चिकित्सक डा. प्रकाश वाग्ले दशकदेखि बीमा व्यवसायमा जम्दै, ७३ जिल्लाका नागरिकको बीमा गरेर नयाँ रेकर्ड

१२ असार २०८२, बिहीबार १०:४३

मध्य नेपालको चितवन र आसपासका क्षेत्रमा जीवन बीमा र स्वास्थ्य क्षेत्रमा चिरपरिचित नाम हो, डा.प्रकाश वाग्ले । तर, जीवन बीमा क्षेत्रमा वाग्लेले निभाएको भूमिका देशका अन्य बीमा अभिकर्ताहरुले समेत अनुशरण गर्न लायककै देखिन्छ । दिनभरि बिरामीको सेवा गर्नु अनि फुर्सदको समयमा जीवन बीमा गरेर बीमितको जोखिम रक्षावरण गर्नु डा. वाग्लेको दैनिकी बनेको छ । त्यसैले त डा. वाग्लेले देशका ७३ वटा जिल्लाका नागिरकको बीमा गर्न सफल भइसकेका छन् ।

गोरखा नगरपालिका–१२ मा जन्मिएका डा. वाग्ले हाल सूर्यज्योति लाइफ इन्स्योरेन्सको चितवन पर्सा शाखा कार्यालयमा सिनियर एजेन्सी म्यानेजरका रुपमा कार्यरत हुनुहुन्छ । हालसम्मको तथ्याङ्क अनुसार डा. वाग्लेले देशका ७३ जिल्लाका नागरिकको बीमा गराइसकेका छन् । सम्भवतः डा. वाग्ले सबैभन्दा धेरै जिल्लाका नागरिकको बीमा गर्ने नेपालकै पहिलो र एक मात्र बीमा अभिकर्ता हुन् ।

डा.वाग्ले विगत १० वर्षदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्समा बीमा व्यवसाय गरिरहेका छन् । वाग्लेले हालसम्म करिव एक हजार नागरिकहरुको बीमा गरि आफूलाई सफल अभिकर्ताको रुपमा स्थापित गरिसकेका छन् । नेपाली युवा–युवतीलाई बीमा क्षेत्रका विभिन्न प्लेटफर्मको प्रयोग गरि आफूलाई आर्थिक र सामाजिक रुपमा सक्षम बनाउँन उनले सुझाव दिँदै आएका छन् । वाग्ले भारतको उत्कृष्ट मेडिकल कलेजबाट फिजियोथेरापीमा एमडी तह उत्तीर्ण गरेका छन् ।

जीवन बीमा पेशालाई आफ्नो जीवनकै अभिन्न अंग बनाउनुका साथै स्वास्थ्य सेवा अर्थात चिकित्सक समेत रही दैनिक सयौं नागरिकको उपचार गरी महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।

प्रस्तुत छ, उनै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका सिनियर एजेन्सी म्यानेजर डा.प्रकाश वाग्लेसँग बीमापोष्टका लागि राजन कठायतले गरेको कुराकानीको प्रस्तुत अंशः

बीमा क्षेत्रमा आवद्ध हुनुभएको कति समय भयो ?
–म विगत १० वर्षदेखि बीमा अभिकर्ता पेशामा आवद्ध रहेको छु । म २०७२ सालको माघ महिना १३ गतेदेखि यस पेशामा लागेको हुँ । हाल म सूर्यज्योति लाइफ इन्स्योरेन्सका सिनियर एजेन्सी म्यानेजरको रुपमा कार्यरत रहेको छु ।

अभिकर्ता पेशामा कसरी जोडिनु भयो ? यसको भविष्य कस्तो देख्नुभएको छ ?
–त्यतिबेला मेरो एकजना इन्जिनियर साथी हुनुहुन्थ्यो । एकदिन बुटवलबाट आएका ५–६ जनाले चितवनमा बीमा सचेतना कार्यक्रम आयोजना गरेका थिए । साथीले जाउँ भन्नुभयो अनि मैले आखिर के रहेछ त जीवन बीमा ? त्यसको बारेमा बुझौन त भनेर गए । कार्यक्रमबाट एकदमै राम्रो कुरा सिक्न पाएँ, आफूलाई थाहा नभएका धेरै कुराहरु पनि सिक्न पाइयो । उहाँहरुको मोटीभेसनले म एकदमै प्रभावित भए र उहाँहरुको माध्यमबाट तत्कालीन सूर्य लाइफबाट एजेन्सी म्यानेजरका रुपमा कार्यरत भएँ ।

अभिकर्ता पेशाको भविष्य कस्तो देख्नुभएको छ ?
–इन्स्योरेन्स कम्पनीको भविष्य नै राम्रो छ । अब कम्पनीहरुको भविष्य राम्रो हुनु भनेको नै हामी अभिकर्ताहरुको भविष्य राम्रो हुनु हो । अहिलेको अवस्थामा २०–२२ वर्षका युवा–युवती देखि ४०–४५ वर्षसम्मका मानिसहरु विदेशमा गएर दुःख भोगिरहेका छन् । अहिलेको अवस्थामा अभिकर्ता बनेर आफ्ना साथी, ईष्टमित्र, चिनजान या अनजान भएका मानिसहरुको बीमा गर्न सक्यौं भने हामी अभिकर्ताहरुको लागि वैदेशिक रोजागारमा जानुपर्ने कुनै वाध्यता म त देख्दिन् । त्यस कारणले गर्दा आफ्नै देशमा भविष्य बनाउनको लागि हामी अभिकर्ताको लागि एकदमै राम्रो पेशा हो, अभिकर्ता पेशा । भोलिलाई हेर्ने हो भने अभिकर्ताको भविष्य एकदमै उज्वल छ ।

तपाईले बीमा अभिकर्ता पेशाका साथ–साथै डाक्टर भएर स्वास्थ्य सेवा समेत उपलब्ध गराइराख्नु भएको छ, यसको लागि कसरी समय व्यवस्थापन गरिरहनु भएको छ ?
–मैले दैनिक चिकित्सक सेवामा आवद्ध हुन ६ देखि ८ घण्टालाई समय छुट्याएको छु । बीमा व्यवसायको लागि २ देखि ४ घण्टा समय छुट्याएको छु । किनकी एक साधारण मानिसले १२–१३ घण्टा सहजै काम गर्न सक्छन् । त्यस कारण मैले मेडिकल बाहेकको समय विभिन्न सञ्चारमाध्यमबाट तथा प्रत्यक्ष रुपमा भेटघाट गरेर, फोन, म्यासेन्जर मार्फत समय दिरहेको छु ।

विगत एक दशकदेखि यस पेशामा आवद्ध हुनुहुन्छ । बीमाबारे बुझाउँदा आम नागरिकहरुको प्रतिक्रिया कस्तो पाउनु भएको छ र त्यस्तोप्रतिक्रियाहरुलाई आगामी दिनमा कसरी लिनुहुन्छ ?
–१० वर्षदेखि मैलै मेरा बीमित र उहाँहरुले म प्रति देखाएको सद्भाव एकदमै महत्वपूर्ण रहेको छ । किनभने म मेडिकल अफिसर भएका कारणले मैले एकदमै प्रोफेशनल तरिकाले उहाँहरुलाई काउन्सिलिङ्ग गर्दछु ।

दोस्रो कुरा मैले उहाँहरुलाई कहिल्यै पनि गलत सूचना दिन्न । मैले आफ्नो फाइदाको लागि बीमितहरुलाई दुर्घटनामा पार्नेगरी कहिल्यै बीमा गरेको छैन् । त्यस कारण सफल काउन्सलिङ र सफल परामर्शको कारणले गर्दा मैले आजसम्म कुनै नकारात्मक कुरा सुन्नु परेको छैन् ।

कुनै बेला होला, अब पछि गरौंला, बीमा अभिकर्ता भनेको राम्रो पेशा होइन् । बीमा गरेर के फाइदा हुन्छ र भन्दै कतिपय बीमा कम्पनीहरु भाग्ने लुट्ने गरेका भने प्रतिक्रिया पाएको छु । मैले उहाँहरुका त्यस्ता प्रतिक्रियालाई खण्डन गरेर सही मार्गदर्शन तिर उहाँहरुलाई लगेर बीमा गरिदिने गरेको छु । मैले आजसम्म करिव एक हजार जना मानिसको बीमा गरिसकेको छु । यसमा जम्मा २–३ जनाले बीमाको बारे विभिन्न वहाना गरेर पन्छिन खोजेका थिए । मैले उहाँहरुलाई समेत राम्रोसँग सम्झाई–बुझाई गरेर बीमा गरिदिएको छु ।

तपाइले हालसम्म कति जनाको बीमा गरेर दावी भुक्तानी दिनु भएको छ ?
–मैले हालसम्म ९ सय ८० जनाको जीवन बीमा गरेर उहाँहरुको जोखिम रक्षावरण गरेको छु । यसमा दावी भुक्तानी एक जनाको पनि भएको छैन् ।

तपाई त स्वास्थ्य क्षेत्रको व्यक्ति हुनुहुन्छ । त्यसमा पनि अभिकर्ता भएर बीमा पनि बुझिसक्नु भएको छ । यो पछिल्लो समय बीमा क्षेत्रमा सीआईको दावी भुक्तानीमा निकै समस्या आएको देखिन्छ । यसलाई सहज रुपमा भुक्तानी दिन सकिने वातावरण कसरी बनाउन सकिएला ?
–बीमा भनेको बीमक र बीमितबीच भएको एक प्रकारको सम्झौता हो । पोलिसी काट्दा पनि समग्र शाखा प्रमुखहरुको छापसहित हस्ताक्षर गरेको हुन्छ । बीमितलाई पनि मैले पूर्ण रुपको लागि बीमा गरेको छु । आइपर्दा पूर्ण दावी पाउँछु भने आशा हुन्छ । त्यो सही कुरा हो ।

तर, त्यो भनिराख्दा विभिन्न कम्पनीहरुले घातक रोग वापत सुविधा उपलब्ध गराइराखेका छन् । त्यसमा पनि सूर्यज्योति लाइफले सर्वाधिक ३५ वटा प्राण घातक रोगको बीमा गराइरहेको छ । जीवन बीमा कम्पनीहरुले यति धेरै रोगको बीमा गर्दा बीमितको राम्रोसँग स्वास्थ्य चेकअप गर्नुपर्छ । कम्पनीहरुले पनि त्यसमा एकदम कडा रुपमा एकछिनको प्रिमियमलाई भन्दा पनि नीति नियमलाई हेरेर काम गर्नुपर्छ ।

 अरु कम्पनीको त मलाई त्यति थाहा भएन । म सूर्यज्योति लाइफ इन्स्योरेन्समा आवद्ध भएकाले हाम्रो कम्पनीले बीमितलाई एकदम राम्रोसँग स्वास्थ्य चेकजाँच गरेर मात्र बीमा गर्ने गरेको छ । यसमा हाम्रो कम्पनीमा दावी भुक्तानीमा कुनै समस्या छैन् ।

कतिपय अभिकर्ताहरुले आफ्नो क्षणिक लाभको लागि विना स्वास्थ्य चेकजाँच बीमा गरेर पछि दावी माग गर्दै लफडा समेत गर्ने गरेका घटनाहरु छन् । यस्तो चाँही सरासर गलत प्रवृति हो । अभिकर्ताहरुले पनि जिम्मेवारी ईमान्दारीतापूर्वक निभाउन पर्छ ।

बीमितहरुले सूर्यज्योति लाइफका कस्ता बीमा पोलिसीहरु बढी कार्यन्वयनमा ल्याएका छन् ?
–हाम्रो कम्पनीमा कुल १६ वटा बीमा योजनाहरु रहेका छन् । सबै योजनाहरु उत्कृष्ट रहेका छन् । कम्पनीमा रहेका नीतिहरुमध्ये सूर्यज्योति नौलो बाल जीवन बीमा नीति, सूर्यज्योति सावधिक र सूर्यज्योति धन–लाभ लगायतका बीमा पोलिसी सर्वाधिक बिक्री हुने गरेका छन् । मैले यस अवधिमा देशभरिका ७३ जिल्लाबाट बीमा गरेको छु ।

तपाईको बुझाईमा नागरिकले किन बीमा गर्ने ?
–मेरो बुझाई र भोगाई अनुसार सबैलाई मै जस्तो बनिदिन आग्रह गर्दछु । कतिपय मानिस कम खर्चालु हुन्छन्, कोही बढी खर्चालु हुन्छन् । उद्देश्य सबैको सही सदुपयोग गरी बचत गर्ने नै हुन्छ । बचत मात्र बीमा होइन् । सुरक्षा भनेको बीमा हो ।

कुनै पनि दिन जतिबेला पनि कसलाई के हुन्छ, कसैलाई थाहा हुँदैन् । त्यस कारण भोलिको दिनमा गएर कुनै पनि परिस्थितिमा आफू रहिरह्यो भने आफैलाई हुन्छ । आफू रहेन भनेपनि आफ्नो परिवारको आर्थिक सुरक्षाको लागि बीमा आवश्यक हुन्छ ।

त्यस्तै, स्वास्थ्य सुरक्षाको लागि बीमा गर्न एकदमै आवश्यक छ । सबै नागरिकहरुले आफू र आफ्नाको भविष्य उज्ज्वल बनाउनका लागि आफ्नो क्षमता अनुसारको बीमा गर्नुपर्दछ । बचत र सुरक्षाको लागि हामीले बीमा गर्नुपर्दछ ।

सूर्यज्योति लाइफमा बीमा अभिकर्ता भएर काम गर्दा कत्तिको सन्तुष्ठ हुनुहुन्छ ?
–मलाई एकदमै खुशी लागेको छ । किनभने मसँग विभिन्न कम्पनीका अभिकर्ता ठोक्किन आएका छन् । उहाँहरुको कुरा र मेरो भोगाईको कुरा भन्ने हो भने, सूर्यज्योति लाइफ जतिको अभिकर्तालाई साथ, सहयोग र हौसला दिने कम्पनी अरु कमै छन् । हाम्रो विभिन्न अवार्ड कार्यक्रम तथा तालिमहरुमा पनि अभिकर्ताहरुले गर्दा नै कम्पनी चलेको हो भन्दै हाम्रो सीईओ, अध्यक्षज्यूहरुले हौसला दिनुहुन्छ । यसले गर्दा साधारण कार्यक्रममा कम्पनीले दिएको हौसलाले अझ बढी बीमा व्यवसाय भित्र्याउन हिम्मत बढ्ने गरेको छ ।

तपाईं मेडिकल डाक्टर हुनुहुन्छ, तपाईंसँग पनि अभिकर्ता लाइसेन्स छ, शिक्षक, व्यापार– व्यवसायी, हरकोहीसँग हिजोआज लाइसेन्स भेटिन्छ । तर, आम नागरिकले बीमा गराउँदा कसरी सही परामर्शदाता अभिकर्ता चयन गर्ने ?
–कतिपय कुराहरु कस्तो हुन्छ भन्दा आफन्तको माध्यमबाट आफन्तले बीमा गर्छन् । अभिकर्तासँग ज्ञान अनुभव केही हुँदैन् । बीमितले पनि आफ्नै मान्छे हो भन्दै बीमा गरिदिन्छन् ।

तर, सही अभिकर्ता छान्ने चाहीँ कसरी छान्नुहुन्छ भने जस्तो टिक–टकमा भाइरल भएर सही अभिकर्ता बनिदैन् । बाहिर फेसबुक लगायतका सामाजिक सञ्चालमा म यस्तो, उस्तो भन्दैमा सही र इमान्दार अभिकर्ता हुँदैन् ।

मेरो बुझाईमा सही काउन्सिलिङ जसले गर्छ । त्यो नै सही अभिकर्ता हो । आफ्नो फाइदाको लागि भन्दा पनि बीमितको फाइदाको लागि जसले काम गर्दछ । त्यो नै एकदम सफल अभिकर्ता हो । जसले बीमितहरुलाई डबल आउँछ, त्रिबल आउँछ भन्छन, त्यो मुर्ख अभिकर्ता हो । त्यसको सट्टा बोनश दरको आधारमा रकम फिर्ता पाइन्छ भन्दै बीमाका नीतिगत शर्तहरु राम्रोसँग उल्लेख गरी बीमा गर्दछ । त्यो नै उत्कृष्ट अभिकर्ता हो ।

बीमा दावी भुक्तानीमा आनाकानी गर्ने समस्या अझै जिवित रहेको छ । तपाईको बुझाईमा यसको प्रमुख समस्या के होला ?
–बीमा दावी भुक्तानीमा सूर्यज्योति लाइफमा कुनै पनि किसिमको समस्या छैन् । बीमितहरुलाई बीमा दावी उपलब्ध गराउनको लागि अभिकर्ताहरुको पनि महत्वपूर्ण भूमिका रहेको हुन्छ । अभिकर्ताहरु एक कम्पनी छोडेर अर्को बीमा कम्पनीमा गएपनि कम्पनीले हाम्रा बीमितको दावी भुक्तानी रोक्ने भन्ने हुँदैहुँदैन् ।

बीमा अभिकर्ता जता गएपनि आफ्ना बीमितको दावीको लागि कम्पनीका सीईओ तथा कर्मचारीसँग आवश्यक समन्वय गरिदिनुपर्छ । मैले मेरो कम्पनीको सन्दर्भमा भन्ने हो भने सबै व्यवस्थापकीय उत्कृष्ट कर्मचारी र कम्पनीको उत्कृष्ट दावी नीतिको कारण सहजै बीमा दावी भुक्तानी गरिन्छ । हाम्रो सीईओ सरले नै पहिलो प्राथमिकता भनेको दावी भुक्तानी हो भन्दै आइराख्नु भएको छ ।

समग्र रुपमा सम्पूर्ण कम्पनीहरुले बीमितहरुलाई आफ्नैै सदस्यहरु सम्झिएर सहजै बीमा दावी भुक्तानी उपलब्ध गराइदिनुपर्छ ।

बीमा अभिकर्ता पेशालाई थप मर्यादित बनाउन कम्पनी र बीमा प्राधिकरणले के गर्नुपर्छ ?
–हिजोको जस्तो आजको अवस्था छै्रन् । हिजोआज केही न केही सुधार भएको छ । सबैभन्दा पहिले त सरकारी तथा नियमनकारी निकाय बीमा प्राधिकरणले ल्याएको बीमा नियमावली पूर्ण रुपमा कार्यन्वयन गराउनुपर्छ ।

दोस्रो कुरा कम्पनीहरुले आफ्ना अभिकर्ताहरुलाई तालिम दिँदा तथा विभिन्न कार्यक्रममा सही र सत्य कुरा बुझाइदिनु पर्छ । किनकी कम्पनीले डबल, त्रिपल आउने भाष्य निर्माण गरी सिकाउँदा अभिकर्ताले पनि त्यही भनेर सिकाउने हो । त्यस कारण अभिकर्तालाई अनावश्यक भन्दा पनि आवश्यक मात्र सिकाउन आग्रह गर्दछु ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*