पेशागत बीमा अभिकर्ता संघको नेतृत्वसँग प्राधिकरणको छलफल, नीतिगत सुधारमा जोड

काठमाडौं । नवनियुक्त पेशागत बीमा अभिकर्ता संघको केन्द्रीय कमिटीलाई नेपाल बीमा प्राधिकरणले शुभकामना ब्यक्त गरेको छ । आज प्राधिकरणमा आयोजिक एक कार्यक्रममा चैत २७ र २८ गते सम्पन्न संघको आठौँ राष्ट्रिय महाधिवेशनबाट चयन भएको नयाँ नेतृत्वलाई प्राधिकरणले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको हो ।
भेटवार्तामा बीमा क्षेत्रको समग्र विकास, अभिकर्ताको भूमिकालाई थप प्रभावकारी बनाउने विषयदेखि लिएर नीतिगत सुधारका विविध पक्षमा विस्तृत छलफल भएको छ । महाधिवेशनबाट पेशागत बीमा अभिकर्ता संघको अध्यक्षमा ओम बहादुर खत्री निर्वाचित भएका छन् । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा दिपक अर्याल चयन भएका छन् भने उपाध्यक्ष पदका सातै जना उम्मेदवारहरू महेशदत्त भट्ट, दामोदर गौतम, देवी प्रसाद शर्मा जैशी, शंकर बहादुर कुँवर, सूर्य बहादुर भट्टराई, धुवं गिरी र श्याम प्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका हुन् ।
महासचिवमा कल्याण विक्रम पाँडे निर्वाचित भएका छन् भने सचिव (खुल्ला) तर्फ बसन्त विक्रम कुँवर र अम्बिका गौतम निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सचिव (महिला) पदमा सीता दाहाल चयन भएकी छन् । कोषाध्यक्षमा नानी माया सापकोटा र सह–कोषाध्यक्ष (महिला) पदमा दुर्गा कुमारी भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।

भेटवार्ता तथा बधाई कार्यक्रममा सहभागी अभिकर्ता प्रतिनिधिहरूले बीमा प्राधिकरणसँग अझ घनिष्ठ सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए । उनीहरूले अभिकर्ता क्षेत्रका दीर्घकालीन समस्या समाधानका लागि नियामक निकायले थप सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। विशेषगरी अभिकर्ताहरूको पेशागत सुरक्षादेखि लिएर नीतिगत अस्पष्टता हटाउने विषयमा गम्भीर ध्यान दिनुपर्ने सुझाव उनीहरूको थियो ।
छलफलका क्रममा बीमा बजारमा देखिएका विभिन्न व्यवहारिक समस्याहरू पनि उठाइएका थिए । विशेषगरी एक किस्ता मात्रै भुक्तानी गरेका बीमितहरूको अवस्थाबारे स्पष्ट नीति आवश्यक रहेको विषयमा छलफल भएको थियो । त्यस्तै बीमा नियमनमा देखिएको दोहोरो व्यवस्थाले कार्यान्वयन तहमा समस्या उत्पन्न भएको विषय पनि छलफलमा उठेको हो ।

भेटवार्तामा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले अभिकर्ता क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न प्राधिकरण तयार रहेको बताएका छन् । उनले बीमा क्षेत्रको विस्तार र पहुँच वृद्धि गर्न अभिकर्ताहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै प्राधिकरण सधैं सकारात्मक दृष्टिकोणका साथ अघि बढिरहेको स्पष्ट पारेका छन् । उनले बीमा नियमावलीको मस्यौदा तयार भइसकेको र अहिले अर्थ मन्त्रालयमा प्रक्रियामा रहेको जानकारी पनि दिएका छन् ।
कार्यकारी निर्देशक सुवेदीले बीमा क्षेत्रको विकासका लागि अभिकर्ताहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै उनीहरूको मागलाई क्रमशः सम्बोधन गर्न प्राधिकरण प्रतिबद्ध रहेको बताएका छन् । उनले नीति निर्माण र कार्यान्वयनमा देखिएका समस्याहरूलाई क्रमशः समाधान गर्दै जाने र सरोकारवाला सबै पक्षसँग निरन्तर संवाद कायम राखिने बताएका छन् ।

बीमा प्राधिकरणले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै आगामी दिनमा सहकार्य र समन्वयका साथ अघि बढ्नुपर्नेमा जोड दिएको छ ।











