आदिवासी जनजाति विरुद्ध तीन संस्थाको विज्ञप्ति

काठमाडौँ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकार परियोजनाको विरोधमा जारी आन्दोलनलाई लिएर निजी क्षेत्रका तीन संस्थाले विवादास्पद विज्ञप्ति जारी गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, र नेपाल चेम्बर अफ कमर्शले मंगलबार संयुक्त विज्ञप्ति निकाल्दै आन्दोलनका कारण कोशी प्रदेशको जनजीवन अस्तव्यस्त भएको भन्दै असन्तुष्टि जनाएका हुन्।
फुङलिङ–१० काफ्लेपाटीदेखि मन्दिरसम्म २.७ किलोमिटर दूरीमा निर्माण भइरहेको केबलकार परियोजनाविरुद्ध लिम्बू समुदायले पाथीभरा मुक्कुमलुङलाई आफ्नो मुन्धुमीस्थल भन्दै निर्माण कार्य रोक्न माग गरेका छन्। आन्दोलन चर्कँदै गर्दा प्रहरीले गोली प्रहार गरेको घटनाले यो मुद्दा राष्ट्रिय तहमा समेत गम्भीर बनेको छ।
संयुक्त विज्ञप्तिमा पाथीभरा केबलकार परियोजनालाई लिएर बन्द हडतालले शैक्षिक, आर्थिक तथा सामाजिक जनजीवन प्रभावित बनाएको उल्लेख गरिए पनि विज्ञप्तिमा हस्ताक्षर गर्ने अधिकारीहरूको नाम भने खुलाइएको छैन। विज्ञप्ति फर्जी देखिने गरी संस्थाहरूले सूचना प्रकाशित गरेको देखिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको कम्पनी आइएमई ग्रुपले उक्त केबलकार निर्माण गर्दैछ। निजी संस्थाहरूको विज्ञप्तिले ढकालको कम्पनीलाई बचाउन प्रयास गरेको देखिएको छ । ढकालको कम्पनीले निर्माण गर्दा राष्ट्रिय फूल काटिएको विषयले थप विवाद सिर्जना गरेको छ।
यस प्रकरणले निजी क्षेत्रका संगठनहरूलाई जनजाति समुदायसँग टकरावमा ल्याइदिएको छ भने विज्ञप्तिमा पारदर्शिताको अभावले उनीहरूको विश्वसनीयतामा समेत प्रश्न उठाएको छ।