योयो प्लाइउड कारखानाका मजदुर भन्छन्ः हामीलाई प्रहरी देखाएर ट्रेड युनियनको डर देखाइयो

१० जेष्ठ २०८१, बिहीबार १४:५०

काठमाडौँ । बाँकेको ‘योयो प्लाइउड’ उद्योगमा जबर्जस्ती ट्रेड युनियन गठन गर्न खोज्दा मजदुर विरोधमा उत्रिएका छन् । बुधवार जबर्जस्ती ट्रेड युनियन गठनको माग गर्दै पुगेपछि मजदुरहरू विरोधमा उत्रिएका हुन् ।

उद्योगमा प्रहरीसहित श्रम कार्यालयको कर्मचारी पुगेका थिए । मजदुरहरूले ट्रेड युनियनको विरोध गरेपछि उनीहरू फर्केका थिए । प्रशासनले प्रहरी ल्याएर मजदुरमाथि त्रास फैलाइरहेका छन् । कम्पनीका केही फर्जी मजदुरहरूले जिल्ला प्रशासन कार्यालय बाँकेमा ट्रेड युनियन दर्ता गरेपछि विवाद बढेको हो । उद्योगबाट निस्केर असन्तुष्ट मजदुरहरूले जबर्जस्ती फर्जी नामबाट दर्ता गरेका थिए ।

आठ जनाको समूह मिलेर ट्रेड युनियन गठन गरेपछि दैनिक जस्तो उद्योगमा गइ मजदुरहरूलाई भड्काउने गरेको त्यहीँस्थित मजदुरहरूले बताएका छन् ।चार वर्षदेखि सञ्चालनमा रहेको प्लाइउड कारखानामा स्थानीय र भारतीयसहित तीन सय मजदुर कार्यरत छन् । मजदुरको सहमतिबिना कार्यरत नरहेका फर्जी कर्मचारीको हस्ताक्षर गराएर गठन गरिएको ट्रेड युनियनको खारेजी माग गर्दै मजदुरले विरोध गरिरहेका छन् ।

नेपालगञ्जस्थित श्रम कार्यालयका कर्मचारीहरू प्रहरीसहित उद्योगमा प्रवेश गरेका थिए । मजदुरहरूलाई जबर्जस्ती युनियनमा आउन, धम्की दिँदै मजदुरको संख्या तथा पारिश्रमिकको विवरण माग गरेका थिए । उद्योगमा कार्यरत अधिकांश कर्मचारीले ट्रेड युनियनको आवश्यक नरहेको बताएका छन् । उद्योगमा कार्यरत एक महिला मजदुरले आफूलाई ट्रेड युनियनको नभइ कामको आवश्यकता रहेको बताए ।

उनले भने ‘सञ्चालकले कुनै पनि मजदुरलाई दुःख नदिने र कर्मचारीको खुसी नै मेरो खुसी रहेको बताएका छन् । उद्योग नोक्सानमा गए पनि मजदुरले पाउने सेवा सुविधामा कुनै पनि कमी नल्याउने बताएका छन् ।‘ जबर्जस्ती गरेर कसैलाई दबाब दिन्न नमिल्ने उनको भनाइ छ । कसैलाई रुवाएर आफू हाँस्न नमिल्ने उनले बताए। कम्पनीले कुनै पनि मजदुरलाई पारिश्रमिक नदिने भनेर नभनेको उनले सुनाए ।

सञ्चालकले मजदुरलाई असर नपार्ने आश्वासन दिएको र चित्तबुझ्दो पारिश्रमिक उनले उल्लेख गरे । घाटामा रहेको योयो कारखानाले कुनै पनि मजदुरलाई नरुवाउने उनले दाबी गरिन् । ‘हामीलाई युनियन चाहिएन मात्र रोजगार चाहिएको छ,’ उनले सुनाइन् ।

घाटामा गएको कारखानालाई बन्द गर्न षडयन्त्र गरी ट्रेड युनियन घुसेको स्थानीय मजदुर राधेश्याम औरहीले बताए । ‘हामीलाई युनियन चाहिएको छैन। रोजगारी चाहिएको छ । श्रम कार्यालय अरूको कुरा सुनेर हामीलाई दुःख दिन आइरहेको छ । घाटामा गएको कारखानाले मजदुरलाई रोजगारी दिन्छ भने अरूलाई के को आपत्ति होरु,’ उनले प्रश्न गरे ।

त्यसैगरी बाँके जिल्ला प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीले कम्पनीको तर्फबाट मजदुरको संख्या र पारिश्रमिक विवरण उपलब्ध नगराएको बताए । ‘कम्पनीलाई माग्दा पनि उपलब्ध नगराएकाले प्रशासनका कर्मचारीहरू त्यसै फर्केर आउनु भएको छ,’ उनले भने,’ ६ महिना अगाडिको भर्ना भएको कर्मचारी र पारिश्रमिक कति खुवाइरहेको छ त्यो माग गरेको हो । माग गरेको कुराहरू प्रशासनलाई दिन मानेको छैन ।‘

उनले उद्योगमा मजदुरको दुई वटा समूह रहेको बताए । केही मजदुरहरू हामी उद्योगको नियम मानेर बस्ने र अर्का भने नेपाल सरकारले तोकेको पारिश्रमिक पाउनुपर्छ भन्नेहरू पनि रहेको उनले जानकारी दिए ।

काम गर्ने मजदुरहरू ट्रेड युनियनको आवश्यक नरहेको बताइरहेको माझीले बताए । ट्रेड युनियन माग गर्ने मजदुरहरू कामदेखि बाहिर रहेको उनले बताए । ‘एक थरी मानिसहरू सबै मजदुरहरू ट्रेड युनियनमा आबद्ध रहेको भनिरहेको छन्,’ उनले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*