जीवन बीमा कम्पनीहरूबाट अभिकर्तालाई प्रवाह गरेको ७० करोड रुपैयाँ कर्जा अझै उठाउन बाँकी, नयाँ कर्जा प्रवाहको आशंका

रिना खत्री
१६ असार २०८२, सोमबार १५:४०

काठमाडौं । हाल सञ्चालमा रहेका जीवन बीमा कम्पनीहरूले ७० करोड १० लाख रुपैयाँ अभिकर्तामा गएको कर्जा उठाउन बाँकी छ । बीमा कम्पनीहरुको तथ्याङ्क अनुसार १४ वटा जीवन बीमा कम्पनीहरुबाट सो रकम कर्जा रकम उठाउन बाँकी भएपनि नयाँ कर्जा समेत प्रवाह गरिएको आशंका गरिएको छ ।

नेपाल बीमा प्राधिकरणले २०७९ साल जेठ १२ गते बीमा कम्पनीहरुलाई निर्देशन दिँदै बीमा अभिकर्तामा गएको कर्जा असुल गर्न निर्देशन दिएको थियो । प्राधिकरणले बीमा अभिकर्ताहरुलाई नयाँ कर्जा प्रवाहमा रोक लगाएको छ ।

२०८० साल असार मसान्तसम्ममा कूल ९० करोड ५७ लाख नौ हजार रुपैयाँ कर्जा असुली गर्न बाँकी रहेको थियो । दुई वर्षसम्म बीमा कम्पनीहरुले बीमा अभिकर्ताबाट जम्मा २० करोड रुपैयाँ मात्रै कर्जा असुली गरेका छन् । यद्यपि बीमा कम्पनीहरुले बीमा अभिकर्ताहरुलाई १५ बर्षसम्मको अवधी तोकेर कर्जा प्रवाह गरेकोले तत्कालै चाहेर पनि उठाउन सक्ने अवस्था छैन ।

स्रोतका अनुसार केही बीमा कम्पनीहरुले नयाँ कर्जा समेत प्रवाह गरेको पाइएको छ । एकाध घटनामा कर्जा प्रवाह गरेको देखिएको स्रोतले जनाएको छ । यद्यपि कूल कर्जा भने घटेको छ ।

कम्पनीहरूले सवारी साधनहरु धितो राखी अभिकर्तालाई कर्जा दिएको हो । कम्पनीहरुले टार्गेट पूरा गरेका बीमा अभिकर्ताहरुलाई यस्तो सुविधा दिने गरेको पाइएको छ । गाउँ गाउँमा बीमा अभिकर्ताको घरदैलोमा पुग्न बीमा अभिकर्ताहरुलाई सजिलोको लागि सवारी साधनको रुपमा मोटरसाइकल, कार खरिद गर्न ऋण प्रवाह हुने गरेको छ ।

तथ्याङ्क अनुसार नेपाल लाइफबाट २० करोड ५ लाख ९६ हजार, हिमालयन लाइफबाट १४ करोड २१ लाख ४१ हजार, नेशनल लाइफबाट १० करोड २८ लाख आठ हजार, सुर्यज्योति लाइफबाट सात करोड ९५ लाख छ हजार, एलआईसी नेपालबाट छ करोड ९३ लाख ८६ हजार, एशियन लाइफ दुई करोड ५६ लाख, प्रभु महालक्ष्मी लाइफ एक करोड ९७ लाख रुपैयाँ बीमा अभिकर्ताबाट कर्जा असुली गर्न बाँकी छ ।

त्यस्तै, रिलायबल नेपाल लाइफबाट १ करोड ७७ लाख, सिटिजन लाइफबाट एक करोड ७१ लाख, आईएमई लाइफबाट एक करोड १७ लाख, सानिमा रिलायन्सबाट एक करोड आठ लाख, सन नेपाल लाइपबाट ३८ लाख सात हजार र मेट लाइफबाट सात हजार रुपैयाँ अभिकर्ता कर्जा असुली गर्न बाँकी छ ।

यसअघि जीवन बीमा गर्ने बीमकले आफ्नो बहालवाला बीमा अभिकर्तालाई प्राधिकरणले समय–समयमा तोकेअनुसार कर्जा दिन सकिने व्यवस्था रहेको थियो। जीवन बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई प्रोत्साहनबापत नगदसहित घर–जग्गा खरिदका लागि कर्जा दिने व्यवस्था थियो।

घर–जग्गा खरिदका लागि कर्जा नपाउने भएपछि अभिकर्ताहरुले बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका पुनरावलोकन गर्न आग्रह समेत गरेका छन् । अभिकर्ता कर्जारसापटी रोकिँदा लाखौँ अभिकर्ताहरु मर्कामा परेका छन् ।

अभिकर्ता कर्जाभन्दा पनि यो अग्रिम कमिसन सापटी हो, यसकारण अभिकर्तालाई थप मोटिभेट गर्न प्राधिकरणले अभिकर्ता सापटी पुनः खुलाइनुपर्ने भन्दै आफना माग राख्दै आईरहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*