नेपालमा बीमाको उत्पत्ति र विकास अनि बीमा दिवस

बीमाको उत्पत्तिको बारेमा खास मितिको यकिन नभएता पनि ऋग्वेदको योगक्षमः शब्दबाट बीमा शब्दको सापटी लिइएको पाइन्छ । बीमाको इतिहासमाा सामुद्रिक बीमालाई पहिलो बीमा मानिन्छ । इ. स. १३०० मा ईटलीमा बीमाको पहिलो करार भएको थियो र १४ औैं शताब्दिदेखी ईटलीबाट बीमाको पहिचान तथा प्रचार गराइएको पाइन्छ ।
सामुद्रिक बीमा पछि अग्नि बीमा (हालको सम्पती बीमा) को शुरुवात भएको थियो । सन १६६६ मा ईंग्ल्याण्डमा भएको भिषण आगलागी पश्चात् अग्नि बीमाले गति लिएको पाईन्छ । सन १६८१ मा ईंग्ल्याण्डमा पहिलो अग्नि बीमा कार्यालय स्थापना भएको थियो ।
त्यसैगरी १६ औं शताब्दि तिर नै जीवन बीमाको शुरुवात गरिएको थियो भने पहिलो जीवन बीमा पोलिसी सन् १६५३ मा विलियम ग्वाबोन्सको नाममा जारी गरिएको थियो । सामुद्रिक, अग्नि पछि विविध बीमाको विकाससँगै अन्य बीमाको विकास भएको पाइन्छ ।
नेपालको सन्दर्भमा राणाकालीन अवस्थामा व्यापार र वाणिज्यमा विकास नभएको अवस्थामा बीमाको आवश्यकता समेत महसूस भएन तथापि वि.सं. १९९२ मा विराटनगर जुट मिल तथा वि.सं. १९९४ मा नेपाल बैंकको स्थापनाले व्यापार तथा वाणिज्यको ढोका खोलेसँगै बीमाको आवश्यकता समेत महसूस हुन थाल्यो फलस्वरूप भारतीय तथा अन्य विदेशी कम्पनीले नेपालमा बीमाको पोलिसी बेच्न थाले ।
नेपाल बैंकको स्थापना पश्चात् यसले औद्योगीकरणको विकास, विभिन्न कच्चा पदार्थको आयात निर्यात तथा नगद कारोबारमा सहयोग गर्न थाल्यो । त्यस समयमा सडक तथा यातायातको असुविधा हुँदा मार्गस्थलमा सामानहरूको जोखिम महसूस भयो र त्यसैको परिणामस्वरूप आफ्नो भगिनी संस्थाको रूपमा वि.सं. २००४ सालमा नेपाल माल चलानी तथा बीमा कम्पनी स्थापना भयो । वि.सं. २०१६ मा यस कम्पनीको नाम नेपाल इन्स्योरेन्स तथा ट्रान्सपोर्ट कम्पनीको नाममा परिवर्तन गरियो फेरि वि.सं. २०४८ सालमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा परिणत भयो ।
नेपाल माल चलानी तथा बीमा कम्पनीको रूपमा हुँदा यस कम्पनीले निर्जीवन बीमा सम्बन्धी सीमित काम मात्र गरेकोले भारतीय बीमा कम्पनीहरू जस्तै– रुबी इन्स्योरेन्स कम्पनी, ओरियण्टल इन्स्योरेन्स कम्पनी, हिन्दुस्तान जनरल इन्स्योरेन्स कम्पनी, स्टर्लिङ इन्स्योरेन्स कम्पनी आदि कम्पनीले नेपालमा जीवन तथा निर्जीवन बीमा सेवा प्रदान गर्न थाले जसले गर्दा स्वदेशी मुद्रा विदेशिन थाल्यो ।
तत्पश्चात वि.सं. २०२४ मा राष्ट्रिय बीमा संस्थानको स्थापना भयो । वि.सं. २०२६ मा नियामक निकाय बीमा समितिको स्थापना भयो त्यसैगरी वि.सं २०४३ सालमा नेशनल लाइफ तथा जनरल इन्स्योरेन्सको स्थापना भयो । बीमा व्यवसायमा निजी क्षेत्रको प्रवेशसँगै थुप्रै जीवन तथा निर्जीवन लगायत दुई पुनर्बीमा कम्पनीहरू स्थापना भए ।
नियामक निकाय सक्रिय हुँदै जाँदा विभिन्न नियम र प्राबधानका कारण केही बीमा कम्पनीहरू मर्ज तथा विलय भए भने दूरदराजका जनतालाई सेवा प्रदान गर्ने उद्देश्यका साथ माइक्रो बीमा कम्पनीहरू स्थापना भए । नेपालमा आधिकारिक रूपमा वि.सं. २००४ असोज ८ गतेदेखि नेपाल इन्स्योरेन्स कम्पनीले सेवा प्रदान गर्यो त्योभन्दा अघि र पछि पनि भारतीय तथा अन्य विदेशी कम्पनीले बीमा सेवा प्रदान गरे। वि.सं. २०२४ पौष १ गतेदेखि सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले बीमा सेवा प्रदान गर्यो ।
तसर्थ बीमाको इतिहासमा नेपाल बैंकको भगिनी संस्थाको रूपमा स्थापित नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी तथा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको स्थापना दिवस वा देशमै पहिलो पटक जारी भएको बीमालेखको मितिलाई बीमा दिवसको रूपमा मनाए कसो होला ?
लेखक नेपाल इन्स्यारेन्स कम्पनीका पूर्वकर्मचारी हुन्।












