ज्योति विकास बैंकको नाफा दोब्बर बढ्यो, अन्य सूचक कस्ता?

१३ बैशाख २०८३, आईतवार ०६:४६

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार गत आवको चैत मसान्तको तुलनामा चालू आवको चैत मसान्तमा बैंकको खुद नाफा दोब्बरभन्दा बढीले वृद्धि भएको छ।

गत आवको तेस्रो त्रैमास (चैत मसान्त) सम्म ३० करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकले त्यसको तुलनामा चालू आवको सोही अवधिमा १०५.३० प्रतिशतको भारी वृद्धि सहित ६२ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ५८ करोड ४१ लाख रुपैयाँबाट सामान्य बढेर १ अर्ब ५९ करोड ६५ लाख रुपैयाँ कायम भएको छ भने कुल सञ्चालन आम्दानी १ अर्ब ८५ करोड १२ लाख रुपैयाँबाट बढेर १ अर्ब ९६ करोड ५४ लाख रुपैयाँ नाघेको छ।

समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज उल्लेख्य मात्रामा घटेको तथ्यांकले देखाएको छ। बैंकको यस्तो चार्ज ५२ करोड १६ लाख रुपैयाँबाट ह्वात्तै घटेर ११ करोड ८४ लाख रुपैयाँमा झरेको कारण नाफा बढ्न टेवा पुगेको हो। यसकारण बैंकको सञ्चालन नाफा पनि ४३ करोड ७९ लाख रुपैयाँबाट दोब्बर बढीले वृद्धि भई ८९ करोड ९० लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि ९.३० रुपैयाँबाट बढेर १९.०९ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५१.९० रुपैयाँबाट बढेर १६३.४३ रुपैयाँ पुगेको छ। यता खराब कर्जा (एनपीएल) पनि ४.९८ प्रतिशतबाट बढेर ७.८३ प्रतिशत कायम भएको छ। बैंकको आधार दर (बेस रेट) ५.९५ प्रतिशत रहेको छ।

चुक्ता पूँजी ४ अर्ब ३९ करोड ५७ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ७८ करोड ८३ लाख रुपैयाँ सञ्चिति रहेको छ भने वितरणयोग्य मुनाफा ४३ करोड ४८ लाख रुपैयाँ ऋणात्मक रहेको छ। बैंकले ४७ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ ग्राहकमा कर्जा प्रवाह गरी ६४ अर्ब ४९ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*