फोनपेको ‘सक्षम नारी’ अभियानः महिलाहरूलाई डिजिटल भुक्तानीमा प्रोत्साहन

काठमाडौं । नेपालकै अग्रणी भुक्तानी नेटवर्क फोनपेले ‘सक्षम नारी’ अभियान सुरु गरेको छ। राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, एनआईसी एशिया बैंक, कुमारी बैंक, इसेवा र एभरेष्ट बैंकसँगको सहकार्यमा सञ्चालन गरिएको यो अभियानले महिलाहरूलाई डिजिटल वित्तीय सेवामा सहभागी गराउने लक्ष्य राखेको छ।
नेपालको आर्थिक वृद्धिमा महिलाहरूको भूमिका महत्त्वपूर्ण भएकाले डिजिटल वित्तीय सेवामा उनीहरूलाई प्रेरित गर्न फोनपेले यो अभियान सुरु गरेको हो। यस अभियानले महिलाहरूलाई डिजिटल भुक्तानी प्रणाली, मोबाइल बैंकिङ प्रयोग र नगदरहित कारोबारका फाइदाबारे जानकारी गराउनेछ। साथै उनीहरूलाई आर्थिक रूपमा अझ सक्षम बनाउन डिजिटल वित्तीय सेवाहरूको सही उपयोगबारे जानकारी दिइने फोनपेले बताएको छ।
महिलाहरूलाई डिजिटल भुक्तानीप्रति आकर्षित गराउन यो अभियान मार्च ३१ सम्म सञ्चालन हुनेछ। सहभागी महिलाहरूले पार्टनर बैंकहरूको मोबाइल बैंकिङ एप प्रयोग गरेर फोनपेका कुनै पनि सेवा कम्तीमा तीन पटक प्रयोग गर्नुपर्नेछ। यसले नगद कारोबारबाट डिजिटल भुक्तानी प्रणालीमा सहज रूपमा जान मद्दत गर्ने विश्वास लिएको छ।
महिला सहभागिता बढाउन फोनपे र पार्टनर बैंकहरूले विशेष पुरस्कार योजना पनि ल्याएका छन्। अभियानमा सहभागी प्रत्येक बैंकका एक–एक जना भाग्यशाली महिला विजेताले नटराज ज्वेलर्सबाट हीराका गहना जित्ने अवसर पाउनेछन्। त्यसैगरी प्रत्येक बैंकबाट ५० जना महिला विजेतालाई एक–एक हजार रुपैयाँ बराबरको शपिंग भौचर प्रदान गरिनेछ।
फोनपेका मार्केटिङ प्रमुख सलिना नकर्मीका अनुसार वित्तीय समावेशन आर्थिक वृद्धिका लागि महत्त्वपूर्ण भए पनि डिजिटल भुक्तानी सेवामा महिलाको सहभागिता कम छ। हालैको बैंकिङ तथ्यांकले देखाएको यो अन्तर घटाउन ‘सक्षम नारी’ अभियान पुनः सुरु गरिएको हो।
फोनपे नेपालको एक अग्रणी भुक्तानी प्रणाली सञ्चालन गर्ने संस्था हो। एफवान सफ्ट समूहको सहायक रहेको फोनपे आईएसओ प्रमाणित कम्पनी हो। यसले बैंक र वालेट ग्राहक तथा व्यवसायको लागि छिटो, सुरक्षित र झन्झटमुक्त डिजिटल नगदविहीन भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।












