८० यात्रु सवार डेल्टा एयरलाइन्सको विमान क्यानडाको टोरन्टोमा दुर्घटना

६ फाल्गुन २०८१, मंगलवार १०:४०

काठमाडौँ। क्यानडाको टोरन्टो पिअरसन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार अवतरणका क्रममा डेल्टा एयरलाइन्सको बम्बार्डियर सीआरजे ९०० विमान दुर्घटनाग्रस्त भएको छ। अमेरिकी सहर मिनेसोटाबाट टोरन्टोका लागि उडान भरेको यो विमान धावनमार्गमा उल्टो पल्टिएर अड्किएको अवस्थामा पुगेपछि तत्कालै उद्धारकार्य तीव्र पारिएको थियो। विमानमा सवार ८० जना यात्रुहरूलाई सकुशल उद्धार गरिएको छ भने १८ जना घाइते भएका छन्, जसमा एक बालकसहित तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

अग्नि नियन्त्रकहरूले तत्काल उद्धार सुरु गरेपछि अधिकांश यात्रुहरू सकुशल रहन सफल भएका छन्। दुर्घटनापछि विमानमा आगलागी भएको र धावनमार्गमा उल्टो पल्टिएर अड्किएको दृश्य अनलाइनमा सार्वजनिक भिडिओ फुटेजहरूमा देख्न सकिन्छ।

विमानमा आएको प्राविधिक समस्याका कारण दुर्घटना भएको आशंका गरिए पनि वास्तविक कारण खुल्न सकेको छैन। प्रारम्भिक अनुसन्धानमा अवतरणको क्रममा तीव्र हावाहुरीका कारण विमान असन्तुलित भएको र त्यसैका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ। सिएनएनका उड्डयन विश्लेषक तथा पूर्व राष्ट्रिय यातायात सुरक्षा बोर्डका प्रबन्ध निर्देशक पिटर गोएल्जका अनुसार अवतरणका क्रममा आएको तीव्र हावाको झट्काले विमानको एउटा पखेटा च्यातिएको र आगलागी सुरु भएको थियो।

विश्लेषक पिटर गोएल्जका अनुसार बम्बार्डियर सीआरजे ९०० विमान बलियो अवतरण सामना गर्न सक्ने गरी निर्माण गरिएको हुन्छ, जसले गर्दा दुर्घटनामा परेको विमानबाट सबै यात्रुहरूको सकुशल उद्धार सम्भव भयो। विमानको पुछार उल्टिने अवस्थाका लागि छुट्टै डिजाइन गरिएको हुँदा दुर्घटनापछि पनि यात्रुहरूको जीवन रक्षा हुन सक्यो।

विश्लेषक गोएल्जले विमानका चालक दलको आपतकालीन प्रतिक्रिया प्रशंसनीय रहेको बताउँदै भने, ‘मानिसहरूलाई लाग्न सक्छ कि उनीहरू केवल सेवा दिनका लागि मात्र छन्, तर वास्तवमा उनीहरूको तालिम आपतकालीन अवस्थामा उद्धारको लागि नै केन्द्रित हुन्छ र यो दुर्घटनामा उनीहरूले त्यो जिम्मेवारी उत्कृष्ट रूपमा निभाए।’

क्यानडाकी यातायात मन्त्री अनिता आनन्दले यस गम्भीर घटनाको निगरानी गरिरहेकी छिन् भने क्यानाडाको यातायात सुरक्षा बोर्डले घटनाको अनुसन्धान सुरु गरेको छ। विश्लेषक गोएल्जका अनुसार क्यानाडाको यातायात सुरक्षा बोर्ड अत्यन्तै कुशल भएकोले ३० दिनभित्र प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्ने सम्भावना छ, जसले घटनाको वास्तविक कारण पत्ता लगाउन मद्दत गर्नेछ।

दुर्घटनापछि घाइते भएका १८ जनालाई तत्कालै अस्पताल पुर्‍याइएको थियो भने अन्य यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो। टोरन्टो पिअरसन अन्तर्राष्ट्रिय विमानस्थलका अग्नि नियन्त्रण प्रमुख टड ऐटकेनका अनुसार विमानमा आगलागी भए पनि तात्कालिक उद्धारकार्यका कारण ठूलो क्षति हुन पाएन।

यो दुर्घटना कठ्याङ्ग्रिँदो जाडो र तीव्र हावाहुरीबीच भएकोले पनि मौसमको प्रभाव दुर्घटनाको कारण हुनसक्ने अनुमान गरिएको छ। विमानको विस्तृत अनुसन्धानपछि मात्रै वास्तविक कारण पत्ता लाग्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*