बजारमा राताम्यले पायो निरन्तरः कारोबार खुम्चियो, होटल र निर्जीवन बीमा भारी गिरावट

काठमाडौं । शेयर बजारमा लगातार गिरावटको क्रम जारी रहँदा बिहिबार पनि बजार राताम्य बनेको छ । निरन्तर चौथो दिनसम्म बजार ओरालो लाग्दा समग्र लगानी वातावरण थप कमजोर बन्दै गएको हो । कारोबार रकमसमेत खुम्चिँदै गएको छ । यससँगै लगानीकर्ताको सम्पत्ति मूल्यमा उल्लेख्य गिरावट आउँदा बजारको मनोबल अझै दबाबमा परेको देखिन्छ ।
बजारमा देखिएको निरन्तर गिरावटसँगै लगानीकर्तामा अनिश्चितता र त्रासको अवस्था बढ्दै गएको छ । विशेषगरी छोटो अवधिका लगानीकर्ताले जोखिम न्यूनीकरणका लागि आक्रामक रूपमा सेयर बिक्री गर्न थालेपछि बजारमा थप बिक्री चाप सिर्जना भएको छ । यसले अधिकांश समूहगत सूचकहरूलाई कमजोर बनाएको छ भने कारोबार रकम अपेक्षित रूपमा विस्तार हुन सकेको छैन । बजार सहभागिता घट्दै जाँदा समग्र कारोबार वातावरण पनि सुस्त बनेको विश्लेषण गरिएको छ ।
विश्लेषकहरूका अनुसार हालको गिरावट दीर्घकालीन भन्दा पनि अस्थायी प्रकृतिको हुन सक्ने भए पनि कमजोर मनोविज्ञानले सुधार प्रक्रिया ढिलो बनाइरहेको छ । नियामक निकायको कडाइ हुने आशंका, नीतिगत स्पष्टताको अभाव तथा पछिल्ला दिनमा केही लगानीकर्ता र व्यवसायीसम्बन्धी अनुसन्धान र पक्राउका घटनाले बजार मनोविज्ञानमा नकारात्मक असर पारेको उनीहरूको ठहर छ । यद्यपि ब्याजदरमा आएको गिरावट, वित्तीय प्रणालीको स्थायित्व र अर्थतन्त्रका आधारभूत सूचकमा देखिएको सुधारले भविष्यमा पुँजीबजारलाई मजबुत आधार दिने अपेक्षा गरिएको छ । तत्कालका लागि भने बजारमा विश्वास र स्थिरता कायम गर्न स्पष्ट नीतिगत दिशानिर्देशन आवश्यक देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.०१ अकंले घटेर २७८७.१५ बिन्दुमा कायम भएको छ । आज ३४८ कम्पनीको १ करोड १३ लाख ७५ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९ करोड ५९ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन १० उपसूचकमा राताम्य आएको छ । आज होटल तथा पर्यटन समूहको १.४२ प्रतिशत, निर्जीवन बीमा समूहको १.१९ प्रतिशत, फाइनान्स समूहको १.०६ प्रतिशत र हाइड्रो समूहको १.०५ प्रतिशतले शेयर मूल्य घटेको छ ।

बिहिबार ४६ कम्पनीको शेयर मूल्य बढेको छ भने २१६ कम्पनीको घटेको छ । ७ कम्पनीको शेयर मूल्यमा स्थिर रहेको हो ।











