माओवादीले चोख्याउन खोजेका गृहमन्त्री लेखक अन्तर्राष्ट्रिय निगरानीमा !

काठमाडौं । भिजिट भिसामा विदेश जाने नेपालीहरुलाई सेटिङमा गैर कानूनी रुपमा विमानस्थलबाट प्रवेश अनुमति दिएर मानव तस्करीमा संलग्न देखिएका गृहमन्त्री रमेश लेखकमाथि छानविन गर्नै नपर्ने गरी माओवादीले संसदबाट चोख्याउन सहयोग गरेको छ । अन्तर्राष्ट्रिय मानव ओसार पसार नियन्त्रणमा सक्रिय विभिन्न एजेन्सीहरुको निगरानीबाट गृहमन्त्री बच्न मुश्किल पर्ने देखिएको छ ।
हाल अख्तियारले छानविन गरिरहेको काठमाडौंस्थित विमानस्थलको भिजिट भिषा काण्डमा गृहमन्त्रीकै संलग्नता रहेको भन्दै माओवादीले संसदमा अवरोध सिर्जना गर्दै आइरहेकोमा एकाएक प्रधानमन्त्री केपीसँग मिलेर गृहमन्त्री लेखकमाथिको छानविनलाई कमजोर पार्न माओवादीले भूमिका खुलेको चर्चा अहिले व्याप्त छ । तर, अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटले नेपालको मानव तस्करीलाई टायर २ वाचलिष्टमा राखेर उक्त काण्डको अन्तर्राष्ट्रिय निगरानीको ढोका खोलिदिएको छ ।
आप्रबासी कामदार सम्बन्धी अन्तर्राष्ट्रिय नियम विपरित नेपालबाट भिजिट भिषामा विदेश गएर मानव बेचबिखन गर्ने कुख्यात मानव तस्करीको ठूलो काण्डको पोल खुलेपछि यसको अनुसन्धान अन्तराष्ट्रिय चासोको विषय बनेको छ । अमेरिका र संयुक्त राष्ट्र संघीय निकायहरुले समेत नेपालको मानव तस्करीलाई नजिकबाट नियाली रहेको देखिन आएको छ ।
कालोसुचीमा रहेका भारतिय नागरिकलाई समेत अध्यागमनका अधिकारीले बिचौलियासँगको सेटिङमा उडाउने गरेको पाएपछि छिमेकी मुलुक भारतले चिन्ता व्यक्त गरेको छ । नेपालको राजनीतिमा प्रत्यक्ष रुपमा चासो व्यक्त गर्ने गरेका भारत र अमेरिकाले समेत अध्यागमनमा भइरहेका अवैध कार्यप्रति चासो व्यक्त गरेका छन् ।
नेपालबाट सरकारी निकायका व्यक्तिहरुको प्रत्यक्ष सहभागिता देखिएको र सरकारले मुख्य आरोपित कसैलाई पनि कारबाही गर्न नसकेको भन्दै अन्तराष्ट्रिय जगतमा देशको छबि बिग्रिदै गएको अवस्था छ । सरकारको संलग्नतामा नै मानव तस्करी भैरहेको र मानव तस्करीमा समेत मुछिएका तथा मुद्दा खेपिरहेका सरकारी कर्मचारीहरुलाई समेत कुनै पनि कारवाही नभएको भन्दै अमेरिकाले समेत नेपाललाई ‘टायर २ वाच लिस्ट’ राखेको छ ।
मानव तस्करीमा समस्या भएपनि सरकारले पर्याप्त काम गरिरहेको देशलाई ‘टायर २’ मा राख्ने गरिएको छ । तर, मानव तस्करीको समस्या व्यापक भएको भन्दै नेपाललाई पछिल्लो वर्ष थप नकारात्मक सूचीमा अर्थात ‘टायर २ वाच लिस्ट’ मा राखेको हो । अमेरिकाले नै नेपाललाई टायर २ को वाच सूचिमा समावेश गरेपछि अब नेपाल अन्य अन्तर्राष्ट्रिय एजेन्सीहरुको समेत वाच लिष्टमा पर्ने र गृहमन्त्री रमेश लेखकलाई समेत थप अप्ठेरो पर्ने देखिन आएको छ ।
अमेरिकाले नेपाली नागरिकलाई प्रदान गर्ने सहुलियत तथा भिसा लगायतका विभिन्न कुराहरुमा कडाई गर्ने भएको छ । ‘टायर २ वाच लिस्ट’मा परेसँगै अमेरिकामा विभिन्न कार्यक्रममा सहभागिको लागि जाने नागरिक, विद्यार्थी, व्यापारी लगायत सम्पूर्णलाई भिसा उपलब्ध गराउने कार्यमा थप कडाई गर्ने भएको छ ।
त्रिभुवन विमानस्थलमा भैरहेको भिजिट भिसा काण्डमा गृहमन्त्री रमेश लेखकको समेत संलग्नता रहेको भन्दै पछि दुई सातादेखि संसद अवरोध रहेको थियो । सोही प्रकरणमा विपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले संसद अवरोध गरीरहेका छन् । तर, नेकपा माओवादी केन्द्रले गत शुक्रबारदेखि सत्तापक्ष सँग विभिन्न मागसहित दुई बुदामा सहमति गरेपछि संसद अवरोध हटाएको छ । माओवादीमाथि संसदमा बिक्री भएको आरोप समेत लाग्दै आएको छ ।