मुद्रण उद्योग संघ कास्कीद्वारा ११५ जना कामदारको निःशुल्क बीमा

११ जेष्ठ २०८१, शुक्रबार ०८:०७

काठमाडौं । मुद्रण उद्योग संघ कास्कीले मुद्रण व्यवसायमा आवद्ध कामदारहरूको निःशुल्क बीमा गराएको छ । बिहीबार एक कार्यक्रमका बीच मुद्रण उद्योग संघ कास्की र नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममार्फत नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय अध्यक्ष विष्णुप्रसाद तिवारीले निःशुल्क बीमा योजना सुरू गरेको घोषणा गरेका हुन् ।

कार्यक्रमकै बीच लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स गण्डकी र लुम्बीनी प्रदेशका प्रमुख शिव पौड्याल र मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष चिन्तामणि बास्तोलाले बीमा सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रमुख शिव पौड्यालले बीमा सम्झौतामा दुर्घटना उपचार खर्च वार्षिक २० हजार, मृत्यु भएमा एक लाख र दुर्घटना भइ मृत्यु भएमा थप ५० हजार र अपाङ्गता (पूर्ण अशक्त) भएमा ५० हजार रूपैयाँको लाभ लिन सकिने बताए ।

प्रमुख पौड्यालले बीमा गर्नु खर्च नभई लगानी भएको उल्लेख गरे । जीवन सहजीकरण, सुख–दुःखमा साथ दिने भनेको बिमा रहेको बताउँदै उनले मानिसको अत्यावश्यक चिजहरूमध्ये बीमा पनि एक भएको बताए । उनले मानिसको मृत्यु भएपछि वा अपाङ्ग हुँदा वा बिरामी हुँदा लगायत अन्य दुःखमा परिवारलाई हुन सक्ने आर्थिक समस्यालाई केही भए पनि मलम लगाउने काम बीमाले गर्ने बताए ।

मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष चिन्तामणि बास्तोलाले पोखरामा १०० भन्दा बढी छापाखाना व्यवसायीहरू भएको र करिब ८०० जना मजदुरहरू रहेको जानकारी गराउँदै जोखिम न्यूनीकरणका लागि बीमा गरिएको जानकारी गराए । उनले हाल ११५ जनाको बीमा गराइएको र छिट्टै नै सम्पूर्ण मजदुरहरूको निःशुल्क बीमा गराइने बताए ।

अध्यक्ष बास्तोलाले बीमाको लागतमा ५० प्रतिशत व्यावसायिक प्रतिष्ठानले र ५० प्रतिशत रकम मुद्रण उद्योग संघ कास्कीले व्यहोर्ने गरी जीवन बीमा गरिएको बताए । मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष चिन्तामणी बास्तोलाको अध्यक्षतामा आयोजना गरिएको सो कार्यक्रमको संचालन महासचिव पदम श्रेष्ठले गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*