बोटलर्स नेपालका दुबै कम्पनीको नाफामा गिरावट, यस्तो समग्र वित्तीय अवस्था

१० जेष्ठ २०८१, बिहीबार १०:३९

काठमाडौं । बोटलर्स नेपालका दुई कम्पनी बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडको मुनाफामा उच्च गिरावट आएको छ । कम्पनीहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार मुनाफा घटेको देखिएको हो ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बोटलर्स नेपाल लिमिटेडले ३ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९१.१० प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही ९ महिनामा सो कम्पनीले ४० करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको सञ्चालन आम्दानी उल्लेख्य घटेसँगै खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ८ अर्ब २१ करोड ८४ लाख रुपैयाँबाट घटेर ७ अर्ब १८ करोड ४३ लाख रुपैयाँमा झरेको छ। त्यस्तै, कम्पनीको कुल नाफा २ अर्ब २८ करोड ७५ लाख रुपैयाँबाट घटेर २ अर्ब ४ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २७५ रुपैयाँबाट घटेर २४ रुपैयाँ सीमित भएको छ। चैत मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ६९१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३ हजार २२९ रुपैयाँ रहेको छ। १९ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५ अर्ब ७० करोड ९८ लाख रुपैयाँ सञ्चित छ।

त्यस्तै, चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बोटलर्स नेपाल (तराई) लिमिटेडले २६ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.५८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही ९ महिनामा सो कम्पनीले ३६ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यद्यपि कम्पनीको तेस्रो त्रैमासको नाफा भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।

कम्पनीको सञ्चालन आम्दानी उल्लेख्य घटेसँगै खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ५ अर्ब ९९ करोड ४० लाख रुपैयाँबाट घटेर ५ अर्ब ८१ करोड ३६ लाख रुपैयाँमा झरेको छ। त्यस्तै, कम्पनीको कुल नाफा १ अर्ब ५८ करोड २६ लाख रुपैयाँ बढेर १ अर्ब ५९ करोड ९१ लाख रुपैयाँ पुगेको छ। कम्पनीको सञ्चालन मुनाफा भने ५८ करोड ८८ लाख रुपैयाँबाट घटेर ४८ करोड ६७ लाख रुपैयाँमा सीमित भएको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३९८ रुपैयाँबाट घटेर २८८ रुपैयाँ सीमित भएको छ। चैत मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ४४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३ हजार ३९७ रुपैयाँ रहेको छ। १२ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ सञ्चित छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*