हावाहुरीले केरा खेतीमा करिब १२ करोडको क्षति, गत बर्षकै २ करोड बीमा दाबी उठाउन नसकेका कृषक चिन्तित

२० जेष्ठ २०८१, आईतवार १७:५२

काठमाडौं । चितवनमा तीन दिन अगाडि आएको हावाहुरीले करिब १२ करोडको केरा खेतीको क्षति भएको छ ।व्यावसायिक केरा किसानहरुले दावी गरे अनुसार यो क्षति अहिलेसम्मकै उच्च हो ।यसभन्दा अगाडि हावाहुरीका कारणले यतिको क्षति नभएको उनीहरुले बताएका छन् ।

चितवनको कालिका रत्नननगर, खैरहनी, राप्ती नगरपालिका लगायतका क्षेत्रमा लगाइएका केराहरुमा हावाहुरीले ठूलो क्षति गरेको केरा उत्पादक संघले जनाएको छ ।पूर्वी चितवनको तुलनामा पश्चिम चितवनमा भने हावाहुरीले कम क्षति गरेको छ ।

जगतपुरमा ५५ बिघामा व्यवसायिक केरा खेती गर्ने यज्ञ सुवेदीले पश्चिम चितवनमा हावाहुरीले खासै क्षति नगरेको तर पूर्वीचितवनमा भने सखाप नै बनाएको बताए ।चितवनका अधिकांश व्यवसायिक केरा किसानहरुले केराको बीमा गरेका छन् । तर, भएको क्षतिको रकम पाउन भने निकै मुस्किल हुने गरेको व्यवसायीहरु बताउँछन् ।

गत वर्षको असारमा आएको हावाहुरीले चितवनका केरा किसानको ४ करोड बराबरको क्षति गरेको थियो । तर, सो रकम मध्ये साढे २ करोड रकम अझै किसानहरुले लिन बाँकी नै छ ।चितवन केरा उत्पादक संघका महासचिव जनकराज पन्तले पूर्वी चितवनमा धेरै जसो किसानहरुको बगान नै सखाप पारेको बताए । आधाभन्दा बढी किसानको एउटा पनि सग्लो बोट नरहने गरी क्षति गरेको पन्तले जानकारी दिए ।

‘आधा किसानको आंशिक क्षति छ, आधा जतिको पूर्ण रुपमा क्षति छ, अब त्यहाँबाट केही पनि आउँदैन,’ महासचिव पन्तले भने, ‘बजारमा लैजान तयार भएका केराहरुलाई बढी क्षति गरेको छ । करिब १२ करोडको केरामा क्षति भएको हामीले अनुमान गरेका छौं। ‘ झण्डैं तीन हजार बिघामा लगाएको केरा खेतीमा क्षति पुगेको महासचिव पन्तले बताए ।

पूर्वी चितवनका ११ बिघामा केरा खेती लगाएकी आशिका मल्ल र १६ बिघामा केरा लगाएका कपिल ढकाल, जयराम ढकाल, शंकर सुवेदीले लगाएको केरा खेती हावाहुरीले पूर्ण रुपमा नष्ट गरेको महासचिव पन्तले बताए ।

चितवनमा ३५ सय बिघामा केरा खेती छ । प्रायः चैतदेखि असारसम्म हावाहुरीका कारणले बर्षेनी चितवनमा केरामा क्षति गर्दै आएको छ ।चितवन केरा उत्पादक संघका पूर्व अध्यक्ष विष्णुहरि पन्तले चितवनका व्यवसायिक केरा किसानहरुलाई उठ्नै नसक्ने गरी यसपटक हावाहुरीले क्षति गराएको दुखेसो पोखे ।

उनले पूर्वी चितवनको हाइवेभन्दा तलको क्षेत्रमा रहेका अधिकांश केरा किसानहरुको खेती नष्ट भएको बताए ।

एक घरी केरा बेच्दा औसत ५ सय देखि ७ सय रुपैयाँसम्म आउछ । क्षतिको तुलनामा बीमा रकम निकै कम भएको किसानहरुको गुनासो छ । सरकारले बीमाको प्रिमियर शुल्क (८० प्रतिशत) समयमा नै भुक्तानी नदिँदा बीमा कम्पनी किसानलाई रकम भुक्तानी नगरेको जनाउँदै आएको हो ।
संघका पूर्वअध्यक्ष पन्तले गतवर्ष क्षति गरेको ४ करोडको बीमाको रकम अहिलेसम्म नपाएको र अहिले भएको क्षतिको रकम ४÷५ वर्षसम्म पनि नपाउने अवस्था रहेको देखिएकोले किसानहरु चिन्तित बनेको बताए ।

One thought on “हावाहुरीले केरा खेतीमा करिब १२ करोडको क्षति, गत बर्षकै २ करोड बीमा दाबी उठाउन नसकेका कृषक चिन्तित

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*