अर्बौं राजस्व नतिर्नेमा वसन्त चौधरी, बतास ब्रदर्शदेखि ज्योति ग्रुपसम्म, शक्तिको आडमा कर कार्यालयको निर्देशन बेवास्ता

११ जेष्ठ २०८१, शुक्रबार १३:५०

काठमाडौँ । शक्तिको आडमा अर्बौ रुपैयाँ आम्दानी गर्ने कम्पनीहरूले राजस्व छली गरेको पाइएको छ । ठुला करदाता कार्यालय हरिहरभवन काठमाडौँले सार्वजनिक गरेको सूचना ठुला–ठुला कम्पनीहरूले अर्बौ राजस्व छली गरेको तथ्य बाहिर ल्याएको हो ।

कार्यालयले कर बक्यौता दाखिला गर्न विभिन्न मितिमा कर सङ्कलन भ्रमण, अनुरोध, पत्राचार, फोन सम्पर्क गरी जानकारी गराइएको, कतिपय करदातालाई फोन सम्पर्क गर्दा हुन नसकेको, फर्मको ठेगानामा पत्राचार गर्दा हुलाक कार्यालयबाट करदाता पत्ता नलगी पत्र बुझाउन नसकी फिर्ता आएको र हालसम्म पनि बक्यौता रकम दाखिला नभएको वा कमै दाखिला भएको उल्लेख गरेको छ । यस कर करोडौँ आयकर र भ्याट नबुझाउने कम्पनीहरूमा चर्चित व्यापारी घरानाहरू नै सङ्लन रहेका छन् ।

समयमै कर नतिर्ने उद्योगी तथा व्यापारी वसन्त चौधरीको नर्भिक इन्टनेशनल हस्पिटल एण्ड मेडिकललगायत २५ कम्पनी रहेका छन् । करदाता कार्यालयको ताकेतालाई कम्पनीहरूले बेवास्ता गर्दै आइरहेका करदाता कार्यालय स्रोतले भन्यो । ‘करदाता कार्यालयको कर बुझाउन पत्र पठाए पनि बुझ्न नमान्ने तथा करदाता कार्यालयमा सम्पर्क नम्बर ठेगाना झुट्टा पेस समेत गरेको पाइएको छ । हामीले सम्पर्क गर्ने खोज्दा कम्पनीमा काम गर्ने सामान्य कर्मचारीदेखि जागिर छोडी सकेका व्यक्तिको नम्बर कम्पनीले राखेको पाइएको हो ।’

पोखरामा मुख्यालय रहेको व्यवसायी सुशील गौचन अध्यक्ष रहेको गण्डकी विकास बैङ्क पनि कर नतिर्ने सूचीमा रहेको छ । । गण्डकी विकास बैङ्क मेगा बैङ्क लिमिटेडले प्राप्ति गरेको थियो । हाल मेगा बैङ्क पनि नेपाल इन्भेष्टमेन्ट बैङ्क लिमिटेडसँग मर्ज भइसकेको छ । यो बैकले समेत अर्बौ बक्यौता रकम नदिएको करदाता कार्यालयले जनाएको छ ।

लामो समयदेखि अर्बौ कर नबुझाउने कम्पनीहरूमा ६ वटा सिमेन्ट उद्योग रहेका छन् । उदयपुर सिमेन्ट उद्योग लिमिटेड, शुभश्री अग्नि सिमेन्ट उद्योग प्रालि, विशाल सिमेन्ट इन्डस्ट्रिज प्रालि, अरनिको आबुखैरेनी सिमेन्ट इन्ड्रस्ट्रिज प्रालि र कसमस सिमेन्ट इन्डस्ट्रिज प्रालिले कर बुझाएका छैनन् ।

नेपाल सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुव थापाको कम्पनी कसमस सिमेन्ट इन्डस्ट्रिजले समेत कर बुझाएको छैन । सिमेन्ट संघ कै अध्यक्ष भएका थापाले पहुँच र पावरलाई हातमा लिँदै कर तिर्ने आनाकानी गरेका हुन् । मासिक अर्बौँको आम्दानी गर्ने शुभश्री अग्नि सिमेन्टले २०७६ देखि कर नबुझाएको छैन । इन्जिनियर तारा प्रसाद पोखरेल सञ्चालक रहेको शुभश्री करदाता कार्यालयको ताकेतालाई बेवास्ता गर्दै आइरहेको हो । साथै, नेपाल सरकार कै मातहतमा रहेको उदयपुर सिमेन्टले समेत राज्यलाई कर दिन मानेको छैन ।

२ करोड रुपैयाँ चेक बाउन्समा विस २०७९ मा जेल परेका जयन्ती निर्माण सेवा प्रालिका खगेन्द्र बुढामगरले समेत कर नतिरेको पाइएको छ । राजनीतिक पहुँच देखाउँदै बुढामगरले कर बुझाउन आनाकानी गर्दै आइरहेका छन् । नेपाल घर जग्गा व्यवसायी सङ्घका उपाध्यक्ष भेषराज लोहोनीको ग्रिन हिल सिटी समेत कर नदिएको करदाता कार्यालयले जनाएको छ ।

पशुपति क्षेत्र विकास कोषको जग्गा हत्याउने पोखराका व्यवसायी आनन्द बतासको बतास ब्रदर्श प्रा लिले समेत कर तिरेको छैन । अर्बौ कमाउने बतास ब्रदर्शले राज्यलाई दिनु पर्ने करमा भने छली गरी रहेको छ । सदिग्ध व्यवसायीहरूले चलाएको पेन इण्डिया इफोप्रोजेक्टले समेत कर दिएको छैन । कम्पनीलाई पत्राचार गर्दा गलत विवरण पेस गरेको पाइएको छ ।

अमात्य ग्रुपले चलाएको माउण्ट एभरेष्ट ब्रुअरी र सुधिर पराजुली अध्यक्ष रहेको सुविसु केवल नेट लिमिटेडले समेत कर नदिने सूचीमा करदाता कार्यालयले राखेको छ । सहकारीमा अबौं ठगी गरेका केदार नाथ शर्मा अध्यक्ष रहेको थसीखेल ललितपुर स्थित शिव शिखर एग्रो प्रालिले समेत कर नदिएको पाइएको हो ।

नेपाल सरकारको मातहतमा रहेको कृषि सामाग्री कम्पनी लिमिटेड र भरत महर्जन संस्थापक अध्यक्ष रहेको सुमेरु बचत तथा ऋृण सहकारी संस्था लिमिटेडले पनि कर दिएको छैन । सुमेरुले २०७७ साल देखि नै कर नदिएको देखिएको हो ।

जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड, सिई कन्स्ट्रक्सन प्रा।लि, तेजेन्द्र खड्का अध्यक्ष रहेको टाइगर्स ब्रुअरी इण्डस्ट्रिज प्रा। लि, बतास ग्रुपकै इष्ट्रन एजेन्सीज प्रा। लि, सुनाम इन्फ्रास्ट्रक्चर प्रा। लि, महालक्ष्मी वायर एण्ड इण्डस्ट्रिज प्रा। लि, अयोकी सिम्बोल इरेक्टर्स नेपाल प्रा। लि। र कन्टिनेन्टल ट्रेनिङ इन्टरप्राइजेजले समेत कर दिएको छैन ।

मानेन करदाता कार्यालयको ताकेता

बक्यौता कर बुझाउन ताकेता गरेपनि अझै कयौँ कम्पनीहरूले नबुझाएको ठुला करदाता कार्यालय हरिहरभवन काठमाडौँका प्रमुख कर प्रशासक जनकराज शर्माले बताए । उनले भने, ‘कर बुझाउन ताकेता गरेपछि केही कम्पनी सम्पर्क आएर कर तिरेका छन् । अझै केही कम्पनी भने सम्पर्क मै आएका छैनन् ।’

अझै पनि सम्पर्कमा नआएका कम्पनीहरूलाई भने कानुनी कारबाही अगाडि बढाइएको शर्माले बताए । ‘कर बुझाउन भने पछि पनि बेवास्ता गर्ने कम्पनीहरूलाई कानुनी रूपमा कारबाही प्रक्रिया अगाडि बढाउँछौ । केही कम्पनीहरूलाई कारबाहीलाई अगाडि बढाइ समेत सकेका छौ’ उनले भने । तर कम्पनीको नाम सार्वजनिक गर्ने भने शर्माले मानेनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*