६ महिनामा जीवन बीमा अभिकर्ताले बुझे ५ अर्ब २७ करोड कमिसन, कुन कम्पनीबाट कति ? (तथ्यांकसहित)

४ फाल्गुन २०८१, आईतवार १५:२४

काठमाडौं । जीवन बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई कमिसन वापत करिव साढे ६ अर्ब रुपैयाँ वितरण गरेका छन् । चालु आर्थिक बर्ष २०८१/०८२ को दोस्रो त्रैमाससम्मको अवधिमा अभिकर्ताहरुले पाउने कमिशन ७.१३ प्रतिशतले बढेर ६ अर्ब २७ करोड ५२ लाख रुपैयाँ पुगेको कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरणले देखाएको छ । कम्पनीहरुले गत आर्थिक वर्षको सोही अवधिमा पाँच अर्ब ८५ करोड ७४ लाख रुपैयाँ अभिकर्ता कमिशन वितरण गरेको थियो ।

समीक्षा अवधिमा अभिकर्ता कमिशन वितरणमा नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडी रहेको छ भने, सन नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता कमिशन सर्वाधिक प्रतिशतले बृद्धि भएको छ । जीवन बीमा कम्पनीका अभिकर्ताहरुले गरेको व्यवसायको आधारमा सीमित प्रतिशतलाई कम्पनीहरुले कमिसन वापत वितरण गर्ने गरेका छन् ।

नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरुलाई एक अर्ब ६३ करोड रुपैयाँ कमिसन वितरण गरेको छ । कम्पनीको अभिकर्ता कमिसन गत आवको तुलनामा ९.८२ प्रतिशतले बृद्धि भएको छ । नेपाल लाइफ इन्स्योरेन्सका अभिकर्ताहरुले गरेको व्यवसाय बृद्धि भएसँगै कमिसन पनि बढेको हो ।

कम्पनीहरुले प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणको आधारमा तयार गरिएको

अभिकर्ता कमिसनका आधारमा दोस्रो नम्बरमा रहेको नेशनल लाइफ इन्स्योरेन्सका अभिकर्ताहरुले ८३ करोड ५५ लाख रुपैयाँ र तेस्रो स्थानमा रहेको हिमालयन लाइफ इन्स्योरेन्सका अभिकर्ताहरुले ६५ करोड ८९ लाख रुपैयाँ कमिसन बुझेका छन्।

साथै, समीक्षा अवधिमा एलआइसी नेपालका अभिकर्ताहरुले ६५ करोठ ६४ लाख रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सका अभिकर्ताले ४४ करोड १७ लाख रुपैयाँ, एशियन लाइफका अभिकर्ताहरुले ३५ करोड २५ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफका अभिकर्ताहरुले ३१ करोड पाँच लाख रुपैयाँ कमिसेन बुझेका छन्।

यस अवधिमा रिलायबल नेपाल लाइफले २४ करोड १३ लाख रुपैयाँ, मेट लाइफले २३ करोड ७६ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २३ करोड २० लाख रुपैयाँ, आइएमई लाइफले २२ करोड दुई लाख रुपैयाँ, सन नेपाल लाइफले १८ करोड ७५ लाख रुपैयाँ, सिटिजन लाइफले १६ करोड ६९ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले नौ करोड ५० लाख रुपैयाँ बराबरको अभिकर्ता कमिसन वापत वितरण गरेको छ ।

अभिकर्ताहरुलाई जीवन बीमा पोलिसी विक्री गरे वापत पहिलो वर्ष प्रिमियमको २५ प्रतिशत, दोस्रो वर्ष १५ प्रतिशत र त्यसपछि ८ वर्षसम्म प्रिमियमको ५ प्रतिशतका दरले कमिसन वितरण गरिन्छ।

बृद्धिदरका आधारमा गत आवको तुलनामा सन नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता कमिसन २५.८५ प्रतिशतले सर्वाधिक बृद्धि भएको छ । साथै, सूर्यज्योति लाइफको १६.८५ प्रतिशत, रिलायबल नेपाल लाइफको १० प्रतिशत र यी बाहेकका अन्य कम्पनीहरुको अभिकर्ता कमिसन १० प्रतिशतभन्दा कम अंकले वितरण गरेको प्रकाशित वित्तीय विवरणले देखाएको छ ।

समीक्षा अवधिमा १४ जीवन बीमा कम्पनीहरुमध्ये १२ वटा कम्पनीको अभिकर्ता कमिसन बृद्धि भएको छ भने एलआइसी नेपाल र मेट लाइफको मात्र उक्त कमिसन घट्न पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*