञ्चालन गर्दै अभिकर्ताहरुको क्षमता अभिवृद्धिमा पनि ध्यान दिएको छ । यस अवधिमा आफ्ना अभिकर्ताहरुलाई वितरण गर्ने कमिसन ६ दशमलव ६८ प्रतिशतले वृद्धि गर्दै एक अर्ब १६ करोड १५ लाख रुपैयाँ पुर्याएको छ ।

हिमालयन लाइफले अभिकर्ताहरुलाई ९९ करोड ८१ लाख अर्थात झण्डै एक अर्ब बराबरको रकम कमिसन वापत वितरण गरेको छ । कम्पनीले बीमा अभिकर्ताहरुको कमिसनलाई ६ दशमलव ३३ प्रतिशतले घटाएर वितरण गरेको छ ।

त्यस्तै, सूर्यज्योति लाइफले आफ्ना अभिकर्ताहरुलाई वितरण गर्ने कमिसनको दायरा दोहोरो अंकले वृद्धि गरेको छ । यस अवधिमा कम्पनीले अभिकर्ताहरुको कमिसन २२ प्रतिशतले वृद्धि गरी ५७ करोड ९८ लाख रुपैयाँ पुर्याएको छ । कम्पनीले अभिकर्ताहरुको कार्यको सही मुल्यांकन गर्दै बीमितहरुलाई समेत समय सापेक्ष रुपले भुक्तानी गर्दै आएको छ ।

एशियन लाइफले अभिकर्ता कमिसनलाई समान्य अंकले घटाएको छ । कम्पनीले उक्त कमिसनको आकार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३ प्रतिशतले घटाँउदै ५० करोड १५ लाख रुपैयाँमा सीमित बनाएको छ ।

सिटिजन लाइफले अभिकर्ताहरुको कार्यको सहि मुल्यांकन गर्दै आइरहेको छ । कम्पनीले अभिकर्ताहरुलाई ४३ करोड ३५ लाख रुपैयाँ कमिसन वितरण गरेको छ । यसका साथै, कम्पनीले अभिकर्ताहरुलाई क्षमता अभिवृद्धि र भ्रमण लगायतका थुप्रै योजना मार्फत हौसला प्रदान गर्दै आईरहेको छ ।

सानिमा रिलायन्स लाइफले अभिकर्ता कमिसनलाई सबैभन्दा बढी अंकले वृद्धि गर्न सफल भएको छ । कम्पनीले उक्त कमिसन ८८ प्रतिशतले वृद्धि गर्दै २२ करोड ९६ रुपैयाँबाट ४३ करोड ३१ लाख रुपैयाँ पुर्याएको छ ।

अभिकर्ता कमिसन वृद्धिदरमा प्रभु महालक्ष्मी लाइफ दोस्रो स्थानमा रहेको छ । कम्पनीले अभिकर्ता कमिसन ५८ प्रतिशतले वृद्धि गर्दै अभिकर्ताहरुलाई मख्ख बनाएको छ । कम्पनीले यस अवधिमा उक्त कमिसन २१ करोड नौ लाख रुपैयाँबाट बढाएर ३३ करोड ३५ लाख रुपैयाँ पुर्याएको छ ।

यस्तै, समीक्षा अवधिमा मेट लाइफले ३६ करोड ०७ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ३२ करोड ७८ लाख रुपैयाँ, आइएमई लाइफले ३१ करोड १७ लाख रुपैयाँ, सन नेपाल लाइफले २२ करोड ९७ लाख रुपैयाँ अभिकर्ता कमिसन वितरण गरेका छन् ।

सरकारी स्वामित्व रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले अभिकर्ता कमिसनलाई सामान्य अंकले वृद्धि गरेको छ । यस अवधिमा कम्पनीले आफ्ना अभिकर्ताहरुलाई १३ करोड ८९ लाख रुपैयाँ अभिकर्ता कमिसन वितरण गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*