अभिकर्ताको पेशागत सुरक्षाको लागि प्राधिकरण र कम्पनीहरु एकै ठाउँमा उभिनुपर्छः गणेश अधिकारी

१ फाल्गुन २०८१, बिहीबार १८:००

गणेश अधिकारी नेपाली बीमा क्षेत्रका सु–परिचित व्यक्ति हुन् । बीमा अभिकर्ताको हक, हित रक्षाको लागि सक्रिय अधिकारी हाल पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ बीमक समितिका केन्द्रिय अध्यक्ष हुनुहुन्छ ।

बीमितको हकहित रक्षाको साथै बीमा अभिकर्ताको दक्षता र क्षमता अभिवृद्धिका लागि निरन्तर वकालत गर्दै आएका अधिकारीले पूर्वी नेपालको विराटनगरलाई आधारभूमि बनाएर काम गरिरहेका छन् । विगत साँढे दुई दशकदेखि नेपाल लाइफमा आवद्ध भई बीमा सचेतना अभियान फैलाउदै आएका अधिकारीसँग जीवन बीमा क्षेत्रको पछिल्लो समसामयीक अवस्थाको बीमा अभिकर्ता पेशाबारे बीमापोष्टकर्मी राजन कठायतले गरेको कुराकानीको प्रस्तुत अंश :

पछिल्लो समय बीमा अभिकर्ताहरुको व्यवसायिक अवस्था कस्तो छ ?

बीमा अभिकर्ताहरुको पछिल्लो अवस्थामा एकखाले निराशाजनक अवस्था रहेको छ । बीमा कम्पनीहरुलाई नियमन गर्न बीमा प्राधिकरणले ल्याएका विभिन्न नियम, निर्देशिकाहरुले अभिकर्ताहरुहरुलाई दिर्घकालीन रुपमा आफुलाई स्थापित गर्न सक्ने अवस्था सिर्जना गरेको छ । खासमा भन्ने हो, भने यो बीमा अभिकर्ता व्यवसायबाट पलायन हुुनुपर्ने आएका छन् ।

बीमा अभिकर्तालाई नियामकले हेप्ने, पेल्ने, होच्याउने गर्छ, तपाइले कसरी अघि बढ्दै हुनुहुन्छ ?

बीमा अभिकर्ताहरु सुरक्षित तवरले काम गर्ने वातावरण बनाइदिनु बीमा प्राधिकरणको पहिलो कर्तव्य हुनु पर्छ । अहिले पछिल्लो अवस्थामा प्राधिकरणले जुनसुकै नियम तथा करारहरु मनोमानी रुपले परिवर्तन गर्रिरहेको अवस्था छ । अब, अभिकर्ताहरु नियमनकारी निकायकै कारणले काम गर्न नसकिने होकी भनेर चिन्ता व्यक्त गरिरहेका छन् ।

प्राधिकरणले विभिन्न नियमावली तथा नियम, निर्देशिका जारी गर्ने तयारी गरेको अवस्थामा अभिकर्ताहरुसँग छलफल गरेर अगाडी बढ्न समेत हामी सुझाव दिन चाहन्छौ ।

पेशागत हक, हित तथा बीमा अधिकर्ताको सुरक्षाको लागि पेशागत अभिकर्ता संघले कसरी काम गदैछ ?

हामी पेशागत अभिकर्ता संघ नै अभिकर्ताहरुको हक अधिकारको संरक्षणका लागि यो संगठनको निर्माण भएको हो । त्यसो हुनाले हामी अहिले अभिकर्ताहरुले काम गर्ने वातावरण कसरी बन्छ ?, कसरी गोलवन्द बनाउन सकिन्छ भनेर हरेक कोणबाट कामहरु गरिरहका छौं ।

अभिकर्ताहरुको काम कारवाहीलाई अगाडी बढाउनको लागि तथा उनीहरुलाई राम्रो र सुरक्षा प्रदान गर्नको लागि नियमनकारी निकाय बीमा प्राधिकरण तथा कम्पनीसँग विभिन्न चरणमा छलफलसमेत गरिरहेका छौँ । यस सँगै हामीले आजिवन सदस्यता तथा साधारण सदस्यता वितरण कार्यमा व्यापक रुपमा लागेका छौं । र, धेरै साथीहरुलाई आजिवन सदस्यता वितरण गरेका छौं ।

यदि आजिवन सदस्यता लिएका अभिकर्ताहरुलाई दीर्घरोग लाग्यो भने पेशागत अभिकर्ता संघ केन्द्रले ५१ हजार पाँचसय रुपैयाँ र यदि कुनै कारणले मृत्यु भयो भने शाखा समितिबाट उहाँको घर–परिवारलाई ११ हजार पाँचसय रुपैयाँ दिने गरी अहिले हामी आजिवन सदस्यता वितरण गरिरहेका छौं ।

तपाई पेशागत अभिकर्ता संघ नेपाल लाइफ केन्द्रिय अध्यक्ष हुनुहुन्छ, नेपाल लाइफका अभिकर्ताहरुलाई के भन्न चाहानुहुन्छ ?

म देशभरी छरिएर रहेका ५७ हजार अभिकर्ताहरुलाई यो संगठनमा एकीकृत भएर आवद्ध हुन समेत आग्रह गर्दछु । हामीले विभिन्न सन्दर्भमा कम्पनीसँग सहकार्य गरेर अभिकर्ताहरुको क्षमता अभिवृद्धिका लागि पुनर्ताजी तथा मोटिभेशनल तालिमहरु दिन लगाइरहेका छौं ।

काम गरिरहेका अभिकर्ताहरुको क्षमता बढाउनका लागि उहाँहरुलाई सम्मान गर्नुपर्छ भन्दै कम्पनीलाई सुझाव दिएर सक्रिय तथा व्यवसायिक अभिकर्ताहरुलाई सम्मान गर्न गर्नु पर्छ भनिरहेका छौं । कम्पनी पनि सोही अनुसार अगाडी बढिरहेको छ । साथै, सम्पूर्ण अभिकर्ताहरुलाई पेशागत अभिकर्ता संघको सदस्यता लिएर अगाडी बढ्न अनुरोध गर्दछु ।

समग्र रुपमा भन्नुपर्दा आजको दिनमा अभिकर्ताहरुको अवस्था सन्तोषजनक छ त ?

आजको दिनमा अभिकर्ताहरुको अवस्था सन्तोषजनक छैन् । किनभने, हरेक कोणबाट नियमनकारी निकायले अभिकर्तालाई बढी दबाव सिर्जना गरिरहेको र कम्पनीहरुले पनि अभिकर्ताहरुलाई हेर्ने दृष्टिकोण नकरात्मक भइरहेकोले अभिकर्ताहरु सन्तुष्ट हुनुहुन्न । यहि पेशामा आवद्ध भएर आफ्नो रोजीरोटी चलाउन खोजिरहेका तथा व्यवसायिक अभिकर्ता बन्न खोजिरहेका अभिकर्ताहरु समेत नियमनकारी निकायका कारण कम्पनीप्रति सन्तुष्त बन्न सकेका छैनन् ।

बीमा अभिकर्ता पेशाको हक हितका लागि नियमनकारी निकाय बीमा प्राधिकरण र जीवन बीमा कम्पनीहरु एक ठाउँमा उभिनु आवश्यक छ ।

बीमा अभिकर्ताहरुको संख्या दिन प्रति दिन घटिरहेको देखिन्छ, यो बीमा क्षेत्रको लागि चिन्ताको विषय होइन र ?

एकदमै चिन्ताको विषय हो । दिन–दिनै अभिकर्ताहरुको संख्या घटिरहेको छ । पूराना तथा लामो समयदेखि बीमा अभिकर्ताको व्यवसायमा आवद्ध रहेका अभिकर्ताहरु काम गरिरहनु भएको छ । जो अहिले कम्पनीहरुले उत्पादन गरिरहेका नयाँ अभिकर्ताहरु बीमा उद्योगमा काम गरेर आफ्नो भविष्य सुरक्षित नदेखेर पलायन हुने क्रम जारी रहेको छ । नियमनकारी निकाय बीमा प्राधिकरण र कम्पनीहरुले अभिकर्ताहरुलाई दिने सेवा, सुविधाहरु दिएर सुरक्षित तथा उनीहरुलाई काम गर्न सक्ने सहज वातावरण सिर्जना गर्ने नियम ल्याउन आवश्यक छ ।

हामीहरु पनि यस विषयमा निकै चिन्तित रहेका छौं । अभिकर्ताहरुको पलायनले जीवन बीमा क्षेत्रलाई निकै ठूलो घाटा भइरहेको छ । हामी सबैले मिलेर तथा कम्पनीहरुले पनि थप सेवा सुविधा उपलब्ध गराएर अभिकर्ता पलायन हुनबाट रोक्नुपर्दछ ।

नेपाल लाइफले ल्याएको ‘पाठशाला’ को अवधारणा केहो ?

पाठशाला भन्ने बित्तिक्कै हामीले पढ्ने ठाउँ हो भन्ने बुझ्छौ । हामीले बुझेको पनि त्यही हो । अभिकर्ताहरुले बुझेको पनि त्यही हुन् । तर, कम्पनीहरु सही बाटोमा गएको पाइएको छैन । र हामीले पाठशाला पढाउने ठाउँ हो, कम्पनीका प्रोडक्ट पढाउन पाइन्छ । आम नागरिकहरुलाई पाठशाला मार्फत प्रोडक्ट तथा विभिन्न सेवा सुविधाबारे जानकारी दिन हाम्रो कुनै पनि अब्जेक्सन छैन् ।

तर, अभिकर्ता अनलाईनबाट बनाउने कुरामा कुनै शर्तमा पनि हामी त्यो हुन दिँदैनौं । अभिकर्ताहरु खोज्न अभिकर्तालाई नै दिइयो भने व्यवसायिक कामको शैली हो भनेर बुझाउँछ । हरेक सेवा सुविधा तथा विभिन्न जानकारी अभिकर्ताले नै गर्नुपर्छ भन्ने भएकाले कम्पनीहरुले अभिकर्ता खोज्ने होइन्, पाठशालाका माध्यमबाट बनिसकेका अभिकर्ताहरुलाई मोटिभेसन गराउँने, विभिन्न प्रोडक्टको जानकारी गराउँनको लागि त्यो ठिक छ । त्यो सन्दर्भमा पाठशाला ठिक छ । तर, अनलाइन माध्यमबाट जुन अभिकर्ता खोज्ने कोशिस कम्पनीले गरेको छ । त्यो कार्य अगाडी नबढाउनुहोस् र त्यसलाई रोक्नुहोस् र अगाडी नबढाउन समेत माग गरेका छौं ।

नेपाल लाइफ बैशाखको महिनादेखि २५औं वर्षमा प्रवेश गर्दैछ, यो अवसरमा आम बीमित, अभिकर्ता र कर्मचारीले कम्पनीबाट कस्तो अपेक्षा गरेका छन् ?

यो नेपाल लाइफ आउँदो बैशाखको महिनादेखि २५औं जुब्ली एनिभर्सरी मनाइरहेको छ । यो अवसरमा कम्पनीले शेयरधनीहरुलाई २१ प्रतिशत लाभांश वितरण गरेर खुशी बनाएको अवस्था छ । त्यसैगरी नेपाल लाइफले अब नेपाल लाइफमा आवद्ध भएर बीमा गरेका बीमितहरुलाई पनि खुशी बनाउनु पर्दछ ।

हामीले त्यसै सन्र्दभमा नेपाल लाइफले वितरण गरिरहेको बोनसलाई आगामी दिनमा बढाउनुपर्छ भनेर कुरा राखिरहेका छौं । त्यो सँगसँगै कोरोना महामारी र विविध कारण बीमितहरुका ठूलो संख्यामा पोलिसीहरु ल्याप्स भएका छन् । कम्पनीले एकपटकको लागि बीमितहरुलाई पोलिसी नविकरणमा लाग्ने बिलम्व शुल्क शत प्रतिशत छुट दिएर ल्याप्स पोलिसीहरु सक्रिय बनाउने वातावरण बनाउनु पर्छ । साथै नेपाल लाइफमा लामो समयदेखि काम गरिरहेका अभिकर्ताहरुको सम्मान जरुरी छ ।

पछिल्लो समय बीमा कम्पनीहरुले (सीआई) अर्थात घातक रोग सुविधा अन्तर्गत दावी भुक्तानीमा धेरै समस्या आउने गरेको छ ? यसलाई कसरी लिनुभएको छ ?

नेपाली जीवन बीमा कम्पनीहरुको सन्दर्भमा नागरिकहरुको बीमा गराउँदा केही रकम लिएर पोलिसीमा घातक रोग वापतको जोखिम समेत रक्षावरण गर्ने गरी बीमा गराइरहेका छौं । त्यो (सीआई) सुविधा लिनका लागि त्यसका लागि चाहिने आवश्यक मेडिकल रिपोर्टहरु अगाडी नै लिएर बीमा गर्ने गरेको अवस्था छ । तर, पछिल्लो समय कम्पनीहरुले आ–आफ्नो नियम बदलेर प्रतिवद्धता गरेका कुराहरु फेरिरहेको अवस्था छ । नेपाल लाइफ कम्पनीको हकमा भने त्यसखालको समस्या छैन् । नेपाल लाइफको हकमा सीआई लिएका बीमितहरुले उक्त रोग लागेको अवस्थामा जुनसुकै अवस्थामा पनि दावी भुक्तानी दिने गरेको छ ।

सीआई सुविधा सम्बन्धी नियमनकारी निकाय बीमा प्राधिकरणको कमजोर नीतिले समेत यसमा बढी लापरबाही भइरहेको छ । यसमा केही नेपाली जीवन बीमा कम्पनीहरुले दावी भुक्तानी दिनुपर्ने अवस्थामा पोलिसी नै रद्द गर्ने गरेको सुनिन्छ । बदनीयतवस् कम्पनीहरुले बीमितहरुलाई ठग्ने कार्य भइरहेको महशुुस भएको छ । हामीले कुनै पनि कम्पनीमा आवद्ध भएर बीमा व्यवसाय गरिरहेका अभिकर्ताहरुलाई सीआई लिएका बीमितहरुलाई दावी दिन समेत पहल गर्न आग्रह गरिरहेका छौं ।

आम बीमितहरु जीवन बीमा प्रति निराश बन्दै गएका छन्, भन्ने पनि सुनिन्छ, खास के हो ?

अभिकर्ताहरुले बीमितहरुलाई बीमा गराउँदा पोलिसी परिपक्क भइसकेपछि बोनसदरको आधारमा रुपैयाँ पाइन्छ भन्नुको सट्टा पैसा डबल पाइन्छ भन्दै भ्रामक तरिकाले बीमा गराइरहेका छन् ।

अनि, बीमित तथा आम नागरिकहरुले के बुझिदिन जरुरी छ, भने बीमा गरिसकेपछि वोनसको आधारमा पैसा फिर्ता पाइन्छ भनेर बुझ्न आवश्यक छ । नागरिकहरुले पनि जीवन बीमा कम्पनीहरुको वोनसदर थाहा पाएर मात्र बीमा गरिदिन आग्रह गर्दछु । बीमितहरुले पछि दावी पाउँदा पनि सोचेको जति नपाउने अवस्था छ अनि यसले बीमा गर्ने नागरिकहरुलाई आक्रोशित बनाएको अवस्था छ ।

तपाई बीमा अभिकर्ता व्यवसायमा आवद्ध भएको ढाई दशक वितिसकेको छ । यो अवधिमा तपाईको बीमा अभिकर्ताको व्यवसायिक यात्रा कस्तो महशुस गर्नु भएको छ ?

म यो बीमा क्षेत्रमा २०५८ सालमा प्रवेश गरेको थिएँ । यो २४ वर्षको अवधिमा शुरुको अवस्था एकदमै जटिल थियो । मान्छेहरुले बीमा नबुझेको अवस्था तथा पैसाको कमी थियो । कर्मचारीहरुको हकमा खरिदारको तलव २१ सय रुपैयाँ पाइन्थ्यो । ठूला पोलिसी बिक्री गर्न सम्भव थिएन । त्यसकारण साना–साना पोलिसी बिक्री गर्दै यो अवस्थासम्म आएका थियौं ।

निरन्तर रुपमा सघंर्ष गरिरह्यो भने एकदिन सफल अवश्य भइन्छ भन्ने कुरालाई मनन् गरेर अहिलेसम्म्म नेपाल लाइफमा बीमा व्यवसाय गरिरहेको छु । पछिल्लो समय बीमाप्रति नागरिकहरुको सोच सकारात्मक बन्दै गएको छ । मानिसहरुमा बचत गर्ने बानीको विकास भईरहेका छन् । पहिलेभन्दा अहिले बीमा बजारमा बीमा गराउँन जाँदा सहज वातावरण बनेको महशुस भएको छ । सबै मानिसलाई वोनसदर राम्रो भएको र सेवा सुविधा बढी भएको कम्पनीमा बीमा गर्न आग्रह गर्दछु ।

One thought on “अभिकर्ताको पेशागत सुरक्षाको लागि प्राधिकरण र कम्पनीहरु एकै ठाउँमा उभिनुपर्छः गणेश अधिकारी

  1. रमेश खड्का says:

    हजुरको आफ्नो बिमा कम्पनी छोडेर सबै भन्दा राम्रो बिमा कम्पनी कुन हो ???

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*