सालपा विकास बैंक ३१ लाख घाटामा, यस्तो छ समग्र वित्तीय अवस्था

काठमाडौं । सालपा विकास बैंक लिमिटेडले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार गत चैत मसान्तमा ३५ लाख ८४ हजार घाटा बेहोरेकोमा चालू आवको चैत मसान्तमा केही कम गर्दै ३१ लाख ८९ हजार घाटामा झरेको छ।
खराब कर्जा (एनपीएल) घटेको र ब्याज आम्दानी बढेको कारण बैंकको नोक्सानीमा केही कमी आएको हो। समीक्षा अवधिमा बैंकको खराब कर्जा ६.९२ प्रतिशतबाट घटेर ३.३५ प्रतिशमा झरेको छ भने खुद ब्याज आम्दानी ५ करोड २२ लाख रुपैयाँबाट बढेर ५ करोड ५७ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ५ करोड ८८ लाख रुपैयाँबाट बढेर ६ करोड ३३ लाख रुपैयाँ पुगेको छ भने प्रतिशेयर आम्दानी (ईपीएस) १.३६ रुपैयाँ ऋणात्मकबाट ०.८१ रुपैयाँ ऋणात्मक भएको छ। बैंकको प्रतिशेयर नेटवर्थ १०३.७५ रुपैयाँ र बेस रेट ९.९१ प्रतिशत छ।
चुक्ता पूँजी ५२ करोड २३ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १ करोड ९५ लाख रुपैयाँ सञ्चिति रहेको छ भने वितरणयोग्य मुनाफा १ करोड ६५ लाख रुपैयाँ ऋणात्मक रहेको छ। बैंकले ग्राहकमा १ अर्ब १९ करोड ७५ लाख रुपैयाँ कर्जा प्रवाह गरी १ अर्ब ४९ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।











